१९ मंसिर २०७९ सोमबार
अर्थ

हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप

नीलकण्ठ नगरपालिका वडा न ७ का किसानले लगाएको आलुमा लागेको डढुवा रोग। तस्बिरः सरिता/नागरिक

आलु खेतीमा डढुवा रोगको प्रकोप फैलिएको छ। धादिङका किसानहरुले लगाएको हिउँदे आलु खेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएको हो। अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो।

डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित बनेका छन्। केहीदिन अघि परेको आकासे पानी र त्यसपछिको तुसारोले आलुको पात र डाँठ नै सुक्न थालेको किसानहरुले बताएका छन्। चिसो मौसम सुरुवात भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको छ। प्रायः सबै किसानले लगाएको आलु खेतीमा डढुवाको संक्रमण फैलिएको छ।  

मंसिरे धान काटेर लगाईएको आलुमा माघ पहिलो सातादेखि नै डढुवा लागेर सखाप भएपछि आलु मासेर अन्य खेती समेत गरेको नीलकण्ठ नगरपालिका वडा नं ७ का किसान लक्ष्मी अधिकारीले बताइन्। ‘अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भए संगै डढुवाको प्रकोप फैलिएको हो’, उनले भनिन्, ‘डढुवा रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ, हामी किसानहरुको मेहनत माटोमा बगेर जाने भयो।’ मेहनत गरेर लगाएको बाली सखाप भएपछि किसानहरु चिन्तित भएको बताए।

किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलु खेतीमा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र धादिङका बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताए। ‘चिसो मौसम सुरुवात भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय किसानले लगाएको आलु खेती नष्ट भएको छ’, उनले भने, ‘वर्षात हुने, राम्रो घाम नलागेर सित नओभाउने ठाउँमा रोग बढि फैलिएको छ।’ खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने केही किसानको आलुमा भने खासै समस्या नदेखिएको बाली संरक्षण अधिकृत अधिकारीले बताए।  

धादिङका अधिकांश किसानले एक कुन्टलदेखि १० कुन्टलसम्म आलु लगाउने गरेका छन्। कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा व्यवसायिक रुपमा १७ सय ६५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। ७ सय ७८ हेक्टरमा जमिनमा हिउँदे आलु उत्पादन हुँदै आएको छ।  जिल्लाको नीलकण्ठ, बेनिघाट, धुनिवेसी, गजुरी, ज्वालामुखी, नेत्रावतीलगायतमा बढी आलु लगाइन्छ। झार्लाङको आलु जिल्लाकै प्रख्याल छ।

यो रोग आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग हो। बाली संरक्षण अधिकृत अधिकारी भन्छन्, ‘यसको लक्षण संक्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन्। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ।’ अनुकूल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने अधिकारीले बताए। धादिङको उत्तरी भेगका किसानले वर्खे आलु बढी लगाउँछन् भने तल्लो भेगका किसानले हिउँदे आलु लगाउने गर्दछन्।  

पछौटे डढुवा रोग मुख्यतया आलु बालीमा लाग्छ। बिरुवाको विभिन्न भागहरुमा यो रोग लाग्छ। सुरुमा पातमा खैरो कालो सानो दाग देखा पर्दछ। पछि रोग छिट्टै फैलिएर पात र डाँठको ठूलो भाग ढाक्छ। आलुको दानामा पनि यसले आक्रमण गर्दछ। यसले कहिलेकाँहीँ ८० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आउने सम्भावना हुन्छ। जसका कारण भण्डारमा धेरै आलु कुहिन्छ। बढी तापक्रम, बादल लागेको वा हल्का पानी परेको वा हावाको ओसिलोपना भएको बेला यसको प्रकोप धेरै फैलने गरेको कार्यालयले जनाएको छ।  

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन्। अनुकूलत वातावरण पाईरहेमा थोप्लाहरुको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ। ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकूल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: २२ माघ २०७८ १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App