मेवा मडेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्य-मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ।
अर्ध जलाशययुक्त उक्त आयोजनाले अबको करिब पाँच महिनाभित्र (सन् २०२७ जनवरीसम्ममा) विद्युत गृहको परीक्षण गर्ने लक्ष्यसहितको कार्यतालिका बनाएको छ। आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीका अनुसार हालसम्म आयोजनाले ९२.३ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको छ।
व्यवसायिक विद्युत उत्पादनका लागि आवश्यक पर्ने अधिकांश सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल तथा प्रसारण लाइन सम्बन्धी सम्पूर्ण कार्य पूरा भइसकेको रेग्मीले जानकारी दिए। आयोजना अन्तरगत सिभिलतर्फ मुख्य बाँधसहित इन्टेक, स्पिलवे, हेडपोन्ड, स्टिलिङ बेसिन, डिस्यान्डर लगायत अन्य मुख्य संरचनाहरूको कंक्रिट कार्य पूरा भइसकेको समेत रेग्मीले जानकारी दिए।
आयोजनाका लागि आवश्यक पर्ने ५.८ किलोमिटर लामो हेडरेस टनेल (सुरुङ मार्ग)को सम्पूर्ण उत्खनन कार्य पूरा भएको आयोजनाले जनाएको छ। हाइड्रो मेकानिकलतर्फ अधिकांश गेटहरू आयोजनास्थलमा जडान हुन थालेको र पेनस्टक पाइपको जडान कार्य पूरा भएको समेत रेग्मीले जानकारी दिए। इलेक्ट्रो मेकानिकलतर्फ टर्बाइन, जेनेरेटर तथा अन्य प्रमुख विद्युत उपकरणको जडान कार्य पूरा भई विद्युत उत्पादन परीक्षण गर्न मिल्ने आवश्यक संरचनाहरू तयार भइसकेको समेत रेग्मीले बताए।
उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रयोजनका लागि आवश्यक पर्ने प्रसारण लाइनका सबै टावरहरूको जडान कार्य सम्पन्न भई केही सीमित स्थानमा तार तान्ने कार्य समेत अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ। आयोजनाको बाँध क्षेत्रमा रेडियल गेट जडान कार्य भइरहेको अवस्थामा गत असार महिनामा आएको बाढीले असर गरेको र वर्षाको समयमा उक्त गेटहरू जडान गर्न असम्भव भएका कारण विद्युत उत्पादन गर्नुपर्ने अवधि करिब तीन महिना ढिलो हुन पुगेको आयोजनाले जनाएको छ।
मेवा डेभलपर्स लिमिटेडका प्रबन्ध सञ्चालक भानु पोखरेलले जटिल भौगर्भिक अवस्थाका बिच अर्ध जलाशययुक्त आयोजना निर्माण गर्नु आफैँमा चुनौतीपूर्ण रहेको बताउँदै बाँधको जग निर्माण तथा स्थिरीकरण कार्य झन् चुनौतीपूर्ण रहेपनि ३५ मिटर अग्लो बाँध निर्माण कार्य पूरा हुनुलाई ठूलो उपलब्धिको रूपमा लिन सकिने बताएका छन्। उनले निजी क्षेत्रबाट निर्माणाधिन तथा भविष्यमा निर्माण हुने अर्ध जलाशययुक्त ठूला प्रकृतिका जलविद्युत आयोजनाका लागि प्रोत्साहन मिल्ने विश्वास समेत प्रकट गरेका छन्।
जलविद्युतका अधिकांश पूर्वाधार भूमिगत संरचनामा निर्माण गरिएको र विद्युत गृहमा विद्युत उत्पादन उपकरण समेत जडान भइसकेकोले आयोजनाले अब बाँकी संरचना पूरा गरी विद्युत उत्पादनको परीक्षण गर्ने तयारी गरिरहेको आयोजनाका वरिष्ठ व्यवस्थापक रेग्मीले जानकारी बताए।
विद्युत गृहमा प्रयोग भएका उपकरणहरू उच्च प्रविधिबाट जर्मनीमा उत्पादन गरिएको हो भने अन्य उपकरणहरू भारतबाट आयात गरिएको यो आयोजनाले जनाएको छ। दैनिक ६ घण्टा पिकिङ समयमा सञ्चालन हुने सो आयोजनाबाट सुख्खा यामको पिक समयमा ७५.०२ गिगावाट आवर, अफ पिक समयमा ६१.५९ गिगावाट आवर र वर्षायाममा २९९.४६ गिगावाट आवर गरी कुल वार्षिक ४२६.०८ गिगावाट आवर विद्युत उत्पादन हुने छ। मेवा मडेभलपर्स लिमिटेडका अध्यक्ष मोहनदास मानन्धरले आयोजना निर्माण सम्पन्नतातर्फ उन्मुख हुनुलाई ‘जलविद्युत क्षेत्रमा एक महत्वपूर्ण सफलता’ भनेका छन्।
आयोजना सञ्चालनमा आएपछि यसले राष्ट्रिय प्रणालीमा स्वच्छव तथा नविकरणीय ऊर्जा आपूर्ति गर्दै देशमा उच्च माग हुने समयमा पनि ऊर्जा सुरक्षा सुद्दढ गर्ने मानन्धरले विश्वास लिएका छन्। आयोजनाले सुख्खा याममा समेत विद्युत उत्पादन बढाउन मेवा खोलाको सहायक सिवा खोलाको बहाव समेत प्रयोग गर्नेगरी प्राविधिक डिजाइन गरेको छ।
आयोजनाबाट उत्पादित विद्युत करिब १२ किलोमिटर लामो १३२ केभिएको प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको मैवाखोला ढुङ्गेसाँघुस्थित विद्युत सवस्टेशनमा जोडिने छ। आयोजनामा स्वपुँजी लगानीकर्ताको रूपमा हाइड्रोइलेक्ट्रिीसिटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल), नेपाल लाइफ एण्ड इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, एनआरएन ग्लोबल भेञ्चर्स प्रालि, नेपाल इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेड लगायतका प्रतिष्ठित संस्थाहरूको सहभागिता रहेको आयोजनाले जनाएको छ।
ऋण लगानीतर्फ हिमालयन बैंक लिमिटेडको अगुवाइमा विभिन्न कन्सोर्टियम बैंकहरू आबद्ध रहेका छन्। कम्पनीले प्राथमिक शेयर निष्कासनको समेत तयारी गरिरहेको जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८३ ११:१० मंगलबार



-600x400.jpg)

