८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी पर्यटक आगमनः कोरोना संक्रमणपछि सबैभन्दा बढी अक्टोवरमा

अन्नपूर्ण आधारशिविर पदमार्गमा पुगेका पाहुना। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्रमा असर पार्न थालेको झन्डै दुईवर्ष हुन थाल्यो। यो अवधिमा ओरालो लाग्दै आएको पर्यटन क्षेत्रमा बल्ल केही सुधार देखिएको व्यवसायीले बताएका छन्। कोरोना भाइरस संक्रमण सुरु भएपछिको यो अवधिमा सबैभन्दा बढि विदेशी पाहुनाको आगमन यो अक्टोबरमा भएको पर्यटन बोर्डले बताएको छ।  

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यो अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै भित्रिएका पाहुनाको हो। यसअघि सन् २०२१ को अप्रिलमा नेपालमा २२ हजार ४ सय ५० जना विदेशी भित्रिएका थिए। नेपालमा विदेशी पर्यटक भित्रिने मुख्य सिजनमध्येको पहिलो सिजनमा अप्रिलको आगमन उच्च थियो। तर, दोश्रो सिजनमा पर्ने अक्टोवरको आगमनले अप्रिलको आगमनलाई पनि उछिनेको छ।  

लामिछानेका अनुसार सन् २०१९ मा अक्टोबरको संख्या १ लाख ३४ हजार ९६ थियो। कोरोनाको मारमा परेको बेला सन् २०२० को अक्टोवरमा जम्मा २ हजार २५ जना विदेशी नेपाल भित्रिएका थिए। तर, योपटक भने आगमनमा ब्यापक सुधार भएको लामिछानेले बताए। सन् २०२१ मा अहिले (जनवरी–अक्टोवर) सम्म नेपाल भित्रिएका विदेशीको संख्या एकलाख नाघेको छ।  

बोर्डका निर्देशक लामिछानेका अनुसार जनवरीमा  ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे मा १ हजार ४ सय ६८, जुनमा १ हजार एकसय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगष्टमा ५ हजार ९ सय १७ र सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएका थिए। नेपाल भित्रिएका मध्ये १४ हजार २ सय २२ जना विदेशी अक्टोवरमा नेपालबाट फर्किएको बोर्डको तथ्यांक छ।  

‘कोरोना संक्रमण सुरु भएपछि सबैभन्दा बढी विदेशी पाहुनाको आगमन यो अक्टोबरमा भएको छ,’ बोर्ड निर्देशक लामिछानेले भने, ‘आगामि महिना झनै बढी विदेशी नेपाल भित्रिनेमा हामी ढुक्क छौ ।’ नोभेम्बरमा अझै बढी विदेशी नेपाल भित्रिने सिजन पर्छ। ‘पर्यटन क्षेत्र बल्ल लयमा फर्किने संकेत देखिएको छ,’ उनले भने, ‘कोरोना संक्रमण अब नबढ्ने हो भने आगामि दिनमा पर्यटक आगमनमा पक्कै वृद्धि हुनेछ।’ 

कोरोना विरुद्ध खोप लगाएकोले पनि अहिले विदेशी पाहुना नेपाल घुम्न आउन सुरक्षित ठानेको उनले बताए। ‘पाहुना आफैले पनि कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालका पर्यटकीय गन्तव्यका व्यवसायी र अग्रपंक्तिमा खटिने कामदारले पनि खोप लगाएका छन,’ उनले भने, ‘पाहुनाको घुमघाममा निस्कने गरि मनोवल पनि बढेको छ।’

पर्यटन व्यवसायी पनि विदेशी पाहुनाको आगमन बढ्न थाल्नु र आन्तरिक पाहुनाको चहलपहल बढ्दा आशावादी भएका छन्। पदमार्ग क्षेत्रका व्यवसायीलाई त यो बेला झनै आन्तरिक पाहुनाका कारण भ्याई न भ्याई नै भएको थियो। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा पर्ने छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ भन्छन, ‘आन्तरिक पाहुनाको कारण यो पटक दसै–तिहारको बिदामा व्यवसायीलाई राहत मिल्यो। अलिअलि विदेशी पनि आउन थालेका छन्। अब पक्कै राम्रो हुनेमा आशावादी छौ।’

खासमा यो बेला पर्यटकीय सिजन पर्ने भएकोले विदेशीको आगमन अरु वर्ष झैं यतिबेला राम्रो हुने गरेको थियो। कोरोना संक्रमण कमजोर भएकोले पनि यो बेला आन्तरिक र केही आकारमा विदेशी भित्रिएको उनले बताए। ‘यतिबेला पर्यटन क्षेत्र केही ब्यूतिने मौका पायो। अब कोरोना संक्रमण नबढ्ने हो भने आगमन अझै बढ्नेछ। आन्तरिकको चहलपहल सँगै विदेशी पनि थपिनेमा आशावादी छौ,’ उनले भने।

प्रकाशित: १७ कार्तिक २०७८ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App