६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

घर–जग्गा कारोबारमा गिरावट

मुलुकभर घर–जग्गाको कारोबार घटेको छ। अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर–जग्गाको कारोबारबाट उठ्ने राजस्व १ अर्ब २३ करोड ९ लाख ३० हजार ४४३ रूपैयाँले घटेपछि घर–जग्गाको कारोबार घटेको पुष्टि भएको हो।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघसम्ममा घर–जग्गा कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रूपैयाँ राजस्व संकलन भएको थियो। यसपालि माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ मात्र संकलन भएको छ।  

बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर–जग्गा कारोबारमा मन्दी आएको अनुमान गरिएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले पनि घर–जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रूपमा टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले पनि केही समयअघि घर–जग्गाको कारोबारबारे छुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। विभागका अनुसार देशभरका १२६ मालपोतमध्ये काठमाडौं उपत्यकाका ९ मालपोत कार्यालयमा हुने घर–जग्गाको कारोबारसम्बन्धी विवरण धेरै छ।  

गत माघमा देशभर घर–जग्गा कारोबारबाट १ अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ रूपैयाँ लाभकर उठेको छ। विभागका अनुसार २०७७ माघमा त्यस्तो कर १ अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो। लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ। यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ बराबरको सेवा कर उठाएको छ। त्यस्तो कर २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४०६ रूपैयाँ थियो। रजिस्ट्रेसन दस्तुरबाट गत माघमा ३ अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ राजस्व उठाएको विभागले २०७७ माघमा ३ अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० उठाएको थियो।

काठमाडौं उपत्यकाका ९ मालपोत कार्यालयमध्ये डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व संकलन बढेको छ। डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५८७ संकलन गरेकोमा यसपालि ४३ करोड ८६ लाख ७६ हजार ५३९ संकलन गरेको विवरणमा उल्लेख छ। चाबहिल मालपोत कार्यालयले २०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५३९ संकलन गरेकामा २०७८ माघमा २९ करोड १८ लाख ९ हजार ५७६ मात्रै संकलन गरेको छ।  कलंकी मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ संकलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ रूपैयाँ संकलन गरेको छ। साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५८८ राजस्व संकलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ संकलन गरेको छ।  

मनमंैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख ७ हजार ९०१ बराबरको राजस्व संकलन गरेकामा यस वर्ष माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ रूपैयाँ राजस्व उठाएको छ। टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २३६ राजस्व संकलन गरेकामा यस वर्षको माघमा ९ करोड ४१ लाख २४ हजार ३५९ संकलन गरेको छ। ललितपुरमा दुईवटा मालपोत कार्यालय छन्। त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले संकलन गरेको राजस्व घटेको छ। लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ रूपैयाँ संकलन गरेकामा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ मा सीमित भएको छ। गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४१४ यसपालि माघमा १० लाख ३ हजार ५६३ रूपैयाँ संकलन गरेको छ।  

भक्तपुर मालपोतको पनि राजस्व घटेको छ। यसबाट घर–जग्गा कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ। विवरण अनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९६१ राजस्व संकलन गरेको झक्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९१२ मात्रै संकलन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व संकलन थप पारदर्शी बन्न थालेको छ।

सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ। सो प्रणालीको प्रयोग गरेर बंैक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन्।

प्रकाशित: ५ फाल्गुन २०७८ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App