१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।

नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि आज (बिहीबार)देखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी विहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको काभ्रेभीरमा मर्मत र सवारी साधन एक साथ आवतजावत गर्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।

उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारी साधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म बाटो खुल्ला रहने छ।

उक्त समयमा ठूला सवारी साधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारीबाट गन्तब्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए। काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो। हरेक बर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम समेत गर्ने गरिन्छ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ। झण्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण सुरु भएको हो।

प्रकाशित: ११ कार्तिक २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App