८ वैशाख २०८१ शनिबार
अर्थ

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित हैबार फाटको धान।

बेमौसमी वर्षाका कारण सिन्धुलीमा तीन सय हेक्टर बढी धानबालीमा क्षति भएको छ। अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।

कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार बेमौसमी बर्षाका कारण जिल्लाभर ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएकोमा सबैभन्दा बढी मरिण क्षेत्रमा क्षति भएको हो। जिल्लाको नौ वटै स्थानीय तहबाट आएको विवरणका आधारमा उक्त क्षति विवरण संकलन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। जिल्लाभर १५ हजार ४ सय २० हेक्टर क्षेत्रमा लगाइएको धानबाली मध्य करिब साढे ३ सय हेक्टरको धान बाली नष्ट भएको छ।

कार्यालय प्रमुख अमागाईले नागरिकसँग भने, जिल्लाको सबै भन्दा बढी धान क्षति, मरिण गाउँपालिका  भएको छ, भने दधौली, गोलञ्जोर तीनपाटनमा समेत क्षति भएको छ। काटेको धान डुबेको र काट्न बाकी धान ढलेर क्षति पुगेको उनले बताए। कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले किसानको धान क्षति भएको र क्षतिको विवरणका आधारमा क्षतिपुर्ति दिन नगरपालिकाले पहल गरिरहेको जनाए। नगरपालिकामा करिब ४० लाख बराबरको धान क्षति भएको पाइयो, उनले भने, हामी ति किसानलाई केहि न केहि सम्बोधन गर्नुपर्छ भनेर लागेका छौ।  

वर्षभरि खाने अन्न भित्र्याउने बेला बेमौसमी वर्षा भएर बाली नष्ट भएपछि किसान चिन्तित बनेका छन्। पाकेर पहेलपुर भएको धान बालीमा पानी र हावाहुरीले क्षति गरेपछि किसानलाई वर्षभरि के खाने भन्ने चिन्ताले सताउने गरेको किसान बताउँछन्। धान काटेर भित्र्याउ भनेर अघिल्लो दिन दिउँसो काटेको बाली राती परेको पानीले सबै नष्ट गरेको तिनपाटन गाउँपालिका २ का श्याम विकले बताए। धान सबै पाकेको थियो, घाम पनि लागेको थियो। विहान धान काटियो। रातमा त सबै पानीले भिजाएर नष्ट गर्‍यो, उनले भने, लगभग ६ कठ्ठा जतिको धान सबै नष्ट भयो।

काटेर सुकाएको र हावाले लडाएको धान पानीमा डुबेमा उम्रिन सक्ने भएकोले खेतमा जमेको पानी निकाल्न, भिजेको धानलाई सुख्खा स्थानमा सार्न र बेलाबेलामा चलाईराख्न कृषिविज्ञले सुझाव दिएका छन्। भिजेको धान कम्तीमा दुई दिन घाममा सुकाएर झार्न पाए धेरै नोक्शानी हुनबाट जोगिने उनिहरुको भनाई छ। 

प्रकाशित: ८ कार्तिक २०७८ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App