२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पातारासीमा चन्दननाथ सहकारीको स्वास्थ्य सेवा केन्द्र

जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पातारासी गाउँपालिकामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ। सहकारीले स्वास्थ्य सेवाकेन्द्र स्थापना गरेपछि स्थानीयले सहजै रुपमा स्वास्थ्य सेवा लिने गरेका हुन्।

टाउको दुख्ने र दमको रोगी पातारासी ५ की ८६ वर्षकी चाँदनी खड्का गाउँमै स्वास्थ्य सेवा केन्द्र स्थापना भएपनि सामान्य औषधिको बजार सदरमुकाम खलंगा आउनु पर्ने बाध्यता हटेको बताउँछिन्। एक वर्ष अघिसम्म औषधि खरिद गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुग्नु पर्ने अवस्था थियो। मेडिकलमा महंगो औषधि किनेर खानु पर्ने थियो।

चाँदनीले भनिन्,‘अहिले गाउँकै सेवा केन्द्रमा औषधि पाउँछ। यो जत्तिको खुुसीको कुरा के हुन सक्छ र?’ सदरमुकाम खलंगामा पुगेर औषधि किन्नु भन्दा आउजाउ गर्ने गाडी भाडाको खर्च बढि हुन्थ्यो। तर अहिले त्यो समस्या टरेको खड्का बताउँछिन्। जुनसुकै समयमा बिरामी भएपछि नजिकैको सेवा केन्द्रमा गएर चेकजाँच गर्न सहज भएको छ। औषधि पनि पाइन्छ।

एक वर्षदेखि सहकारीले पातारासी ५ लासी बजारमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको थियो। गाउँपालिका भित्रका सात वटै वडामा बिरामी स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य सेवा लिन्छन्। सरकारी स्वास्थ्य संस्था भन्दा थप औषधि यहाँ पाइन्छ। विगतमा प्राथमिक उपचार गर्न खलंगा आउनु परिरहेको हुन्थ्यो। उपचार गर्नकै लागि एक दिन बित्थ्यो। समयको बर्वादी पनि हुन्थ्यो। 

बिरामीलाई ल्याउन लैजान पनि निकै झंझटिलो थियो। अहिले निकै सहज भएको छ। स्वास्थ्य सेवा केन्द्रमा अधिकांस रोगको उपचार हुने गरेको छ। स्वास्थ्य सेवा केन्द्रबाट अहिले सामान्य खालका टाउ दुख्ने, ग्याष्ट्रिक, पेट दुख्ने, घाउचोटको ड्रेसिङ गर्ने, महिलाको तल्लो पेट दुख्ने र प्रेसर नाप्ने लगायतका  आधारभुत स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

स्वास्थ्य केन्द्रका बेलमाया बोहोरा दैनिक १० देखि १२ जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताउँछिन्। पहिले स्वास्थ्य संस्थामा औषधि अभाव भइरहन्थ्यो। स्वास्थ्य संस्थामा औषधि नहुँदा मेडिकलको महंगो औषधि सेवन गर्न वाध्य थिए। सहकारीका व्यवस्थापनक क्रृषिराम पाण्डेले भने,‘अहिले सरकारी स्वास्थ्य सेवा केन्द्र भन्दा बढि औषधि पाइन्छ। सेवा पनि गुणस्तरको छ। सेवा केन्द्र प्रति स्थानीयको आकर्षण बढ्दो छ।’

दुरदराजमा स्वास्थ्य सेवा दिने, घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने र जनतालाई औषधिमा चर्को मुल्य तिर्नबाट बचाउने हेतुले स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको व्यवस्थापनक पाण्डे बताउँछन्। सहकारीको ऐन, नियम अनुसार नै स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो। पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा गाउँपालिकाबासीलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सजिलो भएको बताए।

स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी सहज रूपमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले पनि समन्वय गरेको उनले बताए। सहकारीले स्वास्थ्य सेवा निकै प्रभावकारी तरिकाले दिएको छ। उनले भने,‘स्वास्थ्य केन्द्रबाट दिइने सेवा सुविधा निकै चुस्त दुरुस्त छ। घरदैलो सेवा समेत दिने गरेको छ। यो राम्रो पक्ष हो।’

२०३१ सालमा स्थापना भएको चन्दननाथ सहकारी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउने पहिले सहकारी हो । स्थानीय स्तरमै सामान्य रोग परीक्षण गरी निराकरण गर्न सकिएको चन्दननाथ सहकारीले जानकारी दिएको छ। सहकारीका पदाधिकारीको बंगलादेश भ्रमणपछि जुम्लामा पनि स्वास्थ्यका क्षेत्रमा काम गर्न थालेको हो।

व्यवस्थापक पाण्डेले स्वास्थ्य सेवा केन्द्रलाई आगामी दिनमा स्तरउन्नती गर्दै अस्पतालका रुपमा अघि बढाउने लक्ष्य रहेको बताए। उनले भने,‘दुरदराजका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको थालनी भइसकेको छ। अब अस्पताल निर्माणका लागि पनि पहल हुनेछ।’ 

प्रकाशित: २९ फाल्गुन २०७८ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App