२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन

‘वेष्टर्न ट्राभल मार्ट’ उद्घाटन गर्दै राउटे मुखिया सुर्यनारायण शाही। तस्बिरः अर्जुन/नागरिक

पश्चिम नेपालको पर्यटकीय प्रवेशद्धारका रुपमा रहेको नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालनमा आएको छ। नेपालगन्जको कारकाँदोमा बिहीबारदेखि सञ्चालनमा आएको उक्त मार्टको कार्यक्रमका प्रमुख अतिथि एवम् राउटे मुखिया सुर्यनारायण शाहीले उद्घाटन गरे।

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स-नाट्टाबाँकेको आयोजना तथा पर्यटन प्रवर्द्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह‐आयोजनामा मार्ट सञ्चालनमा आएको हो।

उद्घाटन शत्रलाई सम्बोधन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको बताए। सबैभन्दा नजिक रहेको छिमेकी देश भारतका पर्यटकलाई नेपालमा घुम्नका लागि सहज स्थान भएको उनले सुनाए। ‘सबैभन्दा नजिक रहेका भारतीय पर्यटक नेपालमा आएर सहज रुपमा घुम्न सक्नु हुन्छ, उहाँहरु मात्रै आएपनि नेपालका लागि पर्याप्त हुन्छ,’ उनले भने।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले नेपालको पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको उचित प्रचार प्रसार हुन नसकेको बताए। यस्ता मार्टले पर्यटकीय स्थलको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास गरे। सो क्रममा होटल एशोसियशन नेपाल(हान)का उपाध्यक्ष विनायक शाह, भारतीय पर्यटन ब्यवसायी अनुज सिंह, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा लगायतले नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि दुबै देशका पर्यटन ब्यवसायीबीच सहकार्य हुनुपर्ने बताए।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् राउटे मुखिया शाहीले आफ्नो गुनासो पोखेका थिए। राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महराको नाम लिँदै उनले राउटेका लागि सहयोग नभएको गुनासो गरे।

प्रदेश स्तरीय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजना गरिएको बताइएको छ।

वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलले मार्टमा पर्यटकीय गतिविधि सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथिलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराउने पनि कार्यक्रम रहेको बताए। उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम छ।

मार्टमा भारतबाट करिव ५० जना पर्यटन ब्यवसायी सहभागी हुन आएका छन्। उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी भएको बताइएको छ। ‘मार्ट जे जस्तो भएपनि हामीले सुरुवात चाही गरेका छौं, अब यसलाई आगामी दिनमा निरन्तरता दिनेछौं र कमी कमजोरीलाई सुधार गरेर लैजानेछौं,’ सिग्देलले भने। वेष्टर्न ट्राभल मार्टमा आउने अतिथिका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको जनाएका छन्।

प्रकाशित: २६ फाल्गुन २०७८ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App