coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

२३ औं पोखरा सडक महोत्सवको उद्घाटनपछि सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँण । तस्बिर: उमेश पुन/नागरिक

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।

‘पर्यटकीय क्षेत्र २४ सै घण्टा खुलोस भन्ने चाहन्छौं। त्यसको लागि स्थानीयको सहयोग चाहिन्छ,’ २३ औं पोखरा सडक महोत्सवको उदघाटन गर्दै गृहमन्त्री खाँणले भने, ‘चौबिसै घण्टा व्यवसाय खोल्दा निद्राका रोगीले हामीलाई असर पुग्यो भनेर आउँछन्, त्यसको लागि स्थानीयको सहयोगको आवश्यक पर्छ।’ उनले पोखराबाटै पर्यटकीय क्षेत्र २४ सै घण्टा शुरु होस भन्दै सहयोगको अपेक्षा गरेको बताए। ठूलो साउण्ड बजाउँदा आसपासका छिमेकीलाई असर पर्ने भएकोले त्यसमा भने हेक्का राख्नुपर्ने उनले बताए।

रातभर पर्यटकीय क्षेत्र खुला राख्ने विषयमा गृहमन्त्री खाँणले निश्चित ठाँउलाई ट्रायल फेजमा शुरु गर्न समेत आग्रह गरे। ‘पोखराबाटै २४ सै घण्टा सेवा शुरु होस,’ उनले भने, ‘ निदै गायब पार्यो भन्ने नहोस, कहाँ कहाँ चलाउने ठाउँ छनोट गर्नोस, सरकार सहयोग गर्न तयार छ।’ ट्रायलकै लागि शुरु गर्न प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई तत्कालै स्थानीयलाई बैठक बोलाउन मन्त्री खाँणले निर्देशन दिए। ‘सिडियो साब बैठक बोलाउनुस। ठाउँ तोक्नुस। ट्रायल फेजमा पर्यटकीय क्षेत्र २४ सै घण्टा सेवा शुरु होस,’ उनको भनाई थियो। सरकार लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा रहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेण्ट खोल्न प्रहरी प्रशासनले सहयोगी भूमिका खेल्ने स्पष्ट पारे।  

उनले होटल तथा रेष्टुरेण्टमा ग्राहक अगाडिको ढोकाबाट छिरेर पछाडीको ढोकाबाट निस्कनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘प्रहरी प्रशासन होटल तथा रेष्टुरेण्ट बन्द गर्न जाने होईन। अगाडिबाट छिरेर पछाडीको ढोकाबाट निस्कने बातावरण बनाउनुहुँदैन्,’ मन्त्री खाँणले भने, ‘प्रहरी पुग्नुस तर कर्मचारी, ग्राहकलाई अप्ठ्यारो परेको अवस्थामा सहयोगी भूमिका खेल्नुस, जबर्जस्ती बन्द नगर्नुस।’

गृहमन्त्री खाँणले पोखराको फेवासहितका अन्य ताल संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए। ‘फेवाताल संरक्षण गर्न बुझाइएको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तयार छ,’ उनले भने, ‘कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार र संवेदनसील बनोस।’ गृहमन्त्री खाँणले मञ्चमा बसेर भाषण मात्रै दिएर ताल संरक्षण नहुने भन्दै कार्यान्वयन गर्न मञ्चमै बसेकाको सहयोग हुनुपर्ने बताए। पोखरालाई सदैव शान्त र सुन्दर रहन दिनुपर्ने भन्दै गृहमन्त्री खाँणको भनाई थियो।  

काेरोनाले अर्थतन्त्र धिमा गतिमा रहेको बताउँदै गृहमन्त्री खाँणले जोखिममा रहेको उद्योगी व्यवसायी, कर्मचारी, मजदुरलाई कसरी बचाउने सरकारको दायित्व भएको जिकिर गरे। सर्वसाधारणको आम्दानी घट्यो भने सरकारको पनि आम्दानी घट्छ भन्दै मन्त्री खाँणले जोखिमबाट बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै पर्यटकीय राजधानी बनाउन बुँदा संकलनमा जुटेको बताए। ‘पोखरालाई पर्यटकीय राजधानी बनाउन बुँदा संकलनमा जुटेका छौं,’ उनले भने, ‘त्यसको लागि तपाइहरुको राय सल्लाह सुझावको खाँचो छ।’ मन्त्री शर्माले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटकको आगमन वृद्धि हुने विश्वास व्यक्त गरे। उनले विमानस्थल सञ्चालनसँगै महानगरपालिकालाई फोहोर व्यवस्थापन छिटो गर्न समेत आग्रह गरेका छन्।

बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिन चल्नेछ। पोखरामा आन्तरिक पर्यटक प्रवर्द्धन गर्नका लागि रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)पोखराले सडक महोत्सव  गरेको हो। महोत्सवको यो २३ औं संस्करण हो। महोत्सवले कोरोना संक्रमणको मारमा परेको पर्यटक क्षेत्रलाई उकास्नेमा आफूहरु आशावादी बनेको रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए।

महोत्सव संयोजक नरेश भट्टराईले तीनदिने महोत्सवले यो अवधिमा मात्र नभई महोत्सवपछिका दिनमा पनि पोखरामा पर्यटक आगमन बढाउने सहयोग गर्ने बताए।

प्रकाशित: १५ पुस २०७८ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App