८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बर्जु महोत्सव आगजनी र तोडफोड: ६० लाखभन्दा बढी क्षतिपूर्ति आयोजकले तिर्दै

एक महिनाअघि  सुनसरी दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिपूर्ति ६० लाखभन्दा बढी आयोजक समितिले व्याेहोर्ने भएको छ। भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्विकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएपछि क्षतिपूर्ति आयोजकले व्याेहोर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबीन समितिले कलाकार यादवको सुरक्षाका लागि कहिँ कतै जानकारी नदिएको र आयोजकले आफू खुसी बोलाएकाले घटना भएको निचोड निकालेको थियो। महोत्सव बर्जु सामूदायिक विकास केन्द्रको आयोजनामा भएको थियो।

आयोजक समितिका अध्यक्ष श्रवण चौधरीका अनुसार समितिमा रहेको समूहले मिलेर क्षतिपूर्ति तिर्ने सहमति भएको छ। अहिलेसम्म खसरीलाल ल्याउँदा लागेको आठ लाख र टेण्ट हाउँसमा पाँच लाख रुपैयाँ तिर्न बाँकी छ। अरु खुद्राखाद्री पनि तिर्न बाँकी रहेको छ। ‘अनपेक्षित घटना भएपछि त्यसको क्षतिपूर्ति महोत्सव आयोजक समितिमा रहेका सात जना मिलेर तिरि रहेका छौं,’ चौधरीले भने। महोत्सव समापनका क्रममा ४० लाख रुपैयाँ हाराहारी पैसा टिकट विक्रीबाट संकलन भएपनि त्यो पैसा आगजनी र तोडफोडका बेला विभिन्न व्यक्तिहरुले खोसेर लगेको आयोजकको जिकीर छ।

महोत्सव आयोजक समितिले प्रशासन कार्यालयको निर्णयलाई अटेर गरि माघ ४ गते   भारतीय चर्चित भोजपुरी कलाकार यादव आउने सूचना गरेर अवलोकनकर्ता समक्ष तीन सय र पाँच सयको प्रवेश शुल्क लिएपनि अन्तिममा नआएको झोकमा आक्रोसित समूहले आगजनी र तोडफोड गरेको थियो। एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न पुस २३ गतेबाट सुरु भएको महोत्सव माघ ४ गते सकिदै थियो। 

महोत्सव सकिने दिन भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने पूर्व सूचना गरे अनुसार ठूलो संख्यामा अवलोकनकर्ता सहभागी भएका थिए। सहभागीले बिहान ११ बजेदेखि प्रवेश शुल्क तिरेर महोत्सव स्थलमा प्रवेश गरेपनि दिउँसो ४ बजेसम्म पनि कलाकार सहभागी नभएपछि आक्रोसित समूहले आयोजकले ठगी गरेको भन्दै अन्धाधुन्द आगजनी र तोडफोड गरेको थियो। भारतीय कलाकार खेसरीलाल भने विराटनगरमा आएर फर्किएका थिए।

कलाकार यादव नआएको झोकमा आक्रोसित समूहले चारवटा भारतीय गाडी आगजनी भएको थियो। आक्रोसित समूहले महोत्सवमा रहेका अन्य थुप्रै सामग्री तोडफोड गरेको थियो। प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। महोत्सव स्थलमा तोडफोड र आगजनीपछि मात्र प्रहरी घटनास्थल पुगेकाले पनि बढी क्षति भएको थियो।

प्रकाशित: १ फाल्गुन २०७८ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App