१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

किरा संरक्षण गर्न जीन बैंक

बाँकेको गाभर भ्यालीमा नेपालमै पहिलोपटक सामुदायिक जीन बैंक स्थापना गरिएको छ। मौरी प्रजातिका जीव संरक्षणका लागि गाभर भ्याली सामुदायिक जीन बैंकको स्थापना गरिएको हो।  

जीन बैंकको मंगलबार राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डा. बालकृष्ण जोशीले उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै वरिष्ठ वैज्ञानिकसमेत रहेका उनले नेपालमा पहिलोपटक नै सामुदायिक जीन बैंक स्थापना भएको बताए। ‘कृषिका केही प्रजाति संरक्षणका लागि सामुदायिक जीन बैंक स्थापना भएका छन्,’ उनले भने, ‘मौरी (किरा) प्रजाति संरक्षणका लागि पहिलोपटक समुदायस्तरबाट नै जीन बैंक स्थापना गरिएको हो। यो कार्य अन्य स्थानका लागि प्रेरणा पनि बन्न सक्छ।’  

विभिन्न प्रजातिका किराको बासस्थान लोप हुन थालिसकेको बताउँदै उनले अब स्थानीयस्तरबाट नै बासस्थानको व्यवस्थापन गरिदिनुपर्ने बताए। ‘जनावर संरक्षणका लागि विभिन्न निकुञ्ज छन्। किरा संरक्षणका लागि अहिलेसम्म केही छैनन्,’ डा.जोशीले भने, ‘तपाईं हाम्रै कारणले किराहरु लोप हुन थालेका हुन्। संरक्षणसमेत अब तपाईं हामीले नै गर्नुपर्छ।’ गाभर भ्याली होमस्टे एसोसिएसनका अध्यक्ष कृष्ण चौधरी लोप भइसकेका मौरीका प्रजातिलाई संरक्षण गरिने बताउँछन्। ‘हामीले मौरी भन्नेबित्तिकै मह उत्पादन गर्ने प्रजातिलाई मात्रै चिन्छौं। ती मात्रै होइनन्, मौरीका अन्य धेरै प्रजाति छन्,’ उनले भने, ‘तीनै लोप भइसकेका मौरीका सानासाना प्रजातिको जीन बचाउने हाम्रो लक्ष्य हो।’  

लोप भइसकेका मौरी संरक्षणका लागि उपयुक्त बासस्थान बनाइएको अध्यक्ष चौधरीले जानकारी दिए। सबै प्रजातिका मौरीलाई अनुकूल हुनेगरि फरकफरक स्थानमा बासस्थान बनाइएको छ। ‘हामीले बनाएका विभिन्न बासस्थानमा आएर जतिसुकैबेला पनि मौरी बस्न सक्छन्,’ उनले भने, ‘विभिन्न फरकफरक नाम दिएर बासस्थान बनाइदिएका छौं।’ गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकले यसबारे बुझ्न समेत सक्नेछन्।  

यही अभियानअन्तर्गत नै दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सम्पन्न भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए। ‘मौलिक वस्तु तथा प्रविधि नै हाम्रो जीवन र आर्थिक सम्वृद्धिका आधार भन्ने नाराका साथ दुई दिने तालिम सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘गाभरबाट सुरु गरिएको यो अभियानलाई देशका अन्य जिल्लामा पु¥याउने हाम्रो लक्ष्य छ।’ यसले समुदायको सहभागितामा लोप हुन लागेका जीवहरुको संरक्षण गर्नसमेत सहज हुने उनले दाबी गरे। 

जीन बैंक उद्घाटन कार्यक्रममा बोल्दै रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकालले सामुदायिक जीन बैंकमार्फत किराहरुको मात्र संरक्षण नभइ कृषि जैविक विविधताको समेत संरक्षण हुने विश्वास लिए। ‘मौरीलगायतका किरा प्रजातिको संरक्षण हुँदा कृषि उत्पादनमा समेत वृद्धि हुन्छ,’ उनले भने, ‘कृषि बाली उत्पादनमा वृद्धि हुँदा किसानको आयआर्जनमा सुधार हुने र पर्यापर्यटनको थप आकर्षणको केन्द्र बन्छ।’  

सो अवसरमा बोल्ने सहभागीहरुले पारिस्थिकीय प्रणाली (इको सिस्टम), जैविक विविधता संरक्षणमा टेवा पु¥याउने कृषि र पर्यावरणमा आधारित पर्यटन प्रबद्र्धन गर्नुका साथै स्थानीय समुदायको जीवीकोपार्जन सुधार ल्याउने बताएका थिए।

प्रकाशित: २५ फाल्गुन २०७८ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App