३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सौर्य उर्जाबाट बिजुली बाल्दै गुठिचौर

जुम्लाको गुठिचौर गाउँपालिकाले सौर्य उर्जाबाट बिजुली बाल्ने तयारी थालेको छ। गुठिचौर गाउँपालिका २ मुरुली गाउँमा सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको हो।

गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सौर्य उर्जा निर्माणको एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन्। वडाभित्र रहेका झण्डै २ सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनको लागि सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको उनले बताए।

विगतदेखि नै यो वडा अन्धकार थियो। हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए। विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो व्यवस्थापन गरिरहेका थिए। अध्यक्ष भण्डारीले भने,‘सदियाैँदेखि अन्धकारमा रुमल्लिएका स्थानीयले निकट भविष्यमै सौर्य उर्जाको बत्ति पाउने भए। यो संगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ।’

'कुनै पनि घर बिजुलीविहीन हुने छैनन् सबै घरधुरीमा बिजुली पुर्‍याउन स्थानीय सरकार लागिपरेको छ,' उनले भने,‘गाउँगाउँमा सडक, घरघरमा बिजुली, एकघर एक धाराको अवधारणा साकार पार्न लागि रहेका छौँ। यी सबै आधारभूत आवश्यकता हुन्।’

सौर्य उर्जाको लागि ३ करोड ५६ लाख रुपैयाँ विनियोजन भइसकेको छ। ५० वाटको सौर्य उर्जाको बिजुली बाल्ने कामको शुरुवात भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले बताए। उनले सौर्य उर्जाले गरेर गाउँपालिका भित्रका सबै बस्तीमा बिजुली बल्ने भएको बताउँदै अब गुठिचौर गाउँपालिकाका कुनैपनि बस्ती बिजुलीविहीन नहुने बताए।

प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने,‘सबै घरधुरीमा अझै विद्युत् सेवा पुगेको थिएन। अब छिट्टै ती सबै घरधुरीमा विद्युत् सेवा पुग्ने अवस्था देखिएको छ।’ वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे।

वडाध्यक्ष पृथ्वी बुढाले बिजुली नहुँदा विद्यार्थी र जेष्ठ नागरिकलाई सबैभन्दा सास्ती हुने गरेको बताए। उनले भने,‘अब निकट भविष्यमै अन्धकार हटेर वडाभर उज्यालो छाउनेछ। बालबालिकाले सहज रुपमा लेखपढ गर्न सक्नेछन्। बुढाबुढीले उज्यालोमा सहजतापूर्वक बिजुलीको उपभोग गर्न पाउनेछन्।’

तत्कालीन गज्र्याङकोट गाविसका अध्यक्ष गोविन्द अधिकारीले टुकीको भरमा जीन्दगी जीउन निकै थोरै समय भएको बताए। उनले भने,‘केही महिना भित्र झलमल्ल वडा हुनेछ।’ सौर्य उर्जा निर्माणको काम सकिने वित्तिकै मोबाइल चार्जदेखि विद्युतीय माध्यमबाट हुने काम गर्न सकिने उनले बताए।

'घरमा कहिले बिजुली बल्ला भन्ने धेरैको वर्षौंदेखिको सपना रहेको थियो,' उनले भने, ‘वर्षौदेखिको चाहना बल्ल पूरा हुँदैछ।’

प्रकाशित: २५ कार्तिक २०७८ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App