१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेसँगै धेरै उपसमूहका परिसूचक बढेका छन्। कारोबार भएका १३ मध्ये म्युचुअल फन्डको बाहेक सबै उपसमूहको परिसूचक बढेको हो। यसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको हो। यस्तै निर्जीवन बिमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३.४२ प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार जीवन बिमा, लघुवित्त, लगानी र अन्य उपसमूहका परिसूचकहरू २ प्रतिशतभन्दा धेरैले बढेका छन्। होटल, बैंकिङ, पर्यटन र जलविद्युत् उपसमूहका परिसूचकहरू १ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

आइतबार सबैभन्दा धेरै हिमालय डिस्टिलरीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्नेमा मध्यभोटेकोसी र सूर्या लाइफ इन्स्योरेन्स छन्। मध्य भोटेकोसीको सेयर मूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशतले बढेको हो। सेयर मूल्य सबैभन्दा धेरै घट्नेमा गोर्खाज फाइनान्स बनेको छ। यसको मूल्य ५.१२ प्रतिशतले घटेको हो।

स्टकका अनुसार आइतबार ४ अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यसका लागि २ सय ४० कम्पनीका ७१ लाख ६० हजार सेयर किनबेच भएका छन्। आइतबार सबैभन्दा धेरै हिमालय डिस्टिलरीको सेयर कारोबार भएको छ। यो कम्पनीको ४४ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै, नबिल बैंकको २९ करोड ७० लाख ४९ हजार, शिवम् सिमेन्टको २३ करोड ४९ लाख ८१ हजार, नेपाल बंगलादेश बैंकको १८ करोड ९२ लाख १५ हजार र अपि पावर कम्पनीको १७ करोड ३७ लाख ७ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: १९ पुस २०७८ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App