coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावितलाई गोबर ग्यासहितको शौचालय

२०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ दुगुनागढीका अधिकांश स्थानीयका घर क्षतिग्रस्त भए। दुगुनागढीमा क्षतिग्रस्त भएकामध्ये अधिकांश घर द्वारिका फाउन्डेसनले निर्माण गरिदियो।

स्थानीयको व्यवस्थित घर त भयो तर त्यहाँका स्थानीयमा शौचालयको अभाव भने खड्किरह्यो। भोटेकोसी गाउँपालिका–३ डाँडागाउँका दोर्जे तामाङले आफ्नै खर्चमा व्यवस्थित शौचालय निर्माण गर्न सकिरहेका थिएनन्।

रोटरी क्लब अफ दरबारमार्गको अगुवाईमा सन् २०२० को जनवरीदेखि दोर्जे तामाङसहित ३० वटा घरमा अहिले बायोग्यास (गोबरग्यास) सहितको शौचालय निर्माण कार्य भइरहेको छ।

‘भूकम्पपछि एउटा सहयोगी संस्थाले घर बनाइदियो,’ उनले भने, ‘आफ्नै खर्चले ट्वाइलेट बनाउन सकिरहेको थिइनँ। रोटरी भन्ने संस्थाले गोबरग्यासहितको व्यवस्थित शौचालय निर्माण गरिदिएसँगै अहिले सहज भएको छ।’

भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष कैलाश पौडेलले दुगुनागढीमा भूकम्पले भत्किएको घर तथा शौचालय निजी क्षेत्रसँग समन्वय गरेर निर्माण गरिएको बताए। ‘भूकम्पले क्षतिग्रस्त भएका घर तथा स्थानान्तरणको काम निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरेर निर्माण भएको हो,’ उनले भने, ‘भवन निर्माण गर्ने निजी क्षेत्रले शौचालय निर्माण गरेनन्। शौचालय निर्माणको काम पनि रोटरी क्लब तथा इको हिमाल संस्थासँग सहकार्य गरेर निर्माण भइरहेको छ।’  

अहिले भोटेकोसी गाउँपालिका–३ स्थित रहेका आधा दर्जनभन्दा धेरै टोलमा रोटरी क्लब अफ दरबारमार्गले बायोग्याससहितको शौचालय र तरकारी खेतीका लागि टनेलको निर्माण गरिरहेको छ।  

अहिलेसम्म १० वटा गोबरग्यास निर्माण सम्पन्न गरेर स्थानीय जनतामा हस्तान्तरण भइसकेको छ। २० वटा गोबरग्याँस निर्माणाधीन अवस्थामा रहेका छन्। २०७२ सालको भूकम्पले भोटेकोसी गाउँपालिका–३ डाँडागाउँका रुद्रबहादुर पौडेलको पनि घर भत्किएको थियो। तर, सरकारी अनुदान तथा आफ्नै व्यक्तिगत खर्चमा घर तयार पारे।

उनले पनि व्यवस्थित शौचालय निर्माण गर्न सकिरहेका थिएनन्। अस्थायी प्रकृतिको शौचालयबाट आफ्नो गुजारा चलाउँदै आइरहेका थिए। तर, अहिले उनको घरमा पनि गोबरग्यासहितको शौचालय निर्माण भएर सञ्चालनमा आइसकेको छ। पौडेलले गोबरग्याँसको ठाउँको सदुपयोग गर्दै अहिले टनेल खेती गर्दै आइरहेका छन्। ‘२०७२ सालको भूकम्पले भत्किएको घर जेनतेन रूपमा ठड्याएको थिएँ। तर, व्यवस्थित खालको शौचालय निर्माण गर्न सकिरहेको थिइनँ,’ उनले भने, ‘अहिले गोबरग्याससहितको आधुनिक ट्वाइलेट भएसँगै धेरै सहज भएको छ।’ पौडेलले अहिले गोबरग्याँसको डोममाथि टनेलमा टमाटर खेती गर्दै आइरहेका छन्।

उनले वार्षिक एक लाख रूपैयाँभन्दा धेरै टमाटर खेतीबाट आम्दानी गर्दै आइरहेको दाबी गरे। रोटरी क्लब अफ दरबारमार्गका प्रेसिडेन्ट नेत्रबहादुर बस्नेतले क्लबले भोटेकोसी गाउँपालिका–३ दुगुनागढीमा ६० घरधुरीमा गोबरग्यास सहितको शौचालय निःशुल्क रूपमा निर्माण गर्दै आइरहेको बताए। ‘१० वटा गोबरग्याँस तयार भइसके, अहिले २० वटा निर्माणाधीन चरणमा छन्,’ उनले भने, ‘आगामी २०२२ को डिम्सेम्बरसम्ममा थप ३० वटा गोबरग्याँस निर्माण गर्ने गरी काम भइरहेको छ।’ क्लबले प्रतिघर १ लाख ६० हजार रूपैयाँ लागतमा गोबरग्यास, शौचालय र खेती गर्नका लागि टनेललगायतको पूर्वाधार निर्माणका लागि खर्च गर्दै आइरहेको छ।

रोटरी क्लब अफ दरबारमार्गका प्रेसिडेन्ट इलेक्ट नारायण ढकालले क्लबले गाईभैंसी पाल्दै आएका घरमा मात्रै गोबरग्यास निर्माण गर्दै आइरहेको बताए। रोटरी क्लबको ग्लोबल ग्र्यान्ट र डिस्ट्रिक ग्र्यान्ट अनुसार यो परियोजना अघि बढाइएको हो। ‘जुन घरमा गाईबस्तु पालेका छन्। त्यस्ता घरमा मात्रै बायोग्यास निर्माण गरेका छौं,’ पौडेलले भने, ‘गोबरग्यासबाट निस्कने मलबाट तरकारी खेती गर्नका लागि टनेलको समेत व्यवस्था गरेका छौं।’ 

क्लबले भान्छाकोठा सरसफाइ र तरकारी तथा फलफूल खेतीमा समेत स्थानीय जनतालाई प्रोत्साहनमूलक काम गर्दै आइरहेको छ। दुगुनागढीमा रहेका २ सय २२ घरधुरीमध्ये इको हिमालले सन् २०२१ को जनवरीदेखि खानेपानी र सरसफाइको काम गर्दै आइरहेको छ।

इको हिमालले अहिलेसम्म १ सय ८३ घरधुरीमा खानेपानी धारा पुर्‍याइसकेको छ। संस्थागत स्कुल गुम्बामा समेत धारा निर्माणको काम गरेको थियो। सोही संस्थाले सोही क्षेत्रमा रहेका करिब १ सय ४० घरधुरीमा शौचालय र बाथरुम निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: १ माघ २०७८ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App