coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इलाम–काठमाडौं चल्ने भो हवाइजहाज

उडान–अवतरणका लागि तयार भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल। तस्बिरः भीम/नागरिक

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट अब इलाम–काठमाडौं नियमित उडान–अवतरण गरिने भएको छ। आउँदो फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो।

इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो। नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरेको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मेयर महेश बस्नेतले जानकारी दिए। ‘अब ३ महिना प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुनेछ,’ उनले भने, ‘नगरपालिकाले तारा एयरसँग सम्झौता गरी विमानस्थल सुरु गर्ने जमर्काे गरेको छ।’

तारा एयरको १६ यात्रु क्षमताको जहाज यहाँबाट चल्नेछ। इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ। सम्झौताअनुसार यात्रु भएकामा बाहेक ११/११ जनाको आते–जाते भाडा इलाम नगरले नै तिर्नेछ। इसेवा वा विमानस्थलकै काउन्टरमा टिकट काट्न सकिने भएपनि तारा एयरले यात्रुलाई भाडामा छुट चाहिँ दिने छैन।

तर मेयर बस्नेतले ८ हजार ७ सय रुपैयाँमा टिकट काटिएपछि आते–जाते दुवैतर्फी टिकट यात्रुले पाउने बताए। कम्तीमा ३ महिना नियमित उडान–अवतरण गर्दा पनि यहाँको व्यापार, खेल, पर्यटनलगायत क्षेत्रमा फाइदा पुग्नेगरी नगरले भाडा छुुटको ‘स्किम’ ल्याएको उनले बताए। विमानस्थलको काउन्टरमा नगरपालिकाकै ४ कर्मचारी रहनेछन्। ‘इलाम नगरपालिकाले यात्रुलाई भाडामा एकतर्फी भाडा तिर्दा दुईतर्फी टिकट दिनेछ,’ मेयर बस्नेतले भने, ‘ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, व्यापारी, खेलाडी यसको प्राथमिकतामा रहनेछन्।’ विमानस्थलमा रहने कर्मचारीलाई तालिम लिन काठमाडौं पठाइँदैछ।

बस्नेतले विमानस्थल कम्तीमा ३ महिना नियमित सञ्चालन गर्नेगरी सम्झौता भएको बताए। ‘३ महिनासम्म इलाम नगरपालिकाले नै जहाजको सबै खर्चको दायित्व बहन गर्ने हो, उडान नियमितताको परीक्षणका लागि नगरले लगानी गर्न लागेको हो।’ उनले नागरिकस्तरबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा संघीय सरकारले लामो समयदेखि कुनै चासो नगरेपछि स्थानीय सरकार नै जुटेको बताए।

सम्झौताअनुसार यो अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन हुनेछ। काबुबाहिरको अवस्थामा बाहेक तारा एयरले नियमित उडान गर्नु पर्नेछ। ‘सरकारी जहाजलाई नै यहाँबाट उडान–अवतरण व्यवस्था मिलाउन गराउन नगरले धेरैपटक लिखित आग्रह गरेपनि सम्भव भएन,’ मेयर बस्नेतले भने, ‘अरू निजी कम्पनीका जहाडसमेत इलामका लागि अनुकूल नहुने भएपछि तारा एयरसँग सम्झौता भएको हो।’ उनले योभन्दा कम भाडादरमा कसैले विमान सञ्चालन गर्ने भए यो सम्झौता निरन्तर नरहने पनि बताए।

गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो। वैशाखसम्ममा जहाज उडाउनेगरी तयार भएको विमानस्थल सञ्चालन हुन सकेको थिएन। विमानस्थलमा उडान–अवतरण सुरु गर्नेबेला कोरोनाको महामारी रहेकाले एक वर्षपछि सुरु हुन लागेको हो। ‘इलामवासी नै जागरुक भएर बनाएको विमानस्थल तयार गरेर सञ्चालन नगरी राख्नु उचित नभएकाले नगरले केही रकम लगानी नै गरेर यहाँबाट उडान–अवतरण गराउने प्रयास गरेको हो,’ मेयर बस्नेतले भने, ‘विमानस्थल बनाउन कतिजनाको घर–जग्गा नै उठेको छ, स्थानीयस्तरको करिब ४ करोड रुपैयाँ लगानी भएको छ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार छ। प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायत सबै काम पूरा भएको बताए। ‘अब विमानस्थलमा विन्ड सक (हावाको गति नाप्ने संकेत) राख्नमात्र बाँकी छ,’ उनले नागरिकसँग भने, ‘टर्मिनल भवन बन्न बाँकी रहेपनि उडान–अवतरण गर्न बाधा छैन ।’ विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन चाहिँ निर्माण भइसकेको छ।

इन्जिनियर भट्टराईले विमानस्थलमा रहने एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का लागि प्राधिकरणसँग जनशक्ति व्यवस्थापन समन्वय गर्नु आवश्यक रहेको बताए। ‘उडानका लागि प्राधिकरणबाट अनुमति लिने काम पनि बाँकी नै होला तर त्यो सम्भव भइहाल्छ,’ उनले भने, ‘स्थानीयकै सक्रियतामा बनेको विमानस्थलमा जहाज चल्नु मेरो लागि खुसीको खबर पनि भयो।’

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ। ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘पोहोर ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङलगायतको काम भइसकेको छ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लावासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो।

प्रकाशित: २ माघ २०७८ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App