पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन्। उनी लेकसाइडस्थित होटल साकुराका संचालक हुन्। सुवेदी यसअघि संघका प्रथम उपाध्यक्ष थिए।
पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुईवर्षका लागि सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन्। निर्वाचन संयोजक मेहरमान श्रेष्ठका अनुसार संघको प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे निर्वाचित भइन्। कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सह–कोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका छन। भरतराज शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी सदस्यमा निर्वाचित भए।
संघको १७ सदस्यीय कार्यसमितिमा चारसदस्य मनोनित हुने वैधानिक व्यवस्था छ। स्टार र ननस्टार होटल तर्फबाट निर्वाचित ६/६ जना मध्येबाट नयाँ कार्यसमिती निर्वाचित गर्ने संघको प्रावधान छ। योपटक स्टार तर्फबाट पाँचजनाको मात्र उम्मेद्वारी परेकोमा थप एक जना मनोनित हुने छन्।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले कोभिड–१० पछिको पर्यटनमा सहकार्य जरुरी रहेको बताए। कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघका सल्लाहकार विश्वशंकर पालिखेलाई सम्मान गरिएको थियो। उनी २०४७ देखि २०५२ सम्म संघको अध्यक्ष थिए।
प्रकाशित: २३ आश्विन २०७८ १०:१४ शनिबार