२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्यालिब्रेसन फ्लाइटले उडान अस्तव्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)का कारण बिहीबार उडान अस्तव्यस्त रह्यो। धेरै जहाज आकाशमै होल्ड भए भने आन्तरिकतर्फका केही उडान रद्द भए। केही उडान मर्ज भएको वायुसेवा कम्पनीहरूले बताएका छन्।

दिउँसो १२ बजेदेखि विमानस्थलमा यान्त्रिक परीक्षण सुरु भएपछि झन्डै दुई घन्टा उडान अस्तव्यस्त बनेको हो। त्रिभुवन विमानस्थलको आकाशमा एरो थाईको जहाजले फन्को मार्दै परीक्षण गर्न थालेपछि कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाउनुपरेको थियो।

कतारकै अर्को जहाज पनि आकाशमा होल्ड भयो। भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि नेपाल प्रवेश गरेसँगै नोटाममा पर्दा आकाशमै लामो फन्को लगाउनुपर्‍यो। त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलोपटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो।

पूर्वजानकारी नै नदिई एक्कासि नोटाम जारी भएपछि यात्राका लागि विमानस्थल पुगेका यात्रु अलमल्ल परेका थिए। यात्रुहरू समयमै उड्न नपाएपछि सम्बद्ध विमान कम्पनीसँग रुष्ट बने। यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष भरिभराउ भएको थियो।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने नोटामका कारणभन्दा हावाहुरीका कारण बाह्य मुलुकबाट आएका जहाज होल्डमा परेको दाबी गरे। नोटामका कारण आन्तरिकतर्फका गुण एयरले दुइटा रद्द गरेको र बुद्ध, यती लगायतका एयरलाइन्सले उडान मर्ज गरे।

यसबाट दुई घन्टा उडान डिले भएका छन्। शुक्रबारसमेत परीक्षण उडानको तालिका छ। नागरिक उड्डयन प्राधिकरणले गरिरहेको उक्त उडान शुक्रबार सकिँदैछ। शुक्रबार पनि दुई घन्टा उडान प्रभावित हुने अनुमान गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०७८ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App