२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बालबाल जोगिएको धान

स्थानीय जातको खेती हुँदा योपटक पोखरा क्षेत्रको धान जोगियो

प्रदेशको १ लाख १३ हजार हेक्टर क्षेत्रफलको धान सुरक्षितः कृषि निर्देशनालय

पोखराको विरौटा पाक्नै थालेको फाँटमा धानको बाला हेर्दै किसान। तस्बिरः उमेश पुन/नागरिक

केहीदिन अघिको बेमौसमी बाढीले धेरैतिरको धान खेतीमा क्षति गर्‍यो। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा गण्डकीमा यो पटक क्षति कम छ। अझ बागमती प्रदेशमा त झनै कम क्षति छ। पाक्ने बेलाको धान बाढीमा डुब्दा धेरैतिरका किसानले मार खेप्नुपरेको छ।

धानका विज्ञ बेनीबहादुर बस्नेतका अनुसार योपटक गण्डकी प्रदेशमा बेमौसमी बाढीले धान खेतीमा पारेको क्षति कम छ। यो हुनुमा गण्डकी प्रदेशका धेरैजसो ठाउँमा स्थानीय जातको धान खेती हुन्छ, जुन अन्यत्र भन्दा ढिला पाक्ने गर्छ। ‘मुस्किलले यो पटक धान जोगिएको हो। बेमौसमी वर्षाद गण्डकी प्रदेशमा पनि नपरेको होइन,’ बस्नेतले भने, ‘तर, अन्यत्रको तुलनामा गण्डकीमा मंसिरमा मात्र पाक्ने जातको स्थानीय धान रोपिएको छ। ढिला पाक्ने जातको धान रोप्दा क्षति कम भएको हो।’

पोखरा क्षेत्रमा मंसिरमा मात्र पाक्ने धानको खेती अधिक रहेको र त्यो धान काट्ने काम अझै सुरु भईनसकेको उनले बताए। उनका अनुसार तराईतिर हाइब्रिड धान बढी रोपिन्छ। धान काटेपछिको बालीका लागि पनि तराईका किसानले हाइब्रिड धान रोप्छन। तीन बालिका लागि हाइब्रिड खेती राम्रो हो। धान काटेपछि गहुँ, तोरी र तरकारी लगाउन हाइब्रिड खेती राम्रो हो। तर, गण्डकीका धेरै क्षेत्रमा हाइब्रिड धानको खेती कम हुँदा यो पटक धानको क्षति जोगिएको उनले बताए।

‘धान उत्तिसारो ढालेको पनि छैन। धान ढिला पाक्ने भएकोले यहाँ तोरी, गहुँ, र तरकारी कम उत्पादन हुन्छ,’ उनले भने, ‘प्रतिकुल मौसमका बाबजुत पनि यो पटक क्षति कम भएको हो। अब फेरि यस्तै वर्षा भयो भने अन्यत्रको तुलनामा यहाँ बढी क्षति हुन्छ।’ 

उनका अनुसार पोखराको शिशुवा, हेम्जा र पूर्वी नवलपुरका केही क्षेत्रमा हाइब्रिड धान खेती हुन्छ। तराई र पहाडी भेगमा एकैपटक जसो धान रोप्ने भएपनि पाक्ने बेलामा भौगोलिक वनोट अनुसार केहीदिनको अन्तर पर्ने उनले बताए। ‘हाइब्रिड एकैपटक रोप्ने भएपनि गण्डकी प्रदेशका जिल्लामा पाक्ने बेला बल्ल भएको छ। अब बल्ल धान काट्ने सुरु भएको छ,’ बस्नेतले भने, ‘तर तराईमा दुई साता अघि नै काटियो।’

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुभवमा पूर्वतिर सक्रिय भएको वायु पश्चिम सर्दै जाँदा गण्डकीमा आइपुग्दा कमजोर भएको र पश्चिमबाट सक्रिय भएको वायु सर्दै गण्डकीमा आइपुग्दा कमजोर हुँदा गण्डकी प्रदेशले क्षति कम भोगेको हो। ‘पूर्व र पश्चिममा बढी क्षति भयो। तर, गण्डकी र बागमतीमा कम क्षति छ। यो हुनुमा वर्षा नै नभएको भने होईन,’ कडरियाले भने, ‘दुवैतिरबाट भित्रिएको वर्षा गण्डकीमा आइपुग्दा केही कमजोर हुँदा जोगिएको हो।’ वर्षा गराउने वायु पूर्व र पश्चिममा सक्रिय भएपनि सर्दै गण्डकीमा आइपुग्दा कमजोर भएकोले धानमा क्षति कम भएको उनले बताए।

कडरियाले पनि गण्डकी प्रदेशमा हाइब्रिड धान रोप्ने चलन निकै नै कम रहेको बताए। हावापानी चिसो हुने भएकोले यहाँ सबैतिर धान काट्ने बेला नभएकोले जोगिन पुगेको उनले बताए। तराई र यो भेगमा एकै समयमा रोपेको धान पनि फरक समयमा पाक्ने गरेको उनले बताए। ‘एकै समयमा रोपिएको धान पनि तराइमा पाकेको थियो। तर, यहाँ पाकेको थिएन र अझै पाकिसकेको छैन,’ उनले भने, ‘तराईमा पनि बढी क्षति हुनुमा धान काटिसकेको भएर मात्र हो।

बोटमै रहेको भए क्षति कम हुन्थ्यो।’ यहाँको बिरौटा, फेवा, अर्मला, काहुँफाँट, लेखनाथ लगायतका फाँटमा अझै धान नपाकिसकेको उनले बताए। कडरियाका अनुसार गण्डकी प्रदेशमा पनि पोखरा क्षेत्रमा रोपिनेमा अधिकांश स्थानीय जातको धान छ। पोखरा क्षेत्रका धेरैजसो फाँटमा जेठोबुढो, मनसुली, गुर्दी, पहेँले, अनदी, गुडुरा लगायतका जातको धान रोपिन्छ। जुन, हाइब्रिड भन्दा निकै नै ढिलागरि पाक्ने गर्छ। ‘हुन त अन्यत्रको तुलनामा वर्षा पनि कम भयो। अनि एकैपटक रोपिएको हाइब्रिड पनि यहाँ ढिलागरि पाक्छ,’ उनले भने।

उनका अनुसार महानगरभित्र करिब ६५० रोपनी क्षेत्रफलमा धान क्षति भएको छ। महानगरभित्रको ११  हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये ५ सय रोपनी जतिमा काटेको धानमा क्षति पुगेको छ। काटेको खण्डको सतप्रतिशत नै क्षति छ। करिब १५० रोपनीको धान ढलेकोले केही क्षति पुगेको छ। ढलेको धानमा २५ प्रतिशत क्षति हुन्छ। ‘ढिलागरि धान पाक्नुमा चिसो हावापानी भएकोले त्यही अनुसार स्थानीय जात रोप्ने चलन छ,’ उनले भने, ‘महानगरले पनि पछिल्लो समय पोखरेली जेठोबुढोलाई ब्राण्डिङ गर्दा हाइब्रिड खेती कम भएको हो।’

उनको अनुमानमा महानगरभित्र हाइब्रिडले १५ प्रतिशत मात्र हिस्सा ओगट्छ। अरु सबै स्थानीय हुन्। जेठोबुढो ४० प्रतिशत र अन्य उन्नत ४५ प्रतिशत र बाँकी हाइब्रिडको खेती हुने गरेको छ। महानगरभित्र मात्र ३९ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।

गण्डकी प्रदेश कृषि निर्र्देशनालयका निर्देशक बासु रेग्मीका अनुसार प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये ११ सय ९२ हेक्टरको मात्र धान पूर्णरुपमा क्षति भएको उनले बताए। बाँकी ३ हजार हेक्टरको आंशिक क्षति रहेको रेग्मीको भनाई छ। ‘गण्डकी प्रदेशको १ लाख १३ हजार हेक्टर क्षेत्रफलको धान सुरक्षित रहेको छ। ढिलागरि पाक्ने जातको धानखेती भएकोले यो पटक जोगियो,’ रेग्मीले भने, ‘कास्की मात्र नभई तनहुँ, स्याङजा, पर्वत क्षेत्रमा पनि क्षति कम छ।’

ढिलागरि पाक्ने जातको धान रोप्ने भएकोले यो पटक जोगिन पुगेको उनले बताए। उनका अनुसार प्रदेशमा मात्र बेमौसमी धानखेतीले करिब १३ करोड रुपैयाँको क्षति गराएको छ। बढी क्षति नवलपुरको केही खण्डको धान हो।’ रेग्मीका अनुसार गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुन्छ। ‘भौगोलिक विविधता र ढिलागरि पाक्ने जातको धान खेती हुने भएकोले यो पटक बेमौसमी वर्षादबाट जोगिएको हो,’ उनले भने।

प्रकाशित: ८ कार्तिक २०७८ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App