coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सहकारी रजिष्ट्रार कार्यालय इटहरीमै राख्न दबाब

इटहरीमा रहेको सहकारी रजिष्ट्रार कार्यालय। तस्बिर: नागरिक

प्रदेश सहकारी कार्यालय इनरुवामा सहकारी रजिष्ट्रार कार्यालय समायोजन गर्ने १ नं. प्रदेश सरकारले तयारी गरेपछि सहकारी संस्थाहरू असन्तुष्ट बनेका छन्। सहकारी संस्थाहरुले पूर्वकै केन्द्रमा पर्ने इटहरीमै रजिष्ट्रार कार्यालय हुनुपर्ने दबाब दिएका छन्।  

इनरुवा सार्दा लामो दूरीबाट आउने सेवाग्राहीलाई समस्या हुने भन्दै सहकारी संस्थाहरूले कार्यालय समायोजन नगर्न माग गरेका हुन्। माघ २३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश मन्त्रालय अन्तर्गतका निकायहरू, संगठन संरचना एवम् दरबन्दी समेटिएको कार्यालयहरूलाई समायोजन गर्नुपर्ने निर्णय गरिएपछि दुवै कार्यालय समायोजन हुने अवस्थामा छ। तर, भौगोलिक सहजताको लागि इटहरीमा रहेको सहकारी रजिष्ट्रार कार्यालय नसार्न माग गरिएको छ।  

विराटनगरबाट २२ किलोमिटर उत्तर र धरानबाट १८ किलोमिटर दक्षिण महेन्द्र राजमार्गमा इटहरी पर्छ। यस्तै, प्रदेश नं. १ का १४ वटै जिल्लाका लागि पायक पर्ने ठाउँ इटहरी हो। हाल रजिष्ट्रारको कार्यालय रहेको इटहरी सबै जिल्लाको पायक पर्ने ठाँउमा रहेको र इनरुवा सार्दा धेरै समस्या हुने सहकारी संस्थाहरूको भनाई छ। यातायातको असुविधा र समय बचतको लागि इटहरीमा रहेको कार्यालय नसार्न सहकारीकर्मी बताउँछन्।  

सहकारी रजिष्ट्रार कार्यालय हाल इटहरी ६ मा रहेको जुट अनुसन्धान केन्द्रको हातामा छ। इटहरी आफैमा १ नं. प्रदेशको केन्द्रबिन्दु शहर भएकाले पहाडी जिल्लाबाट आउने सेवाग्राहीलाई एक दिनमै काम सकेर फर्किन सहज हुने अवस्था थियो।  

प्रदेश सरकारको आदेश निर्णय अनुसार रजिष्ट्रार कार्यालयले इनरुवामा रहेको प्रदेश सहकारी कार्यलयसँग समायोजनको प्रक्रिया सुरु गरेको छ। सहकारी रजिष्ट्रार कार्यालय इटहरीका प्रमुख हरिबहादुर खत्री प्रदेश सरकारले गरेको आदेशलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए।  

सहकारी रजिष्ट्रार कार्यालय सार्ने र समायोजन गर्ने विषयमा राजनीतिक स्वार्थ समेत रहेको बताइएको छ। प्रदेशको राजधानी विराटनगर भएपनि केही महत्वपूर्ण सरकारी कार्यालय इटहरीमा राख्ने मन्त्रिपरिषद्को निर्णय भएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७८ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App