२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ। गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो।

गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो। गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो। विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो।

पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए।

पहिराेबाट विस्थापित भएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा र खड्गबहादुर राईको परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले चेक हस्तान्तरण गरिएको हो।

पहिरो पीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताए। अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरु निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तररुपमा पहल भइरहेको छ।

गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र सङ्घीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए। प्रदेशबाट यसअघि रु १० लाख विनियोजन भएर पहिराको फेदमा बाँध बाध्ने काम अगाडि बढेको उनले बताए। रासस

प्रकाशित: २६ फाल्गुन २०७८ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App