२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाबा रामदेवलाई पर्यटन सद्भावना दूतको प्रस्ताव

नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनका लागि जोड दिँदै भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ।

विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल आएका रामदेवलाई बोर्डले औपचारिक रूपमा यो प्रस्ताव गरेको हो।

आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।

पर्यटन बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतको प्रस्ताव गरेको बोर्डका कार्यकारी प्रमुख (सिइओ) धनञ्जय रेग्मीले जानकारी दिए। नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचूर सम्भावना रहेको सन्दर्भमा बोर्डले बाबा रामदेवसँग मिलेर नेपालको प्रवद्र्धनका लागि पहल गरिरहेको उनले बताए।

‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहकै छौं। नेपाललाई मूलतः साहसिक पर्यटकीय गन्तव्यका रूपमा हेर्ने गरिएको छ। तर नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति र आध्यात्मिक पर्यटनको पनि संगम हो। यसलाई प्रवद्र्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ उनले भने। 

यसैबीच, योगगुरु रामदेव तथा आचार्य बालकृष्ण र बोर्डका कार्यकारी प्रमुख रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको छ।

योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधैं सकारात्मक दृष्टिकोण रहको बताएका छन्। ‘नेपाल पशुपतिनाथ,मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्नेछु,’ उनले भने।

योगगुरु रामदेवले नेपालमा आएर यहाँले धार्मिक आध्यात्मिक तथा सांस्कृतिक पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह समेत गरे।बिहीबार नेपाल आएका योगगुरु रामदेव आइतबार नेपाल वायुसेवा निगमको विमानमार्फत दिल्ली फर्किएका छन्।

प्रकाशित: ६ मंसिर २०७८ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App