६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

स्वास्थ्य बिमाले तातोपानीका विपन्न नागरिकलाई राहत

जुम्लाको तातोपानी गाउँपालिकाले अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएपछि स्थानीयले निकै राहतको अनुभूति गर्न थालेका छन्। जनतासंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको हो।

चालू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।  

जनतासँग अध्यक्ष कार्यक्रमका लागि  १० लाख रुपैयाँ विनियोजन गरिएको थियो। अहिले स्वास्थ्य बिमा गर्न नसक्दा अति विपन्न नागरिकलाई स्वास्थ्य उपचारका निकै सकस हुने गरेको थियो।  

अध्यक्ष न्यौपानले भने,‘गाउँपालिका भित्रका सबै वडामा अतिविपन्न नागरिकको पहिचान गरेर निःशुल्क स्वास्थ्य बिमा गरिँदै आएको छ। यसले स्वास्थ्य उपचारमा बञ्चित नागरिक लाभान्वित भएका छन्।  

उनले भने, ‘गाउँपालिकाका ८ वटै वडाभित्रका आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका छौँ।’

अतिविपन्न नागरिकलाई बिमा गर्दाको बिमांङ्क रकम ३ हजार ५ सय रुपैयाँ गाउँपालिकाले बेहोर्नेछ।  

गाउँपालिकाभित्रका ८ वटा वडामा स्वास्थ्य बिमाकर्ता परिचालन गरिएको थियो। उनीहरुको प्रतिबेदनका आधारमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए। उनले भने, ८ जना बिमाकर्ता परिचालन गरेका छौँ। अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्न भनिएको छ। यो कार्यक्रमले विपन्नलाई राहत मिल्ने अपेक्षा गरिएको छ। ’  

तातोपानी गाउँपालिका वडा नम्बर ३ लिताकोटकी रेवती रावलका अनुसार अहिलेसम्म यो वडाका ५० जना अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिसकिएको छ। गाउँमा पैसा नभएर स्वास्थ्य बिमा गराएका अतिविपन्न नागरिक धेरै छन्। उनीहरू सबैको अनिवार्य स्वास्थ्य बिमा गर्ने तयारी छ।  

सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ जना नागरिकले बिमा गरेका छन्। स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीका अनुसार ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा ४ हजार ३५ जनाको बिमा गरिएको छ। उनले भने, ‘निःशुल्क बिमा कार्यक्रमअन्तर्गत महिला स्वयंसेविका १ सय ८०, पूर्ण अपांगता भएका ४५, क्षयरोग टिभी २ र एचआईभी संक्रमित १ जनाले बिमा गरेका छन्।

यो गाउँपालिकाले जुम्लामै पहिलो पटक निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम चलाएको हो। अध्यक्ष न्यौपानले भने,‘एउटा मानव स्वस्थ्य हुनु आवश्यक हो। जसका लागि सबै क्षेत्रमा सुरक्षित अनुभूति हुने गरि बिमा कार्यक्रम अघि सारीएको हो।’

प्रकाशित: १२ माघ २०७८ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App