२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

नेपालका अधिकांश निर्माण व्यवसायी मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा परेका छन्। आन्तरिक राजस्व कार्यालय, बानेश्वरले आइतबार नेपालका ९६ वटा निर्माण व्यवसायीले भ्याट छली गरेको भन्दै सूची सार्वजनिक गरेको हो।

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्। क, ख र ग वर्गमा वर्गीकृत व्यवसायीमध्ये अधिंकाश भ्याट छलीमा परेका हुन्। विगतमा पनि निर्माण व्यवसायीलाई भ्याट छलीको आरोप लाग्दै आएको थियो। अध्यक्ष सिंहको डाँफे कन्सट्रक्सन कम्पनी प्रालि र महादेव खिम्ती निर्माण सेवाले ३७ लाख २८ हजार १५ रूपैयाँ भ्याट नतिरेको सरकारले सार्वजनिक गरेको सूचीमा देखिएको छ।

त्यसैगरी सुकुन्तलाल हिराचनको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले समेत १ करोड ४० लाख ९९ सय हजार रूपैयाँ भ्याट छली गरेको आन्तरिक राजस्वले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। कार्यालयका अनुसार सनलाइट मल्टिपर्पाेज प्रालिले १३ करोड १ लाख ५३ हजार रूपैयाँ भ्याट छली गरेको छ। लामा बिल्डर्स/बाम्ती जेभीले ५ करोड ९० लाख रूपैयाँ, कनटेक–कान्छाराम–कोसी एन्ड न्यौपाने जेभीले एक करोड ३७ लाख रूपैयाँ भ्याट छली गरेको छ।

कार्यालयले सात दिनभित्रै बक्यौता सम्बन्धित कार्यालयमा आएर भुक्तानी गर्न निर्देशन दिएको छ। कार्यालयले तोकिएको समयभित्रै करदाताले तिर्नुपर्ने बक्यौता रकम दाखिला नगरेको खण्डमा मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा २१ को उपदफा १ मा उल्लिखित प्रक्रिया अपनाएर उक्त मूल्य अभिवृद्धि कर असुलउपर गरिने जनाएको छ।

महासंघका अध्यक्ष रवि सिंहले कतिपय निर्माण व्यवसायीले समयमै भुक्तानी नगरेकाले, इ–टिडिएस (अनलाइन) अनुसार भुक्तानी नगरेकाले मूल्य अभिवृद्धि कर नतिरेको भन्दै सूची सार्वजनिक भएको बताए। ‘केही निर्माण व्यवसायीले विगत ८–१० वर्षदेखि मूल्य अभिवृद्धि कर नतिरेकाले पनि सूची सार्वजनिक भएको अवस्था छ,’ उनले भने, ‘कतिपयले इ–टिडिएस मार्फत तिर्नुपर्नेमा म्यानुअल सिस्टमले तिर्दा पनि बक्यौताको समस्या देखिएको हो।’

अध्यक्ष सिंहले बक्यौता रकमको जरिवाना र ब्याज लाग्दा धेरै समस्या हुने गरेको बताए। महासंघका महासचिव रोशन दाहालले गत वर्ष नेपाल सरकारले १३ प्रतिशत भ्याटमध्ये साढे ६ प्रतिशत सम्बन्धित कार्यालयले नबुझाएको कारणले बक्यौता देखिएको दाबी गरे। ‘सम्बन्धित कार्यालयले भ्याट बापतको साढे ६ प्रतिशत आफैंले भुक्तानी गर्ने प्रावधान राखिएको थियो। तर सम्बन्धित कार्यालयले सो भुक्तानी नगर्दा यो समस्या देखिएको हो।’

यस्तै अर्को राजस्व कार्यालय पुतलीसडकले पनि आइतबार सार्वजनिक सूचना जारी गरेर मूल्य अभिवृद्धिकर बक्यौता १५ दिनभित्र दाखिला गर्न अनुरोध गरेको छ। कार्यालयले २ सय ५६ वटा कम्पनीले भ्याट नतिरेको भन्दै सूची सार्वजनिक गरेको छ। कार्यालयले भ्याट दाखिला गर्न नपर्ने भएमा आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा पेस गर्न अनुरोध गरेको छ।

कार्यालयले समयमै मूल्य अभिवृद्धि कर बक्यौता नतिर्नेको सूची सार्वजनिक गरेको हो। कार्यालयका अनुसार ५ लाखभन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता भएका करदातालाई विभिन्न मितिमा कार्यालयबाट पत्राचार, टेलिफोन, भ्रमण समेतबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि नटेरेपछि सूची सार्वजनिक गरिएको हो।

प्रकाशित: २६ पुस २०७८ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App