१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दूधको मूल्य वृद्धि एक सातासम्म कार्यान्वयन भएन, किसान मारमा

नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिटरमा ६ रुपैयाँ ५२ पैसा किसानले पाउने मूल्य बढाएको थियो। सरकारको निर्णयअनुसार अब दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पुगेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो। निर्णय कार्यान्वयन नहुँदा किसानले पुरानै मूल्य ४९ रुपैयाँ ५२ पैसामा दूध बिक्री गर्दै आएका छन्।

सरकारले वृद्धि गरेको मूल्यमा दूध बिक्री गर्न नसकेको किसान शारदा शर्माले बताइन्। ‘सरकारले दूधको मूल्य त बढायो,’ उनले भनिन्, ‘तर, कार्यान्वयन भएन।’ दूधको मूल्य थोरै मात्रामा बढेको भन्दै उनले अहिले निर्धारण गरेको दूधको मूल्यले किसानको परिश्रमलाई मूल्यांकन गर्न नसकेको बताइन्। उनले व्यक्ति, सहकारी र डेरीहरुलाई दूध बिक्रीविरतण गर्दै आएको बताइन्। 

दूधको मूल्य तत्काल कार्यान्वय गर्नुपर्ने यहाँका किसानहरुको भनाइ छ। निर्णय गर्ने तर कार्यान्वयन नहुँदा किसानहरु मारमा परेको राप्तीसोनारीका किसान अनिल चौधरीले बताए। ‘सरकारले मूल्य वृद्धि गरे पनि हामीले पुरानै मूल्यमा दूध बिक्री गरिरहेका छौं,’ उनले भने, ‘मूल्य वृद्धिको निर्णय तत्काल कार्यान्वय गर्नुपर्छ।’

बाँकेमा डेरीमा समेत ७० देखि ८० रुपैयाँ प्रतिलिटर दूध बिक्रीवितरण हुँदै आएको छ। स्थानीय धनबहादुर बस्नेत आफूले दैनिक ८० रुपैयाँ प्रतिलिटर खरिद गर्दै आएको बताए। कोहलपुरमा फरकफरक मूल्यमा दूध बेच्ने गरेका छन्। यता, नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरले सरकारले दूधको मूल्य बढे पनि कार्यान्वयन नभएको बताएको छ। आयोजना प्रमुख योगेन्द्र साहका अनुसार सरकारले खरिद मूल्य तोके पनि बिक्री मूल्य नतोकेका कारण कार्यान्वयन भएको छैन। दुग्ध विकास संस्थानले अहिलेसम्म परिपत्र नगरेको उनले बताए।  

आयोजनाले भने अहिले प्रतिलिटर ४८ रुपैयाँमा खरिद गर्दै आएको साहले बताए। ‘दूधको मूल्य बढाएर मात्रै हुँदैन। बिक्री मूल्यसमेत बढाउनुपर्छ,’ उनले भने, ‘त्यसको लागि दुग्ध विकास संस्थानले गृहकार्य गरिरहेको छ। केही समय लाग्छ होला।’ नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरले कर्णाली र लुम्बिनी प्रदेशका पाँच जिल्लाबाट दूध संकलन गर्दै आएको छ। 

बाँके, बर्दिया, दाङ, सुर्खेत र रुकुम पश्चिमबाट दैनिक दूध संकलन हुने गरेको आयोजना प्रमुख साहले बताए। आयोजनाको प्रशोधन क्षमता एक हजार लिटर प्रतिघण्टा छ। दूध संकलन विवरण प्रतिदिन लिन सिजनमा दुई हजारदेखि तीन हजार लिटरसम्म र फ्लस सिजनमा १२ सयदेखि १४ सय लिटरसम्म हुने गरेको छ। उनले बाँकेबाट दैनिक एक हजारदेखि १५ सय लिटर, बर्दियाबाट तीन हजार लिटर, दाङ र सुर्खेतबाट  समान १५/१५ सय लिटर र रुकुमबाट पाँच सय लिटर आउने गरेको छ।

प्रकाशित: २५ माघ २०७८ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App