१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्नुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ’ भन्ने भावना नीतिनिर्माणका सबै तहमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यक्रममा उनले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गरिन्। मानिसको अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको उनको भनाइ थियो।

राष्ट्रपति भण्डारीले एकातिर वनजंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार बोकेकोमा र अर्कातिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा महासंघलाई धन्यवाद दिइन्।

उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

महासंघले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिइन्। उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वानसमेत गरिन्।

समाजमा अझै लैंगिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उल्लेख गरिन्। एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न संघर्ष गर्नुपरेको छ भने अर्कातिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूप प्रकट भइरहेका छन्।

यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँछु।’ राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियताको आवश्यकता औंल्याइन्।

कार्यक्रममा महासंका अध्यक्ष भारती पाठकले लैंगिक हिंसा उन्मूलनका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताइन्। नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासंघले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुसी व्यक्त गरे।

प्रकाशित: २० मंसिर २०७८ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App