५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कोभिडले थलिएको जुम्लाको पर्यटन क्षेत्र

कोरोना महामारीका कारण कर्णालीको पर्यटन क्षेत्र खस्कँदै गएको छ। पछिल्लो समयमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन निकै कम छ। सुर्खेत कालिकोट हँुदै नाग्म गमगडी सडकबाट आवतजावत गर्ने पर्यटक संख्या निकै घटेको हो।

पहिले एकैदिनमा ५० देखि एक सयसम्म पर्यटक गाडी आवतजावत गरिरहेका हुन्थे। अहिले दिनमा पाँचदेखि सात वटा गाडीमात्र गुड्छन्।

मुगुको रारा हुँदै जुम्लाको चन्ददननाथ मन्दिर अवलोकन गर्ने पर्यटकको संख्या निकै न्यून रहेको तथ्यांकले देखाएको छ। चन्दननाथ मन्दिर कर्णालीको धार्मिक पर्यटनको गन्तव्य हो। बढ्दो कोरोना र चिसोका कारण बाह्य पर्यटकको संख्या निकै कम भएपछि पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए।

उनका अनुसार चालू आर्थिक वर्षमा ५ सय ३० जना पर्यटकले मात्र चन्दननाथ भैरवनाथ मन्दिरको अवलोकन गरेका छन्। यो पटक पर्यटक नआउने भएकोले व्यवस्थित लिष्ट राख्न सकिएको छैन। उनले भने, ‘कोरोना महामारीले चर्को रुप लिँदै आएको पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न सकेका छैनन्। जसले कर्णालीको पर्यटन क्षेत्र धरापमा छ।’

चन्दननाथ गुठी समितिको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७/०७७ झण्डै १० हजार पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन गरेका थिए। आर्थिक वर्ष २०७७/०७८ मा २० हजारभन्दा बढी पर्यटकले दर्शन गरे। तर कोरोना महामारीको कालमा पर्यटक आउने वातावरण नै बनेन। कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका थिए। कर्णाली पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिएको थियो।

यहाँ आउने पर्यटकले चन्दननाथ मन्दिरको इतिहासबारे बुझ्ने, मन्दिरमा दर्शन गरे मनोआकांक्षा पूरा हुने र थेसिस गर्ने लगायतका कारणले अवलोकन गर्ने गरेको गुठी समितिका सचिव जीतबहादुर महतले जानकारी दिए।

उनले भने, ‘कर्णाली पर्यटकीय हिसाबमा निकै पूर्ण छ। तर बेलाबखतमा आउने महामारीका कारण पर्यटन क्षेत्र माथि आउन सकेको छैन। कर्णालीले आफ्नो सुन्दरता र महत्व झल्काउन पाएको छैन।’

वर्षायाममा हिलो र हिउँदमा हिमपातका कारण कर्णाली राजमार्गमा यात्रा सहज छैन। हवाई सेवा नियमित छैन। उनले भने, ‘जुम्लाको सुन्दरता जुम्लामै सीमित हुन पुगेको छ। जिल्ला प्रशासन कर्यालयको सुझावका आधारमा मन्दिरमा आउने पर्यटकको रेकर्ड राख्ने गरिएको छ। गुठी समितिको कार्यालयका सुब्बा रत्नप्रसाद आचार्य कोरोनाले जनजीवन चौपट भएको बताउँछन्।

कतिपय पर्यटकले जुम्लाको मनोरम दृश्य अवलोकन गरेर रमाउँछन्। केही पर्यटक १४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरको बारेमा चासो राख्दछन्। उनले भने, ‘ऐतिहासिक महत्व र सुन्दरताको हिसाबले जुम्ला निकै अग्रभागमा छ। कर्णालीको तत्कालिन सदरमुकामसमेत रहेको जुम्ला खलंगामा आउने पर्यटकले जुम्लामै परीक्षण भएर विस्तार भएको कालीमार्सी धान, सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जीउलो, पहिलो पटक मार्सीधान परीक्षण गरिएको तातोपानीस्थित गुरुफोक्टो र मार्सीधानको खेती प्रारम्भ गर्ने चन्दननाथ बाबाको बारेमा समेत पर्यटकको ध्यान केन्द्रीत हुन्छ।

यहाँको चन्ददनाथ मन्दिरमा दैलेख जिल्लाको महावै जगन्नाथ मन्दिरबा ल्याएको दियो वर्षभरी बलिरहन्छ। त्यो दियो निभेको खण्डमा अशुभ हुने मान्यता छ।

प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन दैलेख जाने र त्यहाँबाट नयाँ दियो ल्याउने चलन छ। समितिका सुब्बा आचार्य जुम्लामा पर्यटन आकर्षण गर्ने महत्वपूर्ण कडि भनेको चन्दननाथ मन्दिर भएको बताउँछन्।  

पर्यटक आवागमन कम हुँदै गएपछि मन्दिरमा भेटी चढाउनेको संख्यामा समेत कमी आएको छ। चलू आर्थिक वर्षमा पर्यटकले चढाएको भेटी स्वरुप ३ लाख ३ हजार ८ सय ३० रुपैयाँ संकलन भएको छ।

बाह्यभन्दा आन्तरिक पर्यटकले यो मन्दिरको अवलोकन गर्छन्, तर आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटकले दक्षिणा बढी चढाउँछन्। आन्तरिक पर्यटकले न्युनत्तम ५ देखि अधिकतम १० रुपैयाँसम्म भेटी चढाउने गरेकोमा बाह्य पर्यटकले भने ५० रुपैयाँदेखि ५ सयभन्दा बढी दक्षिणा दिने गरेका छन्।

जुम्लामा आउने मन्त्रीदेखि प्रधानमन्त्री, सरकारी अधिकारीदेखि सुरक्षाकर्मी, सर्वसाधारणदेखि सामाजिक अभियन्ता सम्मले दर्शन अवलोकन गर्ने गरेका छन्।

प्रकाशित: २८ पुस २०७८ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App