२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्वाधार निर्माणमा हेलचेक्‍य्राइँः पर्याप्त सुरक्षा सावधानी नअपनाउँदा दुर्घटना

पूर्वाधार निर्माणमा दुर्घटना अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीनलगायतका विकसित मुलकमा पनि हुन्छन्। त्यहाँ पूर्वाधार निर्माण गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुन्छन्। तर नेपालमा भने पर्याप्त मात्रामा सुुरक्षा सावधानी नअपनाउँदा र हेलचक्र्याइँका कारण निर्माणाधीन आयोजनामा बारम्बार दुर्घटना हुने गरेको देखिन्छ। यस्ता दुर्घटनामा दक्ष प्राविधिक र सामान्य मजदुरसमेतको ज्यान जाने गरेको छ।

सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटनामा परी आइतबार दुई इन्जिनियरको ज्यान गएको छ। दुर्घटनामा २६ वर्षीय इन्जिनियर सुवासराज रेग्मी र २९ वर्षीय इन्जिनियर अर्जुन थापाको ज्यान गयो। सोही दुर्घटनामा मोहम्मद राइन घाइते भए। अहिले उनको काठमाडौंमा उपचार भइरहेको छ।

साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले वर्कसपमा पेनस्टक पाइप परीक्षण क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको मृत्यु भएको बताए। ‘वर्कसप डोममा पेनस्टक पाइप फिटिङ गरेर पानी परीक्षण गरिरहेका थियौं,’ उनले भने, ‘पानीको प्रेसर जाँच गर्ने क्रममा एक्कासि डोमको जोइन्ट चुँडिएर दुखद दुर्घटना भएको हो।’

अध्यक्ष पाठकले के कारणले यस्तो दुर्घटना भयो भनेर अहिलेसम्म थाहा हुन नसकेको बताए। ‘के कारणले दुर्घटना भयो भनेर भन्न सकिने अवस्था छैन। हामी यही घटनामै रुमल्लिएका छौं’, उनले भने, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो दुर्घटनाको अध्ययन गर्न प्राविधिक विज्ञसहितको समिति गठन गरेको छ। समितिले छानबिन गरेपछि वास्तविक कुरा बाहिर आउनेछ ।’ उनले सुरक्षाका सबै मापदण्ड अपनाएर पेनस्टक पाइपको परीक्षण थालेको दाबी गरेका छन्।

निर्माणाधीन आयोजनामा दुर्घटनामा परेर दुई इन्जिनियरले ज्यान गुमाएको पहिलो घटना भने होइन। यसअघि २०७७ असार ३० गते पनि मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण क्रममा इन्जिनियर सतिश गोइतको ज्यान गएको थियो। सुरुङ भत्किएपछि तीव्र वेगको पानीले बगाएर बेपत्ता भएका आयोजनाका चालक राधाकृष्ण थापाको अवस्था अझै खुल्न सकेको छैन।

त्यस्तै २०७५ फागुन ९ गते वीर अस्पतालको सर्जिकल भवनको सामान ओसार्ने लिफ्ट चुडिँदा नवीनकुमार र भूमिकुमार चौधरीको ज्यान गएको थियो। पाइपलाइन खन्ने तथा बिछ्याउने क्रममा २०७४ असार ३० गते काठमाडौंको सीतापाइलामा माटोले पुरिएर तीन कामदारको ज्यान गएको थियो। ज्यान गुमाउनेमा सप्तरीका सन्तोष दास, श्यामसुन्दर राम र पर्वतका तेजप्रसाद केसी थिए।

पछिल्लो समय पूर्वाधार निर्माणमा गम्भीर प्रकृतिका दुर्घटना दोहोरिरहेका छन्। निर्माण कम्पनीको लापरबाही या प्राविधिक त्रुटि कारण जे भए पनि निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर र मजदूर असुरक्षित देखिन थालेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्वसचिव सुमनप्रसाद शर्मा निर्माणाधीन आयोजनामा न्यूनतम सुरक्षा सावधानीसमेत नअपनाउँदा गम्भीर प्रकृतिका दुर्घटना भइरहेको बताउँछन्। ‘हरेक दुर्घटनाको पछाडि फरक–फरक कारण हुन्छन्। तर हाम्रो पूर्वाधार निर्माण क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई धेरै हदसम्मै हेलचक्र्याइँ गरिन्छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले खर्च बढ्ने देखेर सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दैनन्। कार्यरत प्राविधिक र मजदुरले पनि सुरक्षा सावधानीमा ध्यान दिँदैनन्।

यिनै दुई कारणले गर्दा गम्भीर प्रकृतिका दुर्घटना भइरहन्छन्।’ पूर्वसचिव शर्माले कुनै पनि आयोजनाको ठेक्का सम्झौतामा पर्याप्त मात्रामा सुरक्षा मापदण्डको विषय राखिए पनि कार्यान्वयन नहुँदा समस्या आएको बताए। निर्माणाधीन आयोजनामा कार्यरत इन्जिनियर तथा मजदुरले बुट, हेलमेट, गियर, हार्नेस, नेटजालीलगायतका सेफ्टीका साधन प्रयोग गर्नुपर्ने हुन्छ तर सुरक्षा प्रोटोकल पर्याप्त मात्रामा कार्यान्वयनमा ल्याएको पाइँदैन।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पर्याप्त मात्रामा सुरक्षा सावधानी अपनाएर कुनै पनि आयोजनाको निर्माण तथा परीक्षण गर्नुपर्ने बताउँछन्। ‘जुनसुकै आयोजना पनि परीक्षण गर्दा उच्च जोखिम हुन्छ। त्यसैले पर्याप्त सावधानी अपनाएर र सुरक्षित भएर काम गर्नुपर्ने हुन्छ,’ उनले भने,‘पर्याप्त मात्रामा सुक्षा प्रोटोकल अपनाएको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिन्छ। तर जोखिम हटाउन भने सकिँदैन।’ महासंघले निर्माण क्षेत्रमा खटिने इन्जिनियर तथा मजदुरको पेसागत, स्वास्थ्य र सुरक्षाको विषयमा आवाज उठाउँदै आइरहेको उनले बताए ।

जलविद्युत् आयोजनामा कार्यरत एक सिनियर इन्जिनियरका अनुसार ठूला परियोजना परीक्षणमा पर्याप्त सुरक्षाका उपाय अवलम्बन नगर्दा गम्भीर प्रकृतिका दुर्घटना भएका हुन्, दोहोरिएका पनि छन्। ‘जलविद्युत् आयोजना परीक्षण निकै जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति गरेर मात्रै परीक्षणको काम गर्नुपर्छ। त्यस्तो नभए दुर्घटना हुन्छ।’

छानबिन समिति गठन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप जडान परीक्षण क्रममा भएको दुर्घटनाको कारण पत्ता लगाउन मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन समिति गठन गरिएको बताए। ‘दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई भविष्यमा यस किसिमका दुर्घटना नदोहोरिने व्यवस्थाका लागि सुझावसहित प्रतिवेदन पेस गर्न छानबिन समितिलाई कार्यादेश छ,’ उनले भने।

प्रकाशित: १४ पुस २०७८ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App