५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

चार महिनामा विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्‍यो

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) को चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावट घटाएर १४.३५ प्रतिशत गरेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आवमा १७.१८ प्रतिशत रहेको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत बिन्दुले घटाएर १४.३५ प्रतिशत कायम गरेको छ।

कात्तिकसम्ममा प्रणालीको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ। बाँकी प्रसारण तथा उत्पादनतर्फको हो। गत वर्ष कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो। गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो।

प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो। तर आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो।

कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए। उद्योगहरूमा विद्युत् आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालु आवको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम गरेको उनले बताए।

‘गैरप्राविधिक चुहावट नियन्त्रण गर्न चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ,’ उनले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासन लगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भयौं ।’ काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाएर चालु आवको लक्ष्य हासिल गरिने बताए।

प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नेछ।

प्रकाशित: १३ पुस २०७८ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App