२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गन्तव्यः रातारात भाइरल बन्छन्, अनि हराउँछन्

पोहोर भाइरल बनेको मानहुँकोट अहिले सेलायो

अहिले रत्नेचौरको तोरीबारी भाइरल बनेको छ

म्याग्दीको रत्नेचौरको तोरीबारी। तस्बिर सौजन्यः भरत खत्री

कोरोना भाइरस संक्रमण कमजोर भएपछि हिडडुल खुकुलो हुँदै गर्दा अघिल्लो वर्ष तनहुँको मानहुँकोट एकाएक भाइरल बन्यो। सामाजिक सञ्जालमा सबैतिर मानहुँकोट अटायो। ब्यास नगरपालिका–५ को मानहुँकोटमा एकैदिन करिब १५ हजार मान्छे उक्लिएको अनुमान त्यहाँका स्थानीयले गरेका थिए। यतिसम्म की मानहुँकोट उक्लिएको भीड नियन्त्रण गर्न प्रहरी र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी खटाउनु परेको थियो।  

हुन त मानहुँकोटमा पहिले पनि मान्छेको आउजाउ हुन्थ्यो। तर, पोहोर एकाएक सामाजिक सञ्जालले चिनाउँदा घुम्न जानेको ओइरो नै लाग्यो। कुनैपनि बलिया र आकर्षक पुर्वाधार नहुँदा नहुँदै पनि मानहुँकोटले आन्तरिक पाहुना तान्न सफल भयो। तर, यो पटक भने मानहुँकोटले पोहोरजति मान्छे पाएन। यो सिजनमा मानहुँकोटको नाम पोहोरजति कतै सुनिएन।  

पोहोर मानहुँकोट जस्तै अहिले म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारी सामाजिक सञ्जालमा छाएको छ। अघिल्लो वर्षदेखि रत्नेचौरको तोरीबारीले मान्छे तान्न थालेको थियो। यो वर्ष अधिक संख्यामा सर्वसाधारण रत्नचौर पुगेका छन्। शनिबार मात्र करिब एकहजार सर्वसाधारण रत्नेचौर घुम्न पुगेको स्थानीयको अनुमान छ। कोरोना संक्रमणको जोखिमबीच पनि तोरीबारीमा रमाउन र सामाजिक सञ्जालमा आफुलाई अटाउने गरि तस्बिर र भिडियो कैद गर्न पुगेकाको भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपरेको थियो।  

तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौर यस्ता गन्तव्य हुन, जहाँ आकर्षक पर्यटकीय पूर्वाधार खासै छैनन्। मानहुँकोट समुन्द्री सतहदेखि ११ सय मिटर उचाइको डाँडा हो। जहाँबाट मौसम सफा हँुदा मात्र अन्नपूर्ण, माछापुच्छ्रेदेखि मनास्लुसम्मका हिमश्रृंखला मात्र देख्न सकिन्छ। त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न पाइन्छ। सदरमुकाम दमौली बजार बाक्लो तुवालोभित्र लुकिरहँदा मानहुँकोटबाट देखिने सुर्याेदयको दृष्य भने लोभलाग्दो हुन्छ। त्यही दृष्यमा रमाउनका लागि पोहोर पाहुनाको ओइरो लागेको थियो।

तनहुँको मानहुँकोटको अघिल्लो वर्षको भीड। फाइल तस्बिरः नागरिक

ब्यास नगरपालिका–५, का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन, ‘पोहोर मानहुँकोट एकाएक भाइरल बनेको ठाउँ हो। अहिले घुम्न आउने खासै भएनन्।’ उनका अनुसार मानहुँकोटबाट सुर्याेदयको दृष्य देखिने बाहेक त्यहाँ भरपर्दा कुनै आकर्षक पूर्वाधार छैनन्। यत्तिसम्मकी खाने र बस्ने ठाउँ पनि गतिला छैनन्। अहिलेसम्म पनि असुविधा उत्तिकै छन। ‘सामाजिक सञ्जालले चिनाउने मात्र रहेछ। पोहोर मानहुँकोटलाई चिनायो,’ उनले भने, ‘अहिले एकाएक सेलायो।’ उनका अनुसार सामाजिक सञ्जालका कारण कतिपय गन्तव्यले लहलहैमा पहिचान कमाउँछन्। तर, ती ठाउँले कमाएको पहिचान दीर्घकालिन हुँदैन। ‘पोहोर टिकटकका कारण मानहुँकोटले पहिचान कमायो, अहिले सेलायो,’ उनले भने।  

पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौरको तोरीबारी बनेका छन्।  

उनका अनुसार अहिले ब्यास नगरपालिका–११ को तनहुँसुरमा कालोपत्रे सडकले घेरेको रुखको तस्बिर सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। सडकको बीचभागमा रहेको रुखलाई जोगाएर सडक कालोपत्रे गरेको भन्दै त्यहाँ घुम्न जानेको ताती लाग्न थलोको ब्यास नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठले बताए। ‘अहिलेको पुस्तालाई घुम्न जाने कुनै निहुँ मात्र भए पुग्छ। बलियो आधार केही चाहिँदैन,’ उनले भने, ‘कालोपत्रे सडकको बीचमा परेको रुखलाई छेको पारेर फोटो खिच्न जानेको लर्को लागेको छ।’

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा शनिबार आन्तरिक पर्यटकको ठुलो भिड थियो। रत्नेचौरमा कालोपत्रे सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा म्याग्दी र छिमेकी जिल्लासँगै विभिन्न स्थानबाट घुम्न पुग्नेको भीड थियो। ठुलो संख्यामा सर्वसाधारण पुगेपछि सडकको आउजाउ नै अवरुद्ध भएको थियो। कोरोना संक्रमणबीच तोरीबारीमा शनिबार अहिलेसम्मकै ठुलो भीड लागेको स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए। ‘भिडभाडले सडक नै जाम भयो। पहँेलपुर तोरीबारी अहिले सबैतिर भाइरल बनेको छ,’ प्रअ खत्रीले भने, ‘पर्यटकीय गन्तव्य बनाउने प्रयास भईरहेको छ ।’ अहिलेको तोरीबारीमा कुनै पूर्वाधार बनाउन नदिई रत्नेचौरको पहिचान कायम राख्न सकेमा मात्र पर्यटकीय गाउँ बनाउन सकिने उनले बताए।  

उनका अनुसार सवारीराधन र पैदलमार्ग मार्फत तोरीबारीमा घुम्न आएकाहरुले रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तरगत नौसय मिटरको कालोपत्रे सडक जाम भएको थियो। एकैपटक घुम्न आउनेको भीड व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको उनले सुनाए। अहिले  स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तोरीबारीको प्रचारप्रसार भईरहेको स्थानीय यूवा सन्तोष महतको भनाई छ। चारैतिर पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको धौलागिरि सहितका हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीबारीमा जनजातिको भेषभुषा लगाएर समेत तस्बिर खिच्न भ्याईनभ्याई छ। स्थानीय सहकारीले निश्चित शुल्क लिएर पोशाक भाडामा दिने गरेको छ।  

बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर रावलले बजारभन्दा केही परको तर आकर्षक गाउँ भएकोले पनि अहिले सबैतिर चर्चा पाएको बताए। ‘यतिबेला तोरी र गहुँ खेती गरिएको छ। तोरीको पहेँलपुर तस्बिर सामाजिक सञ्जालमा छाएपछि अहिले सर्वसाधारणको भीड थामिनसक्नु भएको हो,’ रावलले भने, ‘पर्यटकीय पूर्वाधार त खासै छैनन्। मात्र प्राकृतिक सुन्दरता र कृषिकर्मको आकर्षणले त्यहाँ युवायुवतीलाई तानेको हो।’ उनका अनुसार खेतीपातिका बीचमा नागबेली कालोपत्रे सडक बनेपछि आउजाउ सहज भएकोले पनि अहिले आकर्षण बढेको हो। उनका अनुसार रत्नेचौरको करिब २५ हेक्टर क्षेत्रफलमा तोरी र गहुँ खेती गरिएको छ।  

पर्यटन क्षेत्रका जानकारका अनुसार पछिल्लो समय कतिपय गन्तव्य रातारात भाइरल हुने र अर्काे वर्ष हराउने गरेका छ। पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी भन्छन्, ‘पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन। प्रवद्र्धन पनि सिमित व्यक्तिको पहुँचमा थियो। अहिले सबैको हातमा पुगेको छ।’ पूर्वाधार भएमा वा थप्न सकेमा अहिले भाइरल भएका गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण बन्न सक्ने उनले बताए। ‘सरकारी निकायको नजर नपुगेको ठाउँ पनि अहिले रातारात बाहिर आएका छन। यो सबै अहिलेको पुस्ता र प्रविधिको कारणले हो,’ भण्डारीले भने, ‘भाइरल भएका ठाउँ कतिपय सिजनल रुपमा आकर्षक हुन सक्छन्। त्यसबारे अध्ययन गर्न सकिन्छ।’ भाइरल बनेका गन्तव्यमा लगानी गरेमा पर्यटनमा लाभ पुग्छ। नत्र रहरमै मात्र सिमित रहन सक्ने पनि उनले बताए। 

प्रकाशित: १६ माघ २०७८ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App