१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार र सोमबार दुई दिनमा नेप्से परिसूचक ८९ बिन्दुले बढेको थियो। त्यसपछिका दुई दिन मंगलबार र बुधबार भने ४८ बिन्दुले घटेको छ। मंगलबार १० र बुधबार ३८ बिन्दुले नेप्सेमा गिरावट आएको हो।

स्टक एक्सचेन्जका अनुसार बुधबारको कारोबारपछि सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक २८९८.३१ बिन्दुमा आइपुगेको छ। बजार खुलेपछि कारोबारमा उच्च उतारचढाब देखिएको थियो। कोभिडको ओमिक्रोन भाइरसका संक्रमित लगातार बढेको र बजार बन्द हुने हल्लाका कारण लगानीकर्ता अन्योलमा देखिँदा यसको असर बजारमा परेको हो। बुधबारको कारोबारमा नेप्सेमा १.३१ प्रतिशतले गिरावट आएको हो।

नेप्से ओरालो लागैसँगै कारोबार रकम पनि घटेर ६ अर्ब २ करोडमा आएको छ। आइतबार ९ अर्ब ६७ करोड रूपैयाँको सेयर किनबेच भएकोमा सोमबार घटेर ७ अर्ब ९० करोडमा झरेको थियो। मंगलबार फेरि केही बढेर यो ८ अर्ब ४४ करोड पुगेको थियो।

स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचकसँगै अन्य सूचक र उपसूचक सबैमा गिरावट आएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबै घटेका छन्। यीमध्ये सेन्सेटिभ सूचक १.४३ बिन्दुले घटेको छ। फ्लोट र सेन्सेटिभ फ्लोट क्रमशः १.१६ र १.२ प्रतिशतले घटेका छन्।

मंगलबार सेन्सेटिभ सूचकबाहेक अरू सबै सूचक घटेका थिए। सेन्सेटिभ सूचक ०.२ प्रतिशतले बढेको थियो भने फ्लोट र सेन्सेटिभ फ्लोट सूचक क्रमशः ०.३४ र ०.०८ प्रतिशतले घटेका थिए।

यस्तै सेयर कारोबारका १३ उपसमूहका सबै सूचकमा गिरावट आएको छ। यीमध्ये सबैभन्दा ठूलो गिरावट अन्य उपसमूहको सूचकमा २.६७ प्रतिशतले आएको छ। त्यसपछि २ प्रतिशतभन्दा धेरैले घट्ने उपसूचकहरूमा व्यापार, होटल तथा पर्यटन र फाइनान्स छन्। यस्तै सबैभन्दा कम प्रतिशतले घट्ने सूचकमा बैंकिड ०.७३ र निर्जीवन बिमा ०.८९ परेका छन्।

मंगलबार ९ उपसमूहका सूचक घटेका थिए भने ४ उपसमूहका सूचक बढेका थिए। बैंकिङ, होटल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोषका सूचक बढ्नेमा परेका थिए। यसमध्ये सबैभन्दा धेरै प्रतिशतले बढ्नेमा अन्य समूह परेको थियो। यस्तै मंगलबार सेयर घट्ने ९ उपसूचकमध्ये सबैभन्दा धेरै घट्नेमा व्यापार उपसमूहको सूचक २.६३ प्रतिशतले घटेको थियो।

स्टकका अनुसार बुधबारको कारोबारमा २ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीमा ८ वटा परेका छन्। यस्तै ३ प्रतिशतभन्दा बढीले मूल्य घट्ने कम्पनी १८ वटा परेका छन्।

मंगलबारको कारोबारबाट ४ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीमा ७ वटा परेका थिए भने ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य घट्ने कम्पनीमा ९ वटा परेका थिए।

स्टक एक्सचेन्जका अनुसार बुधबार २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार २२४ कम्पनीका एक करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर बिक्री भएका थिए।

प्रकाशित: ६ माघ २०७८ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App