१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कहिले आउँला रेल?

तीन वर्ष पहिले भारतको बथनाहाबाट नेपाल आएको रेल। फाइल तस्बिरः नागरिक

भारतको बथनाहा-कटहरी रेलमार्ग निर्माण हुन थालेको करिब ८ वर्ष भइसकेको छ। बथनाहादेखि कटहरीसम्म रेलको लिक पनि बिछ्याइसकिएको छ। एकीकृत भन्सार चौकी (आइसीपी) भएको विराटनगर-१८ स्थित बुधनगरसम्मको रेलको लिक परीक्षण पनि गरिसकिएको छ। भारतको बथनाहाबाट रेल ल्याएर बुधनगर स्टेशनसम्मको लिक परीक्षण गरेको पनि ३ वर्ष बितिसकेको छ।

पूर्वाधार तयार भइसके पनि विराटनगरको बुधनगर स्थित स्टेशनसम्म रेल सञ्चालनमा आउन सकेको छैन। बुधनगर स्थित आइसीपीसम्म भारतको कलकत्ताबाट सिधा रेल सञ्चालनमा ल्याउन विराटनगरका उद्योगी व्यवसायीले बारम्बार माग गर्दै आएका छन्। तर, सरकारले भारतसँग पहल नगरेका कारण लिक परीक्षण गरेको तीन वर्ष बितिसके पनि अझैंसम्म रेल नेपाल आउन सकेको छैन।

विराटनगरको बुधनगरमा मालबाहक रेल ल्याउन पूर्वाधार निर्माणतर्फ पनि सरकारले ध्यान दिएको देखिँदैन। बुधनगरमा निर्माण भएको स्टेशन यात्रुबहाक रेलको लागि मात्रै हो। मालबाहक रेल ल्याउन अर्को स्टेशन निर्माण गर्नुपर्ने हुन्छ। माल लोड, अन लोडका लागि सिपिङलाई तयार पार्नुपर्ने, गोदामको व्यवस्था गर्नुपर्नेलगायतका कामहरू गर्नुपर्ने भए पनि सरकारले अझैंसम्म कुनै पनि काम गर्न चासो देखाएको छैन। यति मात्रै हैन कटहरीतर्फको रेल स्टेशन निर्माण गर्नसमेत सरकारले वास्ता गरेको छैन।

नेपाल सरकारले समयमै रेल मार्ग र स्टेशनको जग्गाको व्यवस्थापन गरेको भए ४ वर्ष पहिलै विराटनगरमा रेल आइसक्ने थियो। तर, सरकारले अझैंसम्म पनि कटहरीको रेल स्टेशनका लागि जग्गा अधिग्रहण गर्न सकिरहेको छैन। स्थानीयले मुआब्जा थोरै भएको भन्दै मुद्दा दायर गरेपछि कटहरी स्थित रेल स्टेशन निर्माणको काम ४ वर्षदेखि अवरुद्ध छ। बथानाहा-कटहरी रेल मार्ग भारत सरकारले सहयोगमा निर्माण  सुरू भएको थियो।

चार वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनाका साथ सुरू भएको रेलमार्ग नेपाल सरकारको उदासिनताले अलमलमा परिरहेको छ। यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि बढाउन नसकिएको जानकारी दिए। उनले भने, ‘केही जग्गा धनीले मुआब्जामा चित्त नबुझेर सर्वाेच्चमा मुद्दा दायर गरेको र सर्वोच्चले फैसला गरिनसकेकाले काम अघि बढ्न नसकेको हो।’

दाहालले काम अघि बढाउने विषयमा जग्गा धनिहरूसँग कुरा भइरहेको जानकारी दिए। मंसिर २८ गते पेशी तोकिएकाले सर्वाेच्चको फैसलापछि काम अघि बढ्ने दाहालले दाबी गरे। ‘धेरै वर्षदेखि काम अलमल भइरहेको छ, अब, चाँडै काम अघि बढाउँछौं।’

नेपाल सरकार जग्गाको मुआब्जामा अलमलिइरहेपनि भारतीय पक्ष भने काम चाँडो सक्न हतार गरिरहेको छ। भारतीय पक्षले पटकपटक कामदार र प्राविधिक नेपाल पठाएर काम थाल्ने तयारी गरे पनि नेपालतर्फबाट जग्गाको मुआब्जा विवाद देखाउँदै जग्गा उपलब्ध गराउन आनाकानी गरेपछि भारतीय पक्ष फर्कंदै आएको छ। तीन वर्ष यता पटकपटक भारतीय पक्षले रेल स्टेशन निर्माणका लागि आवश्यक जग्गा हस्तान्तरण गर्न नेपाल सरकारसँग आग्रह गर्दै आएको छ। तर, नेपाल सरकारले जग्गा उपलब्ध नगराउँदा ४ वर्षमा सम्पन्न हुने काम ८ वर्ष वितिसके पनि अझैं अधुरै छ।

यता विराटनगरका उद्योगी व्यवसायी रेल कटहरीसम्मको रेल मार्ग सञ्चालनमा आए भारतबाट हुने बस्तु ढुवानी आधा सस्तो पर्ने बताउँछन्। उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले स्थल मार्ग सबैभन्दा महंगो र झण्झटिलो रहे पनि नेपालका उद्योगी कच्चा पदार्थ आयातका लागि स्थल मार्ग नै प्रयोग गर्न बाध्य भएको बताउँछन्। नेपालसम्म रेलको लिक आए पनि रेल नआउँदा औद्योगिक कच्चा पदार्थ स्थलमार्गबाटै ढुवानी गर्न बाध्य भएको उनले बताए।

विकासको मेरुदण्ड औद्योगिक पूर्वाधार भएपनि सरकार औद्योगिक पूर्वाधार निर्माणमा उदासिन देखिएको प्याकुलले बताए। विराटनगरको आइसीपीसम्म रेलको लिग निर्माण भएको वर्षौं भइसके पनि अझै रेल आउने टुंगो नभएको बताए। ‘रेलको लिग आयो रेल कहिले आउँछ?’, उनको प्रश्न छ।निजी क्षेत्रले समय तोकेर काम गर्ने गरेको तर, सरकारले सँधै ढिलासुस्ती गर्नेगरेको उनको गुनासो छ। ढिलासुस्तीमा सरकार रमाइरहँदा विकासका पूर्वाधार निर्माणमा बाधा उत्पन्न भइरहेको उनले बताए।

बथनाह-बुधनगर मार्गमा साईड ठेकेदारका रुपमा काम गरिरहेको वागमती कन्स्ट्रक्सनका अनुसार बथनाहा–कटहरी रेल परियोजना १८ किलोमिटर लामो छ। समयमै नेपाल सरकारले जग्गा उपलब्ध गराएको भए ४ अर्ब रुपैयाँ लागतमै परियोजना सम्पन्न हुन्थो। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको रेलमार्गमा ४ वटा ट्याक छ।

रेल मार्गमा विछ्याइएको पटरी प्रति मिटर ६० किलो क्षमताको छ। रेल सेवा पूर्ण रुपमा सञ्चालनमा आएपछि बथनाहबाट बुधनगर आउन १५ मिनेट मात्रै लाग्ने प्राविधिकहरू बताउँछन्। भारतबाट विराटनगर आउने रेल मार्गमा मालबाहक रेल मात्रै सञ्चालनमा ल्याउने भनिए पनि परियोजनाले भने यात्रुबहाक रेल पनि सञ्चालनमा ल्याउनेगरी संरचना निर्माण भएको जनाएको छ। परियोजनाका अनुसार यात्रुबाहक रेल पनि सञ्चालन गर्नको लागि बुधनगर स्टेशनमा यात्रु प्रतिक्षालय लगाएतका संरचना निर्माण गरिएको छ।

हाल नेपाल आयात हुने अधिकाँश मालसामान कोलकत्ता बन्दर्गाहदेखि स्थल मार्गबाटै आउने गरेको छ। रेलबाट आयात गरिएका बस्तुहरू जोगवनी रेल स्टेशन साँघुरो भएका कारण बथनाहासम्म मात्रै ल्याउन सकिन्छ। त्यसपछि पुनः सडक मार्गबाटै सामान ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ। नेपालसम्म नै रेल आए ढुवानीमा देखिएका समस्या समाधान हुनुकासाथै ढुवानी लागत पनि कम हुने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए।

उनका अनुसार मालबाहक रेल नेपालसम्म आए ढुवानी भाडा ५० प्रतिशत सस्तो हुने छ। नेपालसम्मको रेल मार्ग सञ्चालनमा आए विराटनगरलगायत पूर्वको उद्योग व्यापार क्षेत्र फष्टाउने उद्योगी व्यवसायीको दाबी छ।

प्रकाशित: २६ मंसिर २०७८ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App