१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वदेशमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको सल्लाह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गरेका छन्। उनले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

मोबाइल वितरक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मेरो मोबाइल कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने तयारी गरेको भन्ने मैले सुनेको छु, मेरो मोबाइल मात्र हैन,तपाईंहरूले पनि फोन उत्पादनमा जोड दिनुस्,सरकारले गर्न सक्ने सहयोग गर्छ।’ यस्तै,उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए। ‘गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो।

तर पूर्णरूपमा लागू नभएको कुरा मैले हिजो मात्र सुनें, एमडिएमएस लागू गर्न के समस्या भएको हो, तत्काल समाधान गरी लागू गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,’ अर्थमन्त्री शर्मा भने,‘अवैध रूपमा हुने कारोबार र राजस्व चुहावट रोक्न सरकार सधैं तयार छ।’

अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे। ‘तपाईंहरूले अर्थ मन्त्रालय र अर्थमन्त्रीका कारण एमडिएमएस लागू नभएको भन्नुभएको रैछ,सरकारलाई नोक्सान हुनेमा मैले कहिले सहयोग गर्दिन, तपाईं ढुक्क हुनुस् एमडिएमएस पूर्ण रूपमा लागु हुन्छ,’ उनले भने। मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लामो समयको तयारीपछि पनि एमडिएमएस पूर्णरूपमा लागू नहुनु दुःखद भएको बताए। 

‘व्यवसायीले एमडिएमएस छिटो लागू गर्न पटकपटक आग्रह गर्दै आएका छौं। गत साउनदेखि लागू गरियो भनियो तर अहिलेसम्म पूर्णरूपमा अवैध फोन नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘हामी व्यवसाय गरी सरकारलाई कर बुझाउछौं, तर बिनाकर बजारमा झण्डै आधा कारोबार अवैध हुँदा हामी हेर्नबाहेक केही गर्न सक्ने अवस्था भएन।’ उनले तत्काल एमडिएमएस लागू नभए व्यवसायी मिलेर सरकारलाई तालाचाबी बुझाउनुबाहेक अरू विकल्प नभएको बताए।

प्रकाशित: १६ मंसिर २०७८ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App