१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

मोबाइल एपमा ट्याक्सी

काठमाडौंमा ट्याक्सी खोज्दै हुनुहुन्छ? तपाईंको नजिकै ट्याक्सी छैनन्? वा, सुरक्षाको कारण ट्याक्सी चढ्न डराउनुहुन्छ? यो समस्याको समाधान अब स्मार्टफोन एप्लिकेसनले गर्नेछ। क्यान सफ्टेकको अवसरमा इरासफ्ट सोलुसन प्रालिले सार्वजनिक गर्न लागेको अन्भर स्मार्ट ट्याक्सी एप्लिकेसनले यी सबै काम गर्नेछ।सुरुमा काठमाडौं उपत्यकामा काम गर्ने र मोबाइलमा चलाउन सकिने यो एप्स नेपालमा यसप्रकारको नयाँ हो। ट्याक्सी यात्राका नकारात्मक पक्षलाई सुधार गर्दै सेवालाई मर्यादित, व्यवस्थित, आधुनिक र उपलब्धिमूलक बनाउन एप्स विकास गरेको कम्पनीले जनाएको छ। यसको प्रयोगबाट मोबाइलबाटै यात्रुले ट्याक्सी र चालक यात्रु खोज्न सक्ने भएकाले यात्रु कुर्नुपर्ने वा ट्याक्सी खोज्न भौंतारिने झन्झट नहुने कम्पनीले जनाएको छ। 
अन्भर स्मार्ट ट्याक्सी नामको मोबाइल एप्लिकेसनले मोबाइलमा हुने जिपिएसको सहायताले काम गर्छ। यसबाट यात्रुले आफूनजिक रहेको खाली ट्याक्सी पत्ता लगाएर एप्समा भएको बटन थिचेर चालकसँग सम्पर्क गर्न सक्छन्। यसपछि चालकले यात्रु रहेको र जान चाहेको स्थानको नक्सा, रुट र दुरीसहितको विवरण प्राप्त गर्न सक्छन्। अनुरोध ट्याक्सी चालकले स्वीकार वा अस्वीकार गरेको सूचना तत्काल यात्रुसम्म पुग्ने विकासकर्ताहरुले जनाएका छन्। एक चालकले अस्वीकार गरे त्यसैगरी अर्कोलाई सम्पर्क गर्न सकिने र यसैका आधारमा यात्रुलाई ट्याक्सी र चालकलाई यात्रु पाउन सजिलो हुने कम्पनीको दाबी छ। 
तत्काललाई यो सेवा एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा मात्र उपलब्ध छ। चाँडै नै आइओएस र विन्डोज अपरेटिङ सिस्टमका फोनमा उपलब्ध हुनेछ। यो सेवा जिपिएस, इन्टरनेट कनेक्सन र पुस नोटिफिकेसन भएका ट्याब्लेट, फ्याब्लेट लगायत अन्य उपकरणमा पनि चलाउन सकिने विकासकर्ताले बताएका छन्। 
यो एप्सको व्यापक प्रयोगका लागि ट्याक्सी व्यवसायी संघसँग छलफल गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक ओम खड्काले बताए। 'ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसँग पनि कुरा गरिसकेका छौं। उहाँहरुबाट सहयोग पाएका छौं,' उनले भने। दर्ता भइसकेका ट्याक्सी र सेवाग्राही कुन समयमा कुन ट्याक्सीमा सवार भएर कुन रुटबाट कता जाँदैछन् त्यो पनि एप्सबाट देख्न सकिने उनले बताए।
यो एप्स भदौ २६ मा सार्वजनिक हुने भए पनि यसअघि नै ट्याक्सी ड्राइभरलाई अभिमुखीकरण तालिम दिइसकेको उनले बताए। काठमाडौंमा चल्ने करिब चार हजार पाँच सय ट्याक्सीमध्ये दुई सयजनालाई तालिम दिइसकेको उनले बताए। 'यसबाहेक जो जोसँग स्मार्टफोन छ, त्यसमा पनि गराउने योजनामा छौं,' उनले थपे। तालिम लिएका दुई सयजना ट्याक्सी चालकको स्मार्टफोनमा यो इन्स्टल भइसकेको उनले बताए। 
यो एप्स प्रयोगबाट चालकले मोबाइलमै यात्रु पाउने र यात्रुले पनि ट्याक्सी खोज्दै भौंतारिनु नपर्ने भएकाले उपयोगी हुने उनले बताए। त्यसैगरी, ट्याक्सी प्रयोगकर्ता र ट्याक्सी चालकको पूर्ण विवरण रहने भएाकले ट्याक्सीमा छुटेका सामान खोज्न सजिलो हुने र सुरक्षित पनि हुने कम्पनीको दाबी छ। यसले आपराधिक घटनामा संलग्नको पहिचान गर्न सजिलो हुने र ट्राफिक तथा लेन अनुशासन पालना हुने र सडक दुर्घटनामा कमी हुने फाइदा विकासकर्ताले देखेका छन्। 'यसले सुव्यवस्थित बनाउन पनि सहयोग गर्नेछ। ट्राफिक जामको पूर्वजानकारी हुने भएकाले प्रयोगकर्तालाई पनि सजिलो हुनेछ,' उनले भने। यसले नेपालको ट्याक्सी सेवा अन्तर्राष्ट्रिय स्तरको हुने र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ।

प्रकाशित: २५ भाद्र २०७१ २२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App