१७ मंसिर २०७९ शनिबार
अर्थ

कोरोना कहरमा पर्यटनः मासिक सवा ६ अर्ब आम्दानी गुम्यो

‘पर्यटन क्षेत्रले मानिसलाई जीवनयापनको मौका दिन्छ, कमाउनका लागि ज्यालासँगै सम्मान र समानता पनि दिलाउँछ। पर्यटन रोजगारीले मानिसलाई सशक्त बनाउँछ। आफ्नै समाजमा भाग लिने अवसर दिन्छ।’ यो भनाइ जुराब पोलोलिकास्भिलीको हो।

उनी संयुक्त राष्ट्रसंघीय निकाय विश्व पर्यटन संगठनका महासचिव हुन्। उनको भनाइले पर्यटन उद्योग कुनै पनि देशका लागि कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट पार्छ। यही महत्वलाई आत्मसात् गरी नेपाल सरकारले पनि दुई वर्षअघि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो।

त्यसका लागि ‘भिजिट नेपाल २०२०’ को घोषणा गरिएको थियो। र, भिजिट नेपालको नाराले पर्यटन जगतलाई हौस्याइरहेको थियो। ठाउँ–ठाउँमा यतीका मूर्ति, भ्रमण स्थलहरूको प्रचारप्रसार, पाहुनाको स्वागतका लागि सजावटका साथै विश्वलाई नै नेपाल घुम्न आउन आह्वान भैरहेको थियो। विदेशी पर्यटकहरू पनि नेपाल घुम्न आउने योजनामा थिए।

ठिक त्यसै समयमा चीनको मध्यप्रान्त हुबेईको राजधानी सहर वुहानबाट कोभिड–१९ महामारी सुरु भयो। कोरोना महामारी सोझै मान्छेको जीवनसँग सम्बन्धित भएको र नियन्त्रणको कुनै उपाय नभएकाले संसारभरका मानिसमा त्रास फैलियो। यसको पहिलो असर नै मानवीय भौतिक गतिविधिमा देखापर्‍यो। मानवीय क्रियाकलापहरू नियन्त्रित भए। फलतः विश्वभरको अर्थतन्त्रमा असर पुग्यो।

यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन। सन् २०१९ को डिसेम्बरमा वुहानमा कोरोना भाइरस संक्रमण देखापर्‍यो। यो भाइरस यति चाँडै संसारभर फैलियो कि नेपाल भ्रमण वर्ष, २०२० कार्यक्रम पनि स्थगित गर्नुपर्‍यो। नेपालमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि चीनमा अध्ययन गरेर फर्केका एक विद्यार्थीमा सन् २०२० को जनवरीमा मात्रै भएको थियो। कोरोनाका कारण नेपालमा भ्रमण वर्ष, २०२० स्थगित भएयता सेलाएको पर्यटन व्यवसायमा अझै ताप फर्किन सकेको छैन।

पर्यटनमा ८० प्रतिशत गिरावट  

नेपालजस्तो विकासोन्मुख देशमा गतिशील अर्थतन्त्र निर्माण गर्न पर्यटनलाई एक ऊर्जाशील र सम्भावनायुक्त व्यवसायको रुपमा लिइएको छ। देशका लागि आर्थिक क्षेत्रबाट लाभमात्र नभई सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक, सम्पदाहरूको दिगो व्यवस्थापनका लागि पर्यटन व्यवसाय एक अवसर पनि हो। तर दुई वर्षदेखि त्यो सबै विश्वव्यापी कोरोना महामारीको चेपुवामा परेको छ। कोरोना महामारी कालमा पर्यटन व्यवसाय मात्रै नभएर हरेक क्षेत्र र व्यवसायमा नकारात्मक असर पर्‍यो। पर्यटक नआउँदा होटल, ट्रभलिङ, टेकिङ र यअरलाइन्स क्षेत्रमा सर्वाधिक खराब असर पर्न गयो। 

यसै पनि पर्यटन भनेको पर्यटक आएमात्रै आम्दानी हुने क्षेत्र हो। कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा साबिकको तुलनामा ८० प्रतिशत पर्यटक घटे। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२० मा पर्यटन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत कमाइ घट्यो। विदेशी विनिमयबाट २४ करोड ९५ लाख ९५ हजार अर्थात् २ लाख १७ हजार अमेरिकी डलर आम्दानी भएको थियो। सन् २०२० मा प्रतिपर्यटक जम्मा ६५ डलर रुपैयाँ आम्दानी भएको देखिन्छ। 

कम्तीमा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहितको भ्रमण वषर्, २०२० कार्यक्रम सुरु हुनासाथ कोभिडको भुङरोमा परे पनि केही उपाय निस्किन्छ कि भनेर सरकारले करिब तीन महिना पर्खियो। तर महामारी झन्झन् फैलिँदै गएपछि २०२० को मार्च २२ मा मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष नै स्थगनको निर्णय गरेको थियो। भ्रमण वर्षको थालनी हुँदासाथ कोरोना महामारी फैलिने त्रासले तीन महिना लगातार लकडाउनसमेत गरियो। त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै ठप्प भएको थियो।

सन् २०२० मा विभिन्न देशबाट गरी १ लाख ८३ हजार १३० पर्यटक हवाई मार्गबाट र ४६ हजार ९५५ पर्यटक स्थल मार्गबाट आएका थिए। जुन २०७२ सालमा भूकम्प आएको वर्षभन्दा पनि कम थियो।

नेपाल पर्यटक तथ्यांक, २०२० अनुसार, सन् २०१५ मा भूकम्प आउँदा ३२ प्रतिशत कम पर्यटक आएका थिए। तर, सन् २०२० मा ८० प्रतिशत कम आए। पाँच वर्षको तथ्यांक हेर्दा सन् २०१५ मा ५३ हजार ९७० पर्यटक नेपाल आएका थिए। सन् २०१६ मा ७५ हजार पर्यटक आए। सन् २०१७ मा ९४ हजार २१८ पर्यटक आए, जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी थियो। सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक आए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए। नेपालमा सबैभन्दा बढी पर्यटक यसै वर्ष आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २.०५ प्रतिशत बढी थियो।  

सन् २०२० मा कोरोना महामारी सुरु भैसकेपछि जम्मा २ लाख ३० हजार ८५ पर्यटक मात्र नेपाल आए। कहिले लकडाउन, कहिले महामारी संक्रमणको बढ्दो त्रासका कारण ८० प्रतिशत पर्यटक घट्दा पर्यटनलाई नै आफ्नो भविष्य बनाएका व्यवसायी चर्काे आर्थिक मारमा परे। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कोरोनाका कारण पर्यटन क्षेत्रमा मात्र मासिक ६ अर्ब रुपैयाँ नोक्सानी हुँदै आएको देखिन्छ।

कार्यरतमध्ये ८० प्रतिशत बेरोजगार भए

पर्यटकको संख्या घट्नु भनेकै पर्यटनमा आश्रित कामदारले रोजगारी र व्यवसायीले लगानी गुमाउनु हो। कोरोनाको सिधै नकारात्मक प्रभाव रोजगारी गुमाउनेहरूमा परेको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताए। ‘पर्यटन व्यवसाय खस्किँदा त्यसमा आश्रित कामदार र लगानी गर्ने व्यवसायी सिधै मारमा पर्छन्। कोरोनाले गर्दा होटल व्यवसायमा कार्यरत ७०/८० प्रतिशतजति घर बस्न बाध्य भए,’ उनले भने। बाँकीलाई रोजागारदाताले मासिक ५ हजार रुपैयाँ दिएर जागिरमात्रै थमौती गरेर राखेका छन्।

कतिपय टेकिङ कम्पनी बन्द छन्। सानातिना ट्रेकिङ कम्पनी बन्द भएको लामिछानेले जानकारी दिए। जम्मा ४/५ जनामात्र कर्मचारी तथा कामदार हुने कतिपय साना कम्पनीहरू त पूर्ण रुपमा बन्द छन्। ‘पर्यटकमा भर पर्ने ती साना कम्पनीका कामदार काम नहुँदा बेरोजगार बनेका छन्’, सूचना अधिकारी लामिछानेले भने। नेपालमा २ हजारभन्दा बढी ट्रेकिङ कम्पनी छन्। कोरोना महामारीले नकारात्मक प्रभाव पारेका कारण सरकारले नवीकरण गर्नका लागि ती साना कम्पनीलाई छुट पनि दिएको छ।  

होटलमा मारः नयाँलाई थप भार 

पर्यटन क्षेत्रभित्र पनि कोभिड महामारीको सबैभन्दा ठूलो असर परेको क्षेत्र होटल व्यवसाय भएको होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्यले बताए। अहिलेसम्मको अभिलेखअनुसार सबैभन्दा धेरै पर्यटक नेपाल आएको वर्ष सन् २०१९ हो। त्यस वर्ष ११ लाख हवाई मार्ग र करिब ७ लाख स्थल मार्गबाट गरी १९ लाख जति पर्यटक नेपाल आएका थिए। त्यसले धेरै क्षेत्रमा निकै अपेक्षा जगाएको थियो। त्यही आधारमा सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। उक्त घोषणाबाट पर्यटन व्यवसायी निकै उत्साहित भएका थिए।

त्यही उत्साहले नयाँ होटल पनि थपिएका थिए। लगानीको प्रतिफलका लागि आवश्यक तत्वमध्ये एक मानिने राजनीतिक स्थिरता पनि देखिएकाले होटल व्यवसायीमा थप आशा पलाएको थियो। नेपाललाई प्राकृतिक सम्पदाले निकै साथ दिएकाले पनि पर्यटन व्यवसाय फस्टाउने विश्वास होटल व्यवसायीमा थियो।

पर्यटन वर्ष, २०२० घोषणा हुनै लाग्दा आफ्नो भविष्य देखेका होटल व्यवसायीले लगानी पनि थपेका थिए। स्तरीय नयाँ होटल पनि खोलिएका थिए। भ्रमण वर्षको तयारीसँगै व्यवसायीहरूमा बढेको अपेक्षाका कारण सक्दो लगानी पनि थपिएको थियो। यस्तो लगानीबाट कतिपयले पुराना होटललाई नयाँ रुप दिएर मर्मत सम्भार गरेका थिए भने नयाँ सामान पनि थपिएका थिए।

हानका महासचिव शाक्यका अनुसार भ्रमण वर्षलाई आधार मानेर लगानी गरेका कतिपय नयाँ होटल यत्तिकै फसे। कोरोना महामारी चाँडै अन्त्य होला भन्ने पनि सोचिएको थियो। तर दुई वर्षसम्म पनि एकपछि अर्को नयाँ भेरियन्ट आइरहँदा पर्यटन क्षेत्र डामाडोल भयो। ‘होटल उद्योगमा एकै पटकमा ठूलो लगानी हुन्छ’, हानका महासचिव शाक्यले भने, ‘होटल भनेको एकैचोटी गरिएको लगानी विस्तारै फिर्ता हुने ठाउँ हो। लगानी फिर्ता हुन २०औं वर्ष लाग्छ तर अहिले कुनै रिटर्न छैन, शून्य छ।’

अहिले आएको कोरोनाको तेस्रो नयाँ भेरियन्ट ओमिक्रोनले भर्खर बामे सर्दै गरेको होटल व्यवसायलाई फेरि धक्का दिएको छ। शाक्य अहिले सरकारकै मुख ताक्नुपर्ने बाध्यता आएको सुनाउँछन्। सरकारले होटल व्यवसायीलाई मौद्रिक नीतिमा पुनःकर्जा भनेर ५ प्रतिशत सहुलियतमा ऋणको व्यवस्था गरेको थियो। त्यसले केही मात्रामा सहज भएको हानका महासचिव शाक्यले बताए। तर कोरोना महामारी लामो समय रहने भएकाले टिक्न निकै गाह्रो हुने उनको अनुभव छ।

महामारी नेपालको मात्रै समस्या नभएकाले तुरुन्तै पर्यटक आउने अवस्था देखिँदैन। अहिलेको कठिन परिस्थितिमा पर्यटकहरू घुम्न पनि चाहँदैनन्। कोरोनाका कारण देश देशमा सरकारी नियम पनि कडा पारिएको छ।’ सन् २०२२ मा पनि पर्यटक आउने त्यति संकेत शाक्यले देखेका छैनन्। पर्यटक आउने पिक सिजन भनेको अक्टोबर, नोभेम्बर हो। हिमाल खुल्ने र पानी नपर्ने समय भएकाले घुम्न, डुल्नका लागि यो सहज हुने समय हो। सन् २०२१ को अक्टोबर, नोभेम्बरमा कोरोना महामारी घटेकाले अवस्था केही सामान्य हुँदै थियो। तर पनि निकै नै कम अर्थात् करिब डेढ लाख मात्र पर्यटक आए।

कोरोना महामारीमा होटल नचलेपछि होटल एसोसिएसन नेपालमा आबद्ध तीन प्रमुख दलका टे«ड युनियनसँग एउटा सम्झौता भएको थियो। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समर्थित ट्रेड युनियनसँग सम्झौता गरी कर्मचारी तथा कामदारलाई आलोपालो गरी काम दिइएको थियो। सम्झौतामा कामै नगरी घर बस्दा पनि प्रतिव्यक्ति मासिक १० देखि ५ हजार रुपैयाँ दिने भनिएको थियो। होटलमै काम गरिरहेकालाई साबिककै तलब नघटाई दिइएको थियो।

सबै कर्मचारी आवश्यक नपरेका कारण होटलहरूमा आलोपालो काम गराइएको थियो। कतिपयले आफ्नो इच्छाअनुसार सुविधा लिएर काम छोडेका थिए। १५÷२० वर्ष होटलमा काम गरेकाहरू सुविधासहितको नगद लिएर आफ्नै व्यापारमा लागेको पनि महासचिव शाक्यले बताए। तर कतिजनाले सुविधा लिएर काम छोडे भन्ने यकिन तथ्यांक भने हानसँग पनि छैन।

हानमा देशभरिका १६ वटा च्याप्टरका ४ हजार सदस्य आबद्ध छन्। टुरिस्ट प्यान्डरदेखि फाइभ स्टारसम्मका होटल हानमा सदस्य छन्। पर्यटन विभागमा दर्ता भएका होटल व्यवसायलाई मात्रै एसोसिएनले सदस्यता दिने गरेको छ। पर्यटक बस्नलायक होटल मात्रै सदस्य हुन पाउँछन्। हानका सदस्य होटलहरूमा ८ देखि १० लाख कर्मचारी आबद्ध छन्।

महामारी र समस्या देखिए पनि होटलहरू विस्थापित भने हुनु परेको छैन। कतिपय फाइभ स्टार होटल केही समय बन्द पनि भए। होटल सांग्रिला, होटल मल्ल, अन्नपूर्ण मर्मत संभारमा रहेकाले हाल सञ्चालनमा छैनन्। त्यहाँ कार्यरत कर्मचारी र मजदुरले घरै बसेर मासिक ५ हजार रुपैयाँ पाइरहेका छन्।

भ्रमण वर्षलाई लक्षित गरी मेरियट, अलक जस्ता ठूला होटल पनि थपिए। मेची क्राउन झापाजस्ता होटल पनि आए। थ्री स्टार र फाइभ स्टार गरी करिब १५ वटा होटल र टुरिस्ट बस्न मिल्ने गरी २५ वटा जति होटल थपिएको हानको तथ्यांक छ। नयाँ खुलेका होटललाई झन् समस्या परेको महासचिव शाक्यले बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी दस खर्ब रुपैयाँ लगानीको लक्ष्य राखिएको थियो। होटलमा ३ हजार १४३ बेड थपिएको थियो। सन् २०१८ मा १२९ वटा स्टार होटल रहेकोमा सन् २०१९ मा स्टार होटल १३८ वटा पुगेका थिए। त्यसैगरी टुरिस्ट स्टाण्डर्ड होटल ११५१ वटामा ४ लाख ३९ हजार ९९२ बेड थिए।

कोभिडको समयमा सरकारसँग आग्रह गरी सम्बन्धित महानगरपालिका, नगरपालिकामा तिर्दै आएको सम्पत्ति करमा छुट गराउन भने हान सफल भयो। तीन वर्षका लागि क्रमशः ६५, ८०, ९० प्रतिशतसम्म सम्पत्ति करमा सरकारले छुट दिएको छ। त्यसैगरी पुनःकर्जाका लागि हान र सरकारबीच समन्वय भैरहेको शाक्यले बताए। सरकारले होटललाई उद्योगको मान्यता दिने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको छैन। होटल व्यवसायलाई सरकारले सकेसम्म सहयोग नै गरेको उनको अनुभव छ। उद्योगसरह भएकाले होटलमा चाहिने सामानमा कम कर लगाउने र करमा छुट दिने व्यवस्थाका लागि पनि पहल भैरहेको महासचिव शाक्यले जानकारी दिए।

सरकारले सहयोग गरिरहे पनि सहुलियत ऋणजस्ता सुविधा उपलब्ध गराउन सकेको छैन। अरुको घर भाडामा लिएर होटल चलाइरहेकालाई सम्पत्ति नभएको भन्दै सहुलियत ऋण नदिइएकोमा व्यवसायीको गुनासो छ। घर नभए पनि होटलमा गरिएको लगानीलाई आधार मानेर सहुलियत ऋण दिनुपर्ने उनीहरूको माग छ। कुनै पनि होटलमा कम्तीमा ४/५ करोड लगानी गर्नुपर्ने महासचिव शाक्य बताउँछन्। यो अवस्थामा अचल सम्पत्ति हुने व्यवसायीले ऋण सजिलै पाउने तर नहुनेले दुःख पाउने गरेका छन्।

महामारीले थिल्थिलो ट्रेकिङ

पर्यटन व्यवसायमा ट्रेकिङ बाह्य वा आन्तरिक पर्यटकलाई चाहेको स्थानमा पुर्‍याउने क्षेत्र हो। कोरोना महामारीले ट्रेकिङ क्षेत्रमा संलग्न भएकाहरू पनि धेरैले विस्थापित हुनुपरेको छ। आन्तरिक पर्यकटक एकदमै कम हुने हुना भएकाले ट्रेकिङ मूलतः विदेशी पर्यटकमा निर्भर व्यवसाय हो। यो अवस्थामा विदेशीहरू नआइदिँदा संकट आइलागेको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय पर्यटकमा निर्भर रहेको ट्रेकिङ क्षेत्रलाई कोरोना कहरले धराशयी बनाएको सुनाए। कोरोना लहर एकपछि अर्को आइरहँदा पछिल्लोपटक देखा परेको भेरिएन्ट ओमिक्रोनले गर्दा अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना झन् पर धकेलिएको उनले बताए। ‘ठ्याक्कै पर्यटक आउने सिजनमा कोभिड महामारी फैलिएकोले हामी अप्ठेरो अवस्थामा गुज्रिरहेका छौं। हरेक ट्रेकिङसम्बन्धी कम्पनीहरूलाई काउन्सिलिङ गर्नुपर्ने जरुरी छ। व्यवसायीहरू विस्थापित हुने अवस्था छ,’ अध्यक्ष सुवेदीले भने, ‘यो अवस्थामा टेकिङ व्यवसायमा आएको संकटलाई सरकारी स्तरबाट व्यवस्थापन गर्न अनुरोध गरिरहेका छौं।’

हुन त यसअघि पनि कहिलेकाहीँ यो क्षेत्रले संकट नबेहोरेको होइन। मुलुकको आन्तरिक कारणले पनि पर्यटन क्षेत्रमा खराब असर पुर्‍याएकै थियो। २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र संघर्ष, २०५८ सालको राजदरबार हत्याकाण्ड, भूकम्प, नाकाबन्दीलगायतले पर्यटन व्यवसायलाई असर नपारेका होइनन्। कहिलेकाहीँ देशभित्र हुने जनआन्दोलन, हत्या, हिंसाजस्ता विभिन्न गतिविधिले पनि पर्यटनमा नकारात्मक प्रभाव छाड्ने गरेको देखिन्छ।

तर सुवेदीको ट्रेकिङ व्यवसायमा लागेको २९ वर्षको अनुभवमा अहिलेको जस्तो ठुलो संकट कहिल्यै आइलागेको थिएन। अध्यक्ष सुवेदीका अनुसार पर्यटन व्यवसाय एउटा रबरजस्तै हो। राम्रो वातावरण पाए बढ्छ, नभए घट्छ। उनका अनुसार कुनै व्यक्ति ट्रेकिङमा जानु एउटा सोखको विषय हो। आफ्नो मन प्रफुल्ल पार्न, खुसी हुन, रमाउन हिँड्नेडुल्ने हो। वातावरण राम्रो छैन भने घुम्ने व्यक्ति पनि खुसी हुन सक्दैन। त्यसका लागि घुम्ने वातावरण पनि उत्साह जगाउने खालको हुनुपर्छ।

अहिलेको कोरोना महामारी विश्वभरिकै समस्या भएकाले हाम्रो मात्र समस्या होइन भनेर केही न केही चित्त बुझाउने ठाउँ छ। तर यो अवस्थाबाट पार पाएर व्यवसायलाई अगाडि बढाउन आर्थिक सुधार गर्ने खालको वातावरण हुनुपर्ने उनको भनाइ छ। एसोसिएसनमा ठुलादेखि सानासम्मका व्यवसायी समेटिएका छन्। हरेक व्यवसायी कसरी दीर्घकालीन रूपमा व्यवसाय थाम्ने भन्ने चिन्तामा छन्।

पर्यटन व्यवसायका लागि लिइएको ऋण तिर्न सबैभन्दा समस्या परेको छ। सबैलाई ट्रेकिङका बारेमा काउन्सेलिङ गरेर कम्तीमा २५ लाख रुपैयाँ ऋण प्रवाह गरिदिन एसोसिएसनले सरकारसँग आग्रह पनि गरेको छ। कर तिरेका आधारमा कम्पनीहरूलाई बिनाधितो सहुलियत ऋण दिन आग्रह गरेको सुवेदीले जानकारी दिए। यसरी व्यवसायीहरूले सरकारको सरसहयोग र भरथेग भयो भने व्यवसायलाई अगाडि बढाउने आँट मारेका छैनन्। यो अवस्थालाई सबल पक्षका रूपमा लिएर व्यावसायिक समस्या बुझिदिन र सहयोग गर्न व्यवसायीहरूले सरकारलाई आग्रह गरिरहेको सुवेदीले बताए।

थपिँदैछन् हिमाल चढ्ने महिला

साहसिक पर्यटनको एक प्रमुख क्षेत्र हिमाल आरोहण पर्यटकीय क्षेत्रको आकर्षणको केन्द्र नै हो। हिमाल आरोहरणबाट आम्दानी पनि राम्रो हुन्छ। नेपालमा सगरमाथा, कञ्चनजंघा, ल्होत्से, याङकाङ हिमाल, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला पर्यटक जान पाउने चुचुराहरू हुन्।

त्यसैगरी ८ हजार मिटरभन्दा होचा सबैभन्दा बढी चढिने हिमाल आमादब्लम हो। हिमलुङ, पुमोरी, सर्वाङ, चामलाङ, गौगिरि, ग्याल्जेन पिक, पानपोचेलगायत हिमाल चढ्न पनि पर्यटकलाई अनुमति दिने गरिएको छ। मूलतः पुरुषहरूको वर्चस्व रहेको हिमाल आरोहणमा महिलाहरूको संख्या बढ्दै गएको छ।

सगरमाथामा सबैभन्दा पहिले सन् १९७५ मा जापानकी महिला जुनको ताबेई चढेकी थिइन्। त्यसपछि सन् २०१९ सम्म विश्वभरबाट ४७१ महिलाले सगरमाथा चढेको नेपाल पर्यटन विभागको तथ्यांक छ।त्यसैगरी सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेयता ६ हजार ५०७ जना पुरुषले सगरमाथाको सफल आरोहण गरेको विभागको तथ्यांकमा उल्लेख छ।

पर्यटन विभागका अनुसार सन् २०१९ मा सगरमाथाको सफल आरोहण गर्ने २८० जना पर्यटक थिए भने ३६४ जना सहयोगी स्टाफले सफल आरोहण गरेका थिए। सन् २०२१ मा ६१ वटा हिमाल आरोहणका लागि १ हजार ४२७ जनाले अनुमति लिएका थिए। त्यसबापत ५९ करोड ७० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। कुनै पनि व्यक्तिले हिमाल चढ्न पर्यटन विभागबाट आरोहणको अनुमतिपत्र अनिवार्य लिनुपर्छ।

नेपालीमा पर्यटन रुचि बढ्दै

पर्यटन भनेपछि विदेशीकै अनुहार सम्झने पर्यटन व्यवसायीहरूले अब नेपाली पनि पर्यटक हुन् भन्ने थप बुझेका छन्। कोरोना महामारीले आन्तरिक पर्यटकको महत्व बुझ्नलाई थप सहयोग गरेको छ। यसपालि पुस मात्र होइन, फागुनमा पनि हिउँ पर्दा त्यो महत्व झन् बढेको देखियो। चन्द्रागिरि, फूलचोकीलगायत डाँडा सेताम्मे भए। त्यसैगरी दोलखाको कालिञ्चोक, कुरीलगायत ठाउँमा पनि हिउँ पर्‍यो। हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको यति भिड लाग्यो कि चन्द्रागिरिमा हिउँ खेल्न जानेको लर्कोमा बढी भएकाले जानै नसकेर कतिजना त फर्कनु पनि पर्‍यो।

नयाँ पर्यटकीय क्षेत्रमा पनि आन्तरिक एवं बाह्य पर्यटकहरू पुग्न थालेका छन्। काठमाडौं उपत्यकाको व्यस्तताबाट मुक्त हुन र रमाउन नजिकैका डाँडाकाँडा घुम्ने चलन बढेको छ। काठमाडौं उपत्यका नजिकैका शिवपुरी, सुन्दरीजल, चोभार, नगरकोटलगायत स्थानमा एक दिने ट्रेकिङ जानेहरू थपिएका छन्। एकदुई रात बसाइका लागि पनि आन्तरिक पर्यटकहरू काठमाडौं उपत्यका छाड्ने गर्छन्। मकवानपुरको दामन, चित्लाङ, दोलखा, कुलेखानीका साथै नगरकोट, धुलिखेल पनि आन्तरिक पर्यटकहरूको रोजाइका स्थान हुन्।

कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले केही राहत दिन सफल पनि भएको छ। कोरोना संक्रमणको त्रास र लकडाउनको अत्यासका कारण नेपालीहरूले घुमघामको महत्व झन महसुस गरेका छन्। चाडबाड वा सार्वजनिक बिदाको दिन पारेर सपरिवार घुम्ने चलन पनि बढेकै छ। यसले गर्दा नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको देखिन्छ। चार वर्षअगाडिको तुलनामा नेपालीहरूमा देशभित्रै घुम्ने बानी बिस्तारै बढ्दै गएको छ। 

यसले विदेशी पर्यटक नआउँदा पनि पर्यटन क्षेत्र केही चलायमान भएको देखिन्छ। तर काठमाडौं उपत्यकाभन्दा बाहिर मात्र आन्तरिक पर्यटकको बढी उपस्थित हुने गरेको हानका महासचिव शाक्यले बताए। ‘आन्तरिक पर्यटन बढ्को छ। तर भ्यालीबाहिर मात्र चलायमान छ। काठमाडौंमा आन्तरिक पर्यटक त्यति हुँदैनन्। पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेलतिर ३० प्रतिशत आन्तरिक पर्यटक पुग्ने गरेका छन्,’ उनले भने।

नेपाल पर्यटन बोर्डमा २०७६ चैतसम्म स्टार होटल १३८, टुरिस्ट स्टान्डर्ड होटल १ हजार १५१, ट्राभल एजेन्सी ३ हजार ६८०, ट्रेकिङ एजेन्सी २ हजार ७६४, ट्रान्सपोर्टेसन सर्भिस दुई, ¥याफटिङ एजेन्सी एक, होमस्टे ३८९ वटा गरी ८ हजार २८५ वटा दर्ता भएका थिए। त्यसैगरी टुर गाइड ४ हजर २००, ट्रेकिङ गाइड १७ हजार ३२५, रिभर गाइड ३५३ जना गरी २१ हजार ८६८ जना दर्ता भएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ। शून्य अवस्थामा रहेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकले केही सहज बनाउन सहयोग पुर्‍याउने विश्वास हानका महासचिव शाक्यले पनि लिएको बताए।

वागमती प्रदेशका सांस्कृतिक सम्पदा

नेपालको पर्यटन गन्तव्य उपलब्धताका दृष्टिले वाग्मती प्रदेश सबैभन्दा समृद्ध प्रदेश मानिन्छ। यहाँ प्राकृतिकका साथै सांस्कृतिक सम्पदा केन्द्रहरू छन्। विश्व सम्पदा सूचीमा रहेका सम्पदा पनि यस प्रदेशमा छन्। जिल्लैपिच्छे आ–आफ्नै सांस्कृतिक सम्पदाहरू छन् भने कतिपय जिल्लामा विश्व सम्पदा सूचीमा रहेका स्थान पनि छन्।

यीमध्ये काठमाडौं उपत्यका पर्यटकहरूका लागि सबैभन्दा महत्वपूर्ण स्थान हो। हवाईमार्गबाट आउनेबित्तिकै बाह्य पर्यटकले काठमाडौंमा टेकिने भएकाले पनि पर्यटन–अर्थतन्त्रमा यो निकै महत्व बोकेको ठाउँ बन्न पुगेको हो। ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौं उपत्यकाको आफ्नै विशेषता पनि छ। यसलाई उपत्यकालाई मन्दिरहरूको सहर भनेर पनि चिनिन्छ। विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ, चाँगुनारायण, बौद्ध स्तुपा, स्वयम्भूनाथ, काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र सातवटा क्षेत्र यही उपत्यकामा छन्।

यिनका अलावा अन्य थुप्रै ठुलासाना मन्दिर पनि यत्रतत्र छन्। यसका साथै धार्मिक, सांस्कृतिक, चाडपर्व उपत्यकाका सामाजिक जीवन हुन्।काठमाडौं उपत्यकाका तीन जिल्लाका अलावा दोलखाको जिरी, रुबी भ्याली, चितवनको सौराहा, दामन, सिन्धुलीगढी, भोटेकोसी, नुवाकोट दरबार, लाङटाङ क्षेत्र पर्यटकीय क्षेत्र हुन्।

यस प्रदेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको सम्पदा, धार्मिक सम्पदामा देवघाट धाम, पलाञ्चोक भगवती काभ्रे, कालिञ्चोक भगवती, दोलखा भीमसेन, दक्षिणकाली, त्रिपुरासुन्दरी धादिङ र रसुवाको गोसाइँकुण्डजस्ता महत्वपूर्ण स्थान पनि छन्। उपत्यका र आसपासका धुलिखेल, नगरकोट, चन्द्रागिरि, फुल्चोकी, गोदावरी, ककनी, शिवपुरी, कीर्तिपुर, बुढानीलकण्ठ, नारायणहिटी, सिंहदरबार, ठमेललगायत पुराना सहरी क्षेत्र पनि बाह्य र आन्तरिक पर्यटकका लागि महत्पूर्ण छन्।

सौराहा त प्राकृतिक सम्पदाका रूपमा एउटा प्रख्यात गन्तव्य नै हो। यहाँ आन्तरिक र बाह्य दुवै पर्यटक रमाउँछन्। चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले सौराहा वन्यजन्तुसम्बन्धी जानकारी लिन पनि निकै नै महत्वपूर्ण छ। जंगल सफारी, हात्तीलाई नजिकबाट छुने, बाघ र गैंडा हेर्नेजस्ता अवसर पर्यटक पाउँछन्। राप्ती नदीमा बोटिङ पनि आकर्षक पक्ष हो।

 त्यसैगरी दामन पनि निकै नै प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो। मकवानपुर जिल्लामा रहेको यो ठाउँ बाह्य र आन्तरिक दुवै पर्यटकका लागि रमणीय स्थान बन्दै गएको छ। त्यहाँबाट विभिन्न हिमालका दृश्यहरू देखिएका हुन्छन्। कुलेखानी जलविद्युत् आयोजनको बाँधले बनेको इन्द्र सरोवर, टिस्टुङ, चित्लाङ, पालुङजस्ता गाउँ पनि मकवानपुरका महत्वपूर्ण स्थान हुन्।

दोलखा भीमसेन हिन्दु धर्मावलम्बीहरूको आकर्षक गन्तव्य हो। भगवान भीमेश्वरको मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने गरेको छ। शक्तिशाली भगवानका रूपमा पुजिँदै आएको दोलखा भीमसेन मन्दिर ३ हजार ८४२ मिटर अग्लो स्थानमा अवस्थित छ। यो गौरीशंकर संरक्षण क्षेत्रभित्रको तीर्थयात्रा हो। नेपाल एकीकरणको एउटा महत्वपूर्ण ठाउँ नुवाकोट दरबारलाई पनि ऐतिहासिक पर्यटन गन्तव्य हो। १७६२ सालमा बनेको यो दरबार पुरातात्विक महत्व बोकेको नेवारी वास्तुकलाका लागि प्रसिद्ध छ।

विश्व सम्पदा सूचीमा रहेको नुवाकोट दरबारका साथै विभिन्न देवदेवीको मन्दिर र भैरव मन्दिर पनि प्रसिद्ध छ। जुनसुकै मौसममा पनि काठमाडौं नजिकैको यो गन्तव्यमा पुगेर प्राकृतिक मनोरञ्जनका साथसाथै ऐतिहासिक ज्ञान लिन सकिन्छ। सिन्धुलीगढीमा रहेको किल्ला एउटा ऐतिहासिक क्षेत्र हो। यसलाई सन् १७६७ नोभेम्बरमा नेपालको एकीकरण प्रक्रियाका क्रममा भारतबाट पठाइएको इस्ट इन्डिया कम्पनीका २ हजार ४ सय सेनासँग लडेर जितेको ठाउँ मानिन्छ।

यहाँको लडाइँमा बलियो ब्रिटिस सेनामाथि नेपालको गोर्खा सेनाले लडाइँमा ऐतिहासिक विजय प्राप्त गरेका थिए। ऐतिहासिक र रणनीतिक किल्ला काठमाडौंबाट १४० किलोमिटरको दूरीमा छ। यो वाग्मती प्रदेश मात्रै नभएर मध्य नेपालको प्रमुख पर्यटकीय क्षेत्र पनि हो। सिन्धुलीगढी नेपालको विजयको प्रतीकात्मक युद्ध स्मारक पनि मानिन्छ।

जिरी विश्वकै सर्वोच्च शिखर सगरमाथाको एउटा ढोका मानिन्छ। सगरमाथा राष्ट्रिय निकुञ्ज जानेका लागि ट्रेकिङ मार्ग पनि हो। जिरेल समुदायको बसोबास रहेको दोलखाको जिरी प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो। यो विभिन्न हिमशृंखला, गौरीशंकर हिमाल, सुन्दर झरनाहरू, चराचुरुंगी देखिने स्थान हो।काठमाडौंबाट नजिकै रहेको एउटा गन्तव्य रुबी भ्याली हो। धादिङको यो ठाउँमा गुरुङ र तामाङको संस्कृति अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरताले भरिएको रुबी भ्याली ट्रेकिङका लागि प्रख्यात छ। विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिने त्यस ठाउँमा गंगा जमुना झरना, तातो झरना, पाल्दोर पिक बेस क्याम्प, नेत्र लेक देख्न सकिन्छ।

रूबी भ्याली खानी र जडीबुटीहरूका लागि पनि प्रसिद्ध ठाउँ रहेको छ। त्यसै गरी समतल रुबी भूमिबाट विभिन्न परिदृश्यका साथै आफूले चाहेअनुसारको पदयात्रा गर्न सकिने ठाउँ छन्। लाङटाङ आन्तरिक र बाह्य पर्यटकका लागि एउटा प्रख्यात ट्रेकिङ गन्तव्य र निकै आकर्षक ठाउँका रूपमा वाग्मती प्रदेशमै रहेको छ। ट्रेकिङ क्षेत्रमा निकै नै रमणीय भएर पनि अन्य रुटको तुलनामा कम व्यस्त भएकाले यो गन्तव्यलाई एकपटक जानेहरूले दोहोर्‍याउन चाहन्छन्।

अवलोकनकर्ताहरूका लागि पक्षी, वन्यजन्तु र उत्साहीहरूका लागि आश्रयस्थल लाङटाङ क्षेत्रका विशेषता पनि हुन्। प्रशस्त घाँस रहेको त्यस क्षेत्र कस्तूरी, मृग, रेड पान्डा, हिउँ चितुवा, हिमालयन कालो भालुको बासस्थान पनि हो। लाङटाङ लिरुङ चुचुरो यहाँको मुख्य आकर्षण हो। त्यसैगरी तामाङ समुदायको बसोबास रहेको त्यस क्षेत्र पदयात्रामा भिन्न संस्कृति र ग्रामीण जीवनको अनुभव पनि लिन सकिन्छ। नेपालको र्‍याफ्टिङ गन्तव्यको पर्यायवाची नदीका रूपमा त्रिशूलीलार्ई लिइन्छ। गणेश हिमाल र लाङटाङबाट त्रिशूली नदीको पानी निस्कन्छ।

नदीमा प्रभावशाली घाटहरू छन्। त्यसैगरी पर्यटकका लागि उत्साह जगाउने खालका रोमाञ्चक र्‍यापिडहरू छन्। काठमाडौं र पोखराबाट सजिलै पहुँचयोग्य ठाउँ भएकाले त्रिशूलीमा र्‍याफ्टिङका लागि पुग्न सहज छ। आन्तरिक र विदेशी पर्यटकहरू दुवैमाझ लोकप्रिय र्‍याफ्टिङ गन्तव्य मानिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्दै चितवन राष्ट्रिय निकुञ्ज पनि पुग्न सकिन्छ।

भोटेकोसी सिन्धुपाल्चोकमा र्‍याफ्टिङ र कायाकिङ (सिंगल बोटिङ) का लागि चुनौतीपूर्ण नदी हो। यो नदी अप्ठेरो खालको ठाडो भएकाले र्‍याफ्टिङ र कायाकिङका लागि विश्वभर प्रसिद्ध छ। यहाँका र्‍यापिडहरू उच्च प्रवाहमा छन्। काठमाडौंबाट केही घन्टाको दूरीमा पुगिने भोटेकोसी नदी क्षेत्रमा बन्जी जम्प पनि उत्तिकै प्रख्यात छ। बन्जी जम्पले पनि साहसिक खेल प्रेमीहरूलाई निकै आकर्षित गर्दछ। सिन्धुपाल्चोककै हेलम्बु उच्च पहाडी क्षेत्रमा रहेको रमणीय गन्तव्य हो। यसले लौरीबिना ला पासदेखि मेलम्ची उपत्यकासम्मका क्षेत्रहरू समेट्छ। स्याउ उत्पादनका लागि परिचित हेलम्बु क्षेत्रमा काठमाडौं वरपरका ठाउँबाट हिँडेरै पनि पुग्न सकिन्छ। सुन्दरीजल, नगरकोट, ककनी, साँखुलगायत विभिन्न स्थानबाट हेलम्बु पदयात्रा गन्तव्य पनि हो।

विश्व पर्यटनको अवस्था

‘पर्यटन विश्वकै एउटा यस्तो महत्वपूर्ण अर्थतन्त्रको पाटो हो जसले पृथ्वीमा प्रत्येक १० जना मानिसमध्ये एक जनालाई रोजगारी दिन्छ। त्यति मात्रै होइन, करोडौंलाई जीविका दिन्छ,’ यो भनाइ संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरसको हो। विश्व पर्यटन संगठनका महासचिव पोलोलिकास्भिलीका अनुसार बलियोसँग फस्टाउँदै गरेको पर्यटन क्षेत्रमा नै संसारका सबै देशमा लाखौंको रोजगारी र व्यवसाय निर्भर छन्। प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गरी भावी पुस्तालाई रमाइलोका लागि पर्यटन एउटा प्रेरक शक्ति भएको छ। विश्व पर्यटन संगठनले यो कोरोना महामारीको अवस्थालाई संकट मात्र नभएर पर्यटन क्षेत्रलाई पुनर्विचार गर्ने एउटा अवसरका रूपमा समेत लिन पनि आग्रह गरेको छ।

विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वव्यापी कामको घन्टामा ८.८ प्रतिशत गुमायौं। सन् २००९ को आर्थिक संकटको बेला भन्दा चारगुण बढी अर्थात् २५ करोड ५० लाख पूर्णकालीन जागिरबराबरको रकम गुमायौं। कोभिड १९ ले ११ करोड ९० लाखदेखि १२ करोड ४० मिलियन मानिसलाई गरिबीमा धकेलिदिएको अनुमान छ। यसबीचमा हवाईमार्गमा ६० प्रतिशत यात्रु घटे भने लगभग १० प्रतिशत जलमार्गमा घट्न पुगे।

मानव विकास सूचकांकको तथ्यांकअनुसार महिलाको श्रम सहभागिता दरमा सन् १९९० पछिको सबैभन्दा बढी गिरावट यसै समयमा आएको हो। यो वर्ष अन्तर्राष्ट्रिय पर्यटनले निकै नै खराब रेकर्ड राख्यो। अन्तर्राष्ट्रिय पर्यटन ७४ प्रतिशतले घटेको छ। सकारात्मक विषयको कुरा गर्दा मानवीय गतिविधिमा भएको नियन्त्रणले कार्बन उत्सर्जन ६ प्रतिशतले घटेको छ। मुख्यतया उड्डयन र यातायात गतिविधिमा कमी आएका कारण यस्तो भएको हो।

नेपाली पर्यटनको भविष्य पर्यटन हुन राम्रो बासस्थान, आकर्षण ठाउँ र पुग्न पहुँच हुनैपर्छ। अर्थात् तीन ‘ए’ हुनैपर्छ– एकोमोडेसन, एक्सेस, अट्र्याक्टसन। त्यसैभित्र आतिथ्य, स्वागत, सत्कार, बास बस्न सफा ठाउँ, फुड हाइजिन आदि पनि पर्छन्। यी पक्षहरूको उपलब्धताका आधारमा सरकारले सन् २०२२ मा कम्तीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

त्यसका लागि पर्यटन पुनरुत्थान निर्देशक समितिसमेत बनेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संयोेजकत्वमा समिति गठन भएको हो। समितिमा सचिवलगायत विभिन्न सरोकारवाला रहेका छन्। त्यस समितिले पर्यटन क्षेत्र पुनरुत्थानका लागि आवश्यक नीति निर्माणलगायत काम गर्ने मन्त्रालयले जनाएको छ।

२०७८ माघ २ गते बसेको बैठकले २४ सदस्यीय पर्यटन निर्देशक पुनरुत्थान समिति गठन गरेको हो। त्यस समितिलाई सहयोग गर्न अर्को प्राविधिक समितिसमेत बनाइएको छ। तर, जसले जे गरे पनि अबको एकदुई वर्ष आशालाग्दो छैन। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले निराश भावमा दिएको जानकारीअनुसार बुकिङहरू छैनन्।

यदि कोरोना महामारी योभन्दा बढ्ने अवस्था आएन भने पनि सन् २०२४ भन्दा अगाडि अपेक्षा गरेअनुसारको काम हुन नसक्ने उनको आकलन छ। ‘विश्वभरि पर्यटन पुरानै लयमा फर्कन दुईतीन वर्ष लाग्ने देखिन्छ। कोरोना संक्रमण यो भन्दा अझै बढ्दै गयो भने ठूलो नोक्सानी बेहोर्नुपर्नेछ,’ उनले भने, ‘अझै पुरै नोक्सानी भइसकेको छैन। आगामी दिनलाई आशाका रूपमा हेर्दा पर्ख र हेर भन्नेमै छौं।’

अहिलेको अवस्थालाई हेर्दा नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पनि आगामी सन् २०२४ पछि मात्रै नेपालको पर्यटन व्यवसाय पहिलेको अवस्थामा फर्कन सक्ने देखेका छन्। उनको आकलनमा कोरोना महामारी नियन्त्रण भएर सामान्य अवस्था रहेमा अबको तीन वर्षपछि नेपालमा पहिलेजत्तिकै पर्यटक भित्र्याउन सकिन्छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App