४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ। देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग/प्रतिष्ठानलाई मागअनुसार बिजुली दिन लागेको जनाएको छ।

सोही क्रममा बाँकेको नेपालगन्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई १ महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ। प्राधिकरणले अहिले सो उद्योगलाई ८ मेगावाट बिजुली दिइरहेको छ। उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट माग गरेको छ। प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्‍याउन आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी १ महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो।

उद्योगसम्म बिजुली पुर्‍याउन कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन गरी नेपालगन्ज र कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने पूर्वाधारका विषयमा छलफल गरेको छ।

टोलीले नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App