२० आश्विन २०७९ बिहीबार
अर्थ

विदेश जाने युवाको लर्को

रेमिटेन्स बढ्ने संकेत

कोभिडले प्रभावित गत २ वर्षमा रेमिटेन्स घट्ने अनुमान सबैले गरे पनि उल्टै बढ्यो। चालु आवको सुरुदेखि भने रेमिटेन्स आय लगातार घटिरहेको छ। तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणा बढेकाले आगामी दिन रेमिटेन्स आफ्नै लयमा फर्कने संकेत देखिएको हो।  

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औषतमा ३ सय ५८ जना युवा विदेश गएका थिए। चालु वर्ष यो संख्या एक हजार २ सय ३ पुगेको छ। यो कात्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार दुई सय ९५ महिलासहित ५४ हजार नौ सय १८ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो वर्ष विदेश जानेको संख्या झन्डै कोभिडअगाडिको जस्तै छ।  

रेमिटेन्ससँग सरोकार राख्ने अधिकारीका अनुसार विदेश जाने युवाले गएको तीन महिनापछि धेरैथोरै रेमिटेन्स पठाउन सुरु गर्छन्। यही आधारमा अबका केही महिनापछि रेमिटेन्स आयमा फेरि सुधार आउने अपेक्षा गरिएको हो।

राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्टले वैदेशिक रोजगारीमा गएको व्यक्तिले तेस्रो महिनादेखि रेमिटेन्स पठाउन थाल्ने भएकाले अबको दुईतीन महिनापछि अहिलेको भन्दा बढी रेमिटेन्स आउने अपेक्षा गरिएको बताए। प्रवक्ता भट्टका अनुसार सबै पक्षको अध्ययन गर्दा यो वर्ष पनि गत वर्षकै हाराहारीमा रेमिटेन्स भित्रिने अनुमान गरिएको छ। यसका लागि हुन्डी नियन्त्रण, क्रिप्टोकरेन्सी तथा सुन आयातमा भने कडाइ गर्नुपर्छ।  

गभर्नर महाप्रसाद अधिकारी पनि आगामी दिनमा रेमिटेन्स बढ्नेमा आशावादी छन्। उनले बुधबार सञ्चारकर्मीसँग अहिले वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले आगामी दिनमा रेमिटेन्स बढ्ने अनुमान गरिएको जानकारी दिए। सामान्यतया कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएको तेस्रो महिनादेखि उसले रेमिटेन्स पठाउन थाल्छ। पहिलो र दोस्रो महिनाको कमाइ उसले आफ्नो व्यवस्थापनमा लगाउने र तेस्रो महिनादेखि केही न केही रकम पठाउन थाल्छ। विदेश गएर काम नपाएर समस्या पर्नेले भने पैसा पठाउन सक्दैनन्।  

रेमिटेन्स एसोसिएसनका पूर्वअध्यक्ष सुमन पोखरेलले रेमिटेन्स आय वृद्धिका लागि अनौपचारिक क्षेत्रबाट हुने कारोबारलाई रोक्न आवश्यक भएको बताए। ‘कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा गएको दुईतीन महिनापछि रेमिटेन्स पठाउन थाल्ने भए पनि अझै रेमिटेन्स आय वृद्धि हुन सकेको छैन,’ उनले बुधबार नागरिकसँग भने, ‘त्यसैले अनौपचारिक क्षेत्रबाट हुने कारोबारमा कडाइ गर्नुपर्ने देखिएको छ।’

यो वर्ष रेमिटेन्स घट्नुको प्रमुख २ वटा कारण रहेको बताइन्छ। पहिलो कारण कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा गएका नेपाली फर्कनु हो। कोरोना महामारीपछि विदेशमा रोजगारी गुमाएर घर फर्कनेको संख्या करिब ६ लाख रहेको सरकारी तथ्यांक छ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औषतमा ३ सय ५८ जना युवा विदेश गएका थिए। चालु वर्ष यो संख्या एक हजार २ सय ३ पुगेको छ।

यस्तै कोरोना कालमा विदेशमा जानेको संख्या घट्नुलाई दोस्रो कारण मानिएको छ। कोरोना महामारी सुरु हुनुअघि बर्सेनि पाँच लाख युवा श्रम स्वीकृति लिएर जाने गर्थे। महामारी सुरु भएको दुई वर्ष यो संख्या निकै घटेको थियो। गत वर्षभरमा विदेश जानेको संख्या एक लाख पचास हजार पनि पुगेन।  

चालु अािर्थक वर्षको साउनमा १३ हजार आठ सय युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए भने चौथो महिनासम्म आउँदा यो संख्या एक लाख ४४ हजारभन्दा माथि पुगेको छ। म्यानपावर व्यवसायीले चालु वर्ष कम्तीमा तीन लाख युवा वैदेशिक रोजगारीमा जाने अनुमान गरेका छन्। चालु आवका चार महिनामा रेमिटेन्स आय बढ्नुको सट्टा उल्टै ७.५ प्रतिशतले घटेको छ। रेमिटेन्स आय घट्दा अर्थतन्त्रका धेरै क्षेत्रमा असर देखिन सुरु गरिसकेको छ। मुलुकमा विभिन्न माध्यमबाट भित्रिने वैदेशिक मुद्रामध्ये सबैभन्दा ठूलो अंश रेमिटेन्सको छ। त्यसैले रेमिटेन्समा हुने उतारचढावले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्छ।  

रेमिटेन्स घट्दा अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ। गत वर्ष यो बेला १ खर्ब १० अर्बले बचतमा रहेको शोधनान्तर स्थिति अहिले एक खर्ब ५० अर्ब ३८ करोड रूपैयाँले घाटामा गएको छ। यस्तै गत वर्ष बचतमा रहेको चालु खाता पनि २ खर्ब २३ अर्ब रुपैयाँले घाटामा गएको छ। विदेशी सञ्चिति पनि चार महिनामा १ खर्ब ५५ अर्बले घटेको छ।

प्रकाशित: ८ पुस २०७८ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App