१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालु खाता डेढ खर्ब बढी घाटामा

निर्यातको तुलनामा विदेशबाट निकै बढी आयात हुँदा चालु खातामा दबाब परेको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय विवरण अनुसार चालु खाता एक खर्ब ५१ अर्ब ७० करोड रूपैयाँले घाटामा छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २८ करोडले घाटामा छ। मुलुकमा निश्चित अवधिमा विदेशबाट आएको र विदेश गएको रकमको विवरण चालु खाताले देखाउँछ।

त्यस्तै, शोधनान्तर स्थिति पनि घाटामा छ। चालु आर्थिक वर्षको तीन महिना .(साउन–असोज) सम्म शोधनान्तर स्थिति ७६ अर्ब १४ करोड रूपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब रूपैयाँले बचतमा थियो।

पछिल्लो तीन महिनामा विदेशी मुद्राको सञ्चिति करिब ८० अर्ब रूपैयाँ घटेको राष्ट्र बैंकले जनाएको। असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म ५.७ प्रतिशतले घटेर १३ खर्ब १९ अर्ब रूपैयाँमा झरेको छ। यसले ७.८ महिनाका आयात धान्छ।

साथै राष्ट्र बैंकमा रहेको सञ्चितिमा असार मसान्तको तुलनामा आठ प्रतिशतले कमी आई असोज मसान्तमा ११ खर्ब ४५ अर्ब २९ करोड रूपैयाँ कायम भएको छ। बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग करिब एक खर्ब ७४ अर्ब रूपैयाँ सञ्चिति छ।

रेमिटेन्स पनि घट्यो

चालु आर्थिक वर्षको सुरुदेखि नै घट्न थालेको रेमिटेन्स पछिल्लो समयमा पनि घटेको छ। राष्ट्र बैंकका अनुसार तीन महिनामा दुई खर्ब ३९ अर्ब रेमिटेन्स भित्रिएको छ। यो अघिल्ले वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले कम हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १२.७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति(संस्थागत तथा व्यक्तिगत) नयाँ र वैधानिकीकरण) लिनेको संख्या भने निकै बढेको छ।  

प्रकाशित: १ मंसिर २०७८ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App