३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा छः मन्त्री आले

फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आलेले विराटनगर, निजगढ र धनगडी विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

अघिल्लो सरकारले विराटनगर विमानस्थल विस्तारका लागि बजेट व्यवस्था नगरेपनि यो सरकारले बजेटको व्यवस्था गरेर काम अघि बढाउने तयारी गरिरहेको आलेले बताए। आलेले सोमबार बस्ने नागरिक उड्डयन प्राधिकरणको बैठकपछि कति बजेट उपलब्ध गराउने भन्ने टुंगो लाग्ने जानकारी दिए।

उनले भने, ‘विराटनगर विमानस्थल विस्तारलाई सरकारले प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न लागेको छ।’ आलेले विराटनगर विमानस्थल विस्तारका लागि रोक्का भएको जग्गाको मुआब्जा वितरणको काम पनि सुरू गर्ने जानकारी दिए। उनले भने, ‘रोक्का भएको जग्गाको मुआब्जा निर्धारण भएपछि कति बजेट आवश्यक पर्ने निश्चित हुने भएकाले आगामी वर्षको बजेटमा मुआब्जा वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ।’

मन्त्री आलेले विराटनगर विमानस्थलको पनि अनुगमन गरेका थिए। उनले यात्रु निस्कने स्थान, यात्रु प्रवेश कक्ष र शौचालयको अनुगमन गरेका थिए। मन्त्री आलेले विराटनगर विमानस्थल डुबानको चपेटामा परेको विषयमा पनि जिज्ञासा राखेका थिए। उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको योजना रहेकाले विमानस्थलका पूर्वाधारमा सुधार ल्याउन जरुरी रहेको बताए।

प्रकाशित: २४ मंसिर २०७८ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App