१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वाग्मतीमा प्रदेशस्तरको पहिलो बीउविजन गुणस्तर नियन्त्रण केन्द्र

गुणस्तरहीन बीउविजन बिक्री हुँदा किसानले लगाएको बालीले उत्पादन नदिएर समस्या आइरहेका बेला वाग्मती प्रदेश सरकारले बीउको गुणस्तर नियन्त्रण गर्ने भएको छ।  

बालीको उत्पादकत्व वृद्धि गर्न उच्च गुणस्तरको बीउविजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी नविनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरयुक्त बीउविजन किसानलाई उपलब्ध गराउन प्रदेशमा बीउविजन गुणस्तर नियन्त्रण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका अनुसार प्रदेशस्तरमा यो मुलुककै पहिलो बीउविजन गुणस्तर नियन्त्रण हो।

प्रदेश सरकारले प्रदेश बीउविजन ऐन कार्यान्वयनमा ल्याएर गुणस्तर नियन्त्रण गर्न लागेको हो।बीउविजनको शुद्धता कायम गर्दै गुणस्तरीय बीउको आपूर्ति व्यवस्था तथा नियन्त्रण गर्न बीउविजन प्रयोगशाला,हेटौंडालाई प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र बनाउन लागिएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव शरनकुमार पाण्डेले बताए।‘प्रदेशस्तरमा पहिलोपटक बीउविजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत काम सुरु गरेका छौं,’ सचिव पाण्डेले भने,‘अब गुणस्तरहीन बीउविजन बिक्रीको समस्यालाई नियन्त्रणमा ल्याउँछौं।’  

वाग्मती प्रदेश मातहतका जिल्लामा बीउविजन बिक्री गर्नेले प्रदेश सरकार मातहत रहेका बीउविजन गुणस्तर केन्द्रबाट अनुमति लिएर मात्र उत्पादन तथा बिक्री गर्नुपर्नेछ। अब यस प्रदेशमा बिक्री वितरण हुने बीउको सूचीकरण गर्नुपर्नेछ।

केन्द्रले प्रदेशभित्रको निगरानी हुनेछ। केन्द्रले सिफारिस गरेका जातका बीउ किसानले प्रयोग गर्नेछन्।बीउविजनको ट्र्याकिङ गर्ने सचिव पाण्डेले बताए। ‘प्रदेश स्तरमा अहिलेसम्म गुणस्तर नियन्त्रणका लागि कुनै सिस्टम थिएन,’ पाण्डेले भने,‘अब सिस्टममा नआउनेलाई नियम अनुसार कारबाही गरिन्छ।’ प्रयोशालाले केन्द्रको काम गर्नेछ।

प्रदेशमार्फत बिक्री–वितरण हुने बीउविजनको अनुमति तथा नियमन गर्ने काम पनि हुने मन्त्रालयले जनाएको छ। प्रदेश मन्त्रिपरिषद्ले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय माताहतको बीउविजन प्रयोगशाला हेटौंडालााई प्रदेश बीउ विजन व्यवस्थापन समितिको सचिवालयको रूपमा कार्य गर्ने गरी प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र तोक्ने निर्णय भएसँगै ऐन कार्यान्वयनको बाटो खुलेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए।

प्रदेश बीउविजन ऐन कार्यान्वयन गर्न बीउविजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्न र बीउविजन सम्बन्धी विषयमा प्रदेश सरकारलाई परामर्श दिन ऐनको दफा ३ मा प्रदेश सचिवको अध्यक्षतामा ११ सदस्यीय प्रदेश बीउविजन व्यवस्थापन समिति गठन हुने व्यवस्था छ।

प्रदेशमा बीउविजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरणसम्बन्धी आवश्यक पूर्वाधार निर्माण योजना,गुणस्तर नियन्त्रणका मापदण्ड तयारी तथा अनुमति प्राप्त गरेका व्यक्ति वा संस्थाको अनुगमन गर्ने काम केन्द्रले गर्ने अधिकारीले बताए। ‘बीउको गुणस्तर कायम गर्न र उत्पादन र उत्पादकत्व वृद्धिको लागि यो ऐन महत्वपूर्ण छ,’अधिकारीले भने,‘अब विगतमा बीउविजनमा देखिएका समस्या न्यूनीकरण हुन्छ।’

गुणस्तरहीन बीउले धानमा बाला लागेन गुणस्तरहीन बीउका कारण भक्तपुर र ललितपुरका किसानले लगाएको धानमा बाला नलागेको पाइएको छ। ललितपुरको गोदावरी,चापागाउँ,लेले र भक्तपुरको चाँगुनारायण क्षेत्रका लगाएको चिनियाँ जातको धानमा बाला नलागेको किसानले बताए।चिनियाँ डिवाई २८ जातको धानमा बाला नलागेको हो। बालामा पनि चामल नभएर भुस मात्र रहेको किसानले बताएका छन्।

धानका बालामा दाना नलागेको भक्तपुर चाँगुनारायणका किसान प्रमोद डंगोलले बताए।‘गत वर्ष राम्रो फल दिएकाले चिनियाँ धान लगायौं,’डंगोलले भने,‘यो वर्षको बीउ खराब परेछ। धानमा बाला नै लागेको छैन ।’ त्यहाँका अधिकांश किसानले डिवाई २८धान लगाएका थिए।

कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेका अनुसार उत्पादनमा ७० प्रतिशतसम्म कमी आएको छ।किसानलाई क्षतीपूर्ति दिनुपर्ने लाखेको माग छ।‘गुणस्तरहीन बीउको कारण किसान मर्कामा परेका छन्,’ लाखेले भने,‘सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्छ।’उनका अनुसार धानको बालामा चामल नै नपसेको भुस मात्र छ।

विगतमा राम्रो फलेकोले किसानले चिनियाँ जातको धान लगाएका थिए। यो हाइब्रिड जातको धान हो। एक रोपनी खेतमै करिब १० मुरीसम्म धान फलेकाले यो वर्ष पनि सोही जातको धान लगाएका किसान यो वर्ष निराश बनेका छन्।

भक्तपुरको चाँगुनाराण क्षेत्रमा करिब दुई सय रोपनीमा किसानले यही जातको धान लगाएका थिए। नगरपालिकाले खुमल ४, खुमल १०,११ र टाइचिन २४२ जातको धानको बीउ चार टन वितरण गरेको थियो। भक्तपुरको १५ सय रोपनी खेतमा डिवाई २८ जातको धान रोपिएको थियो।

ललितपुरको गोदावरी,लेले र चापागाउँ क्षेत्रमा पनि यही समस्या छ। गोदावरीको ११ सय रोपनीको धानमा यस्तो समस्या देखिएको हो। ललितपुर लगनखेलस्थित काठमाडौं एग्रोबाट किसानले लगेको धानको बीउ रोपेको खेतमा बाला नलागेको हो।

प्रकाशित: २३ कार्तिक २०७८ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App