१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सधैं मारमा उखु किसान

मिल मालिकले बेलैमा भुक्तानी नदिँदा ऋणको भारी बोक्नुपर्ने बाध्यता

फाइल तस्बिर

विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।  

यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो। उखु बेचेको भुक्तानी माग गर्दै उनी गत वर्षको मंसिर ३० गते काठमाडौं पुगेका थिए। आन्दोलन मंसिर २८ गतेबाट सुरु भएको थियो। सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उनी कृष्णभक्त थिए। बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको रुपैयाँ नपाउँदा चिन्तित थिए। बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो। उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्‍यो। उनले रुपैयाँ पाएनन्। त्यही उधारो सम्झौता यादवको मृत्युको एउटा कारण बन्न पुग्यो।  

यादवका जेठा छोरा सियारामले नागरिकसँग भने, ‘बुवाको मृत्युको कारक मिल मालिक र सरकार हुन्।’ १९ जनाको परिवारमा नारायण ‘खम्बा’ थिए। परिवारको खम्बा नै ढलिसकेपछि घरव्यवहार पनि अस्तव्यस्त बनेको छ। जसोतसो परिवारको गुजारा भने चलिरहेको छ।  

तर, अन्याय गर्नेहरू मोजमस्ती गरिरहेका छन्। रकम भुक्तानीका लागि सरकार पुकार्नुपर्ने उखु किसानको नियति बनेको छ। ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो,’ सियाराम भन्छन्, ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो? मिल मालिकले किसानसँग उधारोमा उखु लिन्छन् अनि नगदमा चिनी बेच्छन्। हाम्रो पैसा दिन भने वर्षौं लगाउँछन्। ऋणको भारीले थिचिँदै गएपछि हामीसँग मर्नुबाहेक विकल्प रहन्छ र?’ उनले बुवाको मृत्युको मुख्य कारक मिल मालिक र सरकार रहेको दोहो¥याए।  

उखुको रकम भुक्तानीका लागि पुसको ठिहीसमेत पर्वाह नगरी काठमाडौं गएर पनि रित्तो हात फर्किनुपर्दाको पीडा खप्न नसकेर प्राण त्यागेका नारायण उदाहरण मात्र हुन्। उनी जस्ता कैयन् उखु किसान बाँचेर पनि मरेतुल्य छन्। उखु किसानले न व्यापारीसँग पेस्की खोजेका हुन् न सरकारसँग अतिरिक्त अनुदान मागेका हुन्। उखुको बेचेको रकम समयमै भुक्तानी होस् भन्ने उनीहरूको माग हो। उखुको समर्थन मूल्य समयमै निर्धारण गरियोस् भन्दै सरकार पुकार्न उखु किसान बर्सेनि काठमाडौं पुग्छन्।  

आफ्नै बाली बेचेको रकम भुक्तानीको माग राखेर उखु किसानहरू पटकपटक संघीय राजधानी धाउन बाध्य हुँदै आएको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्। स्थानीय स्तरमै व्यापारीलाई अनुरोध गर्दा, प्रमुख जिल्ला अधिकारी र दलका नेताहरूलाई गुहार्दा सुनुवाइ नभएपछि काठमाडौं पुगेर देशका कार्यकारी प्रमुख पुकार्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उखु किसान पिरोलिएका छन्।  

सुन्दा पनि अनौठो लाग्ने, कृषिप्रधान देशमा नगदे बालीमध्येको एक उखु उत्पादन गरी बेचेकै पैसा उठाउन पनि किसान निरन्तर आन्दोलित हुनुपरेको छ। किसान आन्दोलित भए पनि समस्या जस्ताको तस्तै छ। पेसाको स्तरोन्नति, बजार प्रवर्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा हो, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि बेलामा पाउन सकेका छैनन्। स्वदेशका उखु किसानलाई रकम भुक्तानीका लागि झुलाउने चिनी मिल सञ्चालकहरू भारतीय किसानबाट अवैध रूपमा उखु किनेर हाकाहाकी भित्र्याइरहेका छन्। प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा भारतबाट दैनिक हजारौं क्विन्टल उखु नेपालतर्फ तस्करी भइरहेको पाइएको छ।

अवैध रूपमा भारतबाट उखु भित्र्याउन चिनी उद्योगीले सीमा क्षेत्रमा दुई दर्जनजति उखु जोख्ने काँटा (तौल मेसिन) राखेका छन्। सर्लाहीको बलरा तथा फेनहाराको दसगजा क्षेत्रमा यस्ता काँटा राखिएका छन्।  

साँझ ६ बजेपछि भारतीय एसएसबीको ड्युटी परिवर्तन हुँदा खाली हुने समयको फाइदा उठाउँदै पारिबाट उखु बोकेका ट्याक्टर वारि आउँछन्। अनि हतारहतार उखु झारेर फर्किन्छन्। सिमानामा खटिने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलेमतोमा भारतबाट दैनिक भित्रिने उखुले नेपाली किसान थप मारमा परेका छन्। भारतबाट आएको उखु सर्लाहीको इन्दुशंकर सुगर मिल्स हरिवन, एभरेस्ट चिनी मिल्स गौशाला तथा रौतहटको पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिल्समा पुग्ने गरेको स्थानीय उखु किसान बताउँछन्।  

काँटा सञ्चालन गर्नुअघि नापतौल विभागबाट जाँचपास गरी सिल लगाएर उखु लैजानुपर्ने कानुनी प्रावधान रहेको भए पनि सर्लाही प्रशासनको मिलेमतोमा चिनी उद्योगहरूले बिचौलियामार्फत सोझै भारतीय उखु मिलसम्म पुर्‍याउने गरेको किसान बताउँछन्। सर्लाही लक्ष्मीपुरमा राजेश ठाकुर, सुदामा अम्बु चौधरी, सिरकटा नाकामा ओकिह अहमद, सन्तोष सिंह, लक्ष्मीनाराण सिंहलगायत बिचौलियाको सहयोगमा भारतीय उखु अवैध रूपमा नेपाली चिनी उद्योगसम्म पुगिरहेको बलराका दिनेश सिंह बताउँछन्।  

राजु सिंहका अनुसार नेपाली किसानको उखु खेतमै सुक्न थालिसकेको छ तर चिनी मिलले भारतबाट अवैध रूपमा भित्र्याउँदैछन्। भारतीय उखु प्रतिक्विन्टल चार सय रुपैयाँमा बिचौलियाले खरिद गर्ने किसान बताउँछन्। सिमानामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई प्रतिट्याक्टर पाँच सय रुपैयाँका दरले रकम दिएपछि नेपाली सुरक्षाकर्मीले सजिलै काँटासम्म ट्याक्टर आउन दिने गरेको स्थानीय बताउँछन्। स्थानीय राजेश सिंहले भारतबाट टायरगाडामा उखु ल्याउँदा नेपाली सुरक्षाकर्मीलाई प्रतिटायरगाडा एक सय रुपैयाँ बुझाउनुपरिरहेको बताएका छन्।  

इन्दुशंकर चिनी उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले आफ्नो उद्योगले दसगजा क्षेत्रमा उखु किन्ने काँटा नराखेको र भारतबाट उखु नकिनेको दाबी गरेका छन्।  

केही समय पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनका महानिरीक्षक सर्लाही आएका बेला तस्करीमा शून्य सहनशीलता अपनाउन दिएको निर्देशनलाई यहाँका प्रहरी प्रमुखले बेवास्ता गर्दैै तस्करीलाई बढाबा दिएका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भारतबाट भइरहेको उखु तस्करीको विषयमा अनभिज्ञता प्रकट गरे। भारतबाट अवैध रूपमा उखु ल्याउन सुरक्षा निकायलाई निर्देशन दिने प्रजिअ गौतमले बताए। अहिले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ छ। गत वर्ष प्रतिक्विन्टल मूल्य ४७९ रुपयाँ तोकिएको थियो। त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने गरेको छ।

प्रकाशित: १८ पुस २०७८ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App