१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘प्रदेशहरूबीच लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। लमजुङ उद्योग वाणिज्य संघको ३५औं साधारणसभाको अवसरमा सोमबार ढकालले प्रदेशबीच लगानीमैत्री नीतिनियम तर्जुमा गर्दै लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्ने बताए।

हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उनको भनाइ छ। सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीतिनियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताए।

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा स्रोतसाधनको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा उपस्थित कार्यक्रममा उनले यस प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्नसक्ने बताए। पर्यटनसँगै कृषि, जलविद्युत्लगायत क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको उनको भनाइ छ।

उचित नीतिको अभावका कारण व्यवसायीलाई उत्प्रेरित गर्न नसकेको स्मरण गर्दै ढकालले त्यसका निम्ति पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए। मुलुकका हरेक क्षेत्रमा जाँदा पर्यटनमा केही गरौं भन्ने स्थानीय तहका प्रमुखले आग्रह गर्ने गरेको स्मरण गराए। आफूहरू जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यक्रममा जाँदा लगानीका सम्भावनाहरूको खोजी गर्ने गरेको र महासंघका अन्य सदस्यहरूलाई सहकार्यमा लगानीका लागि आग्रह गरिरहेको कार्यक्रममा ढकालले जानकारी दिए।

लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी दिए। लमजुङमै बैंकिङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको धारणा राखे।

प्रकाशित: २७ पुस २०७८ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App