१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थलः स्वागत र बिदाई गर्न ‘एप्रोन’ सम्मै!

पोखरा विमानस्थलमा बिदाईका लागि एप्रोनसम्मै पुगेर फोटो खिचाउँदै। फाइल तस्बिरः सन्तोष/नागरिक

पोखरा–धनगढी रुटमा गत बुधबारदेखि सिधा हवाई सेवा सुरु हुँदै थियो। पहिलो उडानमा पर्यटन व्यवसायी सहितका यात्रु पोखराबाट धनगढी जाँदै थिए। सामान्य यात्रु नियमित कक्ष हुँदै जहाज चढ्न पुगे। तर, पर्यटन व्यवसायी भने विमानस्थलको विशिष्ट (भीआईपी) कक्ष हुँदै जान खोज्दै थिए। किनकी पर्यटन व्यवसायीलाई प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बिदाई गर्दै थिए।  

मन्त्रीबाट बिदाई थापेर धनगढी जान चाहेका पर्यटन व्यवसायी विशिष्ट कक्ष हुँदै जाने तयारीसाथ विमानस्थलका सुरक्षाकर्मीसँग अनुमति लिए। तर, विमानस्थलका सुरक्षाकर्मीले जो कोही व्यक्ति भीआइएपी कक्षबाट जान नपाउने भन्दै रोक्न खोजे। भीआईपी कक्ष जो कोहीका लागि आउजाउ गर्ने बाटो नभएको भन्दै एकजना सुरक्षाकर्मीले जवाफ पर्काए, ‘भीआईपी कक्ष कुनै पार्टी प्यालेस होईन, जो कोही आउजाउ गर्न पाउने।’  

ती सुरक्षाकर्मीको जवाफ सुनेपछि पनि पर्यटन व्यवसायी भीआईपी कक्ष हुँदै जान पाउनुपर्ने तर्क गरे। राजनीतिक दलले सयौं कार्यकर्तालाई भीआईपी कक्षमा लैजान पाउने, तर आफुहरुले नपाउने भन्दै व्यवसायीले तर्क गरे। त्यही बीचमा बिदाइ गर्न आएका मन्त्री भीआईपी कक्षमा पुगे। सबैतिरको दवावले सुरक्षाकर्मीले व्यवसायीलाई भीआईपी कक्ष हुँदै जान दिए।  

विशिष्ट कक्ष हुँदै भित्रिएका व्यवसायीलाई मन्त्रीले एप्रोन (जहाज पार्किङ गर्ने र यात्रु चढ्ने ठाउँ) सम्मै पुगेर जहाजको नजिकै पुगेर बिदाई गरे। बिदाईको क्रममा तस्बिर खिच्नको लागि आलोपालो गरियो। तस्बिर खिच्ने भीडले गर्दा जहाज चढ्न हिडेका अरु यात्रुको समेत बाटो रोकिएको थियो। सुरक्षाकर्मीले अरु यात्रुको बाटो रोकिएको भन्दै बिदाई थाप्दै र गर्दै गरेकालाई हटिदिन अनुरोध गरिरहे। तर, त्यहाँ सुनुवाई कमै भयो।  

पोखरा विमानस्थलमा हुने स्वागत र बिदाईको एउटा उदाहरण मात्र हो। यहाँ राजनीतिक दलदेखि व्यवसायिक समुहले विमानस्थलको एप्रोनमै पुगेर स्वागत र बिदाई गर्ने तथा तस्बिर खिच्ने गर्छन। यसले गर्दा विमानस्थलमा बेलाबेला असहज हुने गरेको विमानस्थलका कर्मचारी बताउँछन्। बिदाई र स्वागत गर्न जहाजकै छेउमा पुग्ने, लामो समय लिएर सामुहिक तस्बिर खिच्ने, खादा लगाउने लगायतका गतिविधि गर्दा विमानस्थलको सुरक्षामा चूनौती थपिन सक्ने विमानस्थलका कर्मचारीको गुनासो छ।

विमानस्थलका एकजना कर्मचारीका अनुसार बिदाई र स्वागतकै लागि विशिष्टकक्ष हुँदै एप्रोनसम्मै पुग्नुपर्छ भन्ने छैन। तर, यहाँका औकात र दम्भ देखाएरै माला लगाउन र फोटो खिच्नकै लागि एप्रोनसम्म पुग्ने गरिन्छ। ‘विशिष्ट कक्षमा बसेर केही विशेष कुराकानी, भेटघाट, छलफल र पत्रकार भेटघाट गर्नु सामान्य कुरा हो। तर, बिदाई र स्वागतकै लागि एप्रोनमा पुग्नु शोभनीय हुँदैन,’ ती कर्मचारीले भने, ‘तर, राजनीतिक दल र व्यवसायिक समुहको दवाव हुन्छ। त्यो दवाव विमानस्थल प्रशासनले थेग्न सक्देन।’ यतिसम्मकी भीआईपी कक्ष हुँदै आफ्ना नेताको स्वागत र बिदाई गर्न जान नपाएको भन्दै कतिपय दलका कार्यकर्ता त नारावाजी नै गर्ने गरेको ती कर्मचारीले बताए।  

‘विमानस्थलमा हुने स्वागत र बिदाईलाई हल्का लिईएको छ। हामीले रोक्न नसकिएकै हो। पुर्ण रुपमा रोक्न गाह्रो भएको विषय हो। सबैतिरको दवाव भईरन्छ,’ ती कर्मचारीले भने, ‘यहाँ पहँुच देखाउनका लागि विशिष्ट कक्ष प्रयोग गर्न खोजिन्छ। विशिष्ट कक्ष हुँदै गएर एप्रोनमा पुगेर स्वागत र बिदाई गर्नुले विमानस्थलको सुरक्षामाथि जोखिम पनि निम्तिन सक्छ।’

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पोखराको यो विमानस्थलमा अति विशिष्ट (भीभीआइपी) कक्षको क्षमता ५ र विशिष्ट (भीआईपी) को क्षमता १५ जनाको हो। त्यो हिसाबले २० जनाको क्षमता छ। सुरक्षाको हिसाबले पनि त्यही संख्याकै हाराहारीमा विशिष्ट कक्ष प्रयोग गरिन्छ। सहसचिव वा सो सरहभन्दा माथिका कर्मचारीलाई र राज्यले मर्यादाक्रममा राखेका व्यक्तिलाई विशिष्ट कक्ष हुँदै आउजाउ गर्न पाउनेगरि मापदण्ड तोकिएपनि यहाँ बिदाई र स्वागतको नाममा एप्रोनसम्मै आउजाउ गर्न चाहने समुह बढी हुने गरेको उनले बताए।

‘विशिष्ट पाहुनाको भेटघाट, छलफल, पत्रकारसँगको कुराकानी वा कसैलाई पर्खिनुपर्ने अवस्थामा विशिष्ट कक्ष उपयोग गर्न सकिन्छ, तर स्वागत र बिदाइकै लागि एप्रोनसम्म पुग्न खोज्नु राम्रो होईन,’ उनले भने, ‘यसले विमानस्थलको सुरक्षामा चुनौती थपिन्छ।’ विमानस्थलको सुरक्षा संवेदनशीलतालाई पनि ध्यान दिनुपर्ने उनले बताए। ‘विशिष्ट कक्ष हुँदै जानै पाउनुपर्छ र एप्रोनसम्मै पुगेर स्वागत र बिदाई गर्नुपर्छ भन्ने छैन। कुनै कारणबस जहाजसँग ठोकियो वा अरु जोखिम निम्तियो भने समस्या आउँछ,’ सुवेदीले भने, ‘सुरक्षाको व्यवस्थापन र संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्छ।’

एयरलाईन्सका कर्मचारी पनि एप्रोनसम्म पुगेर स्वागत र बिदाई गर्न जरुरी नभएको बताउँछन्। ‘बाहिरैबाट बिदाई गर्न सकिन्छ। जहाजबाट ओर्लेर बाहिर आएपछि पनि स्वागत गर्न सकिन्छ। एप्रोनसम्मै आउन जरुरी छैन,’ ती एयरलाइन्सका कर्मचारीले भने, ‘एप्रोनमै पुगेर भीडभाड गर्नु कुनै हालतमा राम्रो होईन। यसलाई सुधार्न जरुरी छ।’ एयरलाइन्सका ती कर्मचारीका अनुसार कतिपयले त जहाजकै नजिक पुगेर पालैपालो फोटो पनि खिच्छन्। त्यो झनै नराम्रो हो। ‘सुरक्षा संवेदनशीलता पनि बुुझ्नुपर्छ,’ उनले भने, ‘पहिला पहिला त जहाजको ढोकासम्मै आउने गरिएको थियो। अहिले केही परसम्म आउँछन।’ विमानस्थल बाहिरैबाट बिदाई र स्वागत गर्ने संस्कार जरुरी रहेको उनले बताए। यसलाई सुधार्नुपर्ने उनले बताए।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल पनि विमानस्थलमा कडाई नहुँदा यो शैलीले निरन्तरता पाएको बताउँछन। ‘एप्रोनसम्म पुगेर स्वागत र बिदाई गर्न जरुरी छैन। यसमा सुधारको जरुरी छ। स्वागत र बिदाई गर्न भित्रै जानुपर्छ भन्ने छैन,’उनले भने, ‘तर विमानस्थलभित्र पनि भिन्दै बिदाई र स्वागत कक्ष बनाउन सकिन्छ।’ कुनैपनि विमानस्थलको बाहिर बिदाई र स्वागत कक्ष नबनाउदा यो अवस्था आएको उनले बताए।  

विमानस्थलका सुरक्षाकर्मी पनि स्वागत र बिदाईको लागि एप्रोनसम्म पुग्न नपाउने बताउँछन। विमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरिक्षक हरिओम खड्का भन्छन, ‘विशिष्ट कक्षबाट भित्रिएका पाहुनालाई स्वागत गर्न र बिदाई गर्नका लागि तोकिएको ठाउँभन्दा अगाडि बढ्न पाइदैन। कहिलेकाँही विशेष अवस्थामा फरक हुनसक्छ। उनले एप्रोनमा पुगेर स्वागत बिदाई गर्नेगरि समय खर्चिन नपाउने बताए। ‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ। यसबारे सबैजना सचेत हुनुपर्छ,’ उनले भने।  

प्रकाशित: २३ फाल्गुन २०७८ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App