१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमनमा सुधार भएकै हो त?

पर्यटन बोर्ड भन्छः आगामि महिना अझै धेरै विदेशी आउनेछन्, व्यवसायी भन्छन्ः माहोल बन्दै गएको देखिन्छ

अन्नपूर्ण आधारशिविर पदमार्गमा रहेका विदेशी पर्यटक । तस्बिर सौजन्यः दिलीप गुरुङ

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी पाहुना आगमनको सकारात्मक संकेत देखिएको भन्दै पर्यटन व्यवसायी हौसिएका छन्। पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा बढ्न थालेको देखिएको छ। पर्यटकीय सिजन सुरु भए अनुसार नै आगमन पनि बढ्न थालेको पर्यटन बोर्डको भनाई छ।  

पर्यटन बोर्डका अनुसार सेप्टेम्बर मध्यदेखि नोभेम्बर मध्यसम्मको समयलाई विदेशी पर्यटक आउने सिजन मानिन्छ। त्यसबाहेक अर्काे सिजन फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो तथ्यांकले पर्यटक आगमनमा सुधार देखिएको छ। 

‘विदेशी पर्यटकको आगमन सिजन अनुसार वृद्धि हुन थालेको छ। यो पर्यटनमा देखिएको सुधारको संकेत हो,’ लामिछानेले भने, ‘नेपालमा पर्यटक आउने सिजन अनुसार नै यो पटक पनि आगमनमा वृद्धि हुन थालेको छ।’

उनको अनुमानमा सेप्टेम्बरको तुलनामा अक्टोबरमा नेपालमा विदेशी पर्यटकको आगमन अझै बढ्नेछ। किनकी विदेशी पर्यटकले त्यही अनुसार आगमनमा चाँसो देखाएका छन् भने बुकिङ पनि आउन थालेको छ। बोर्डका अनुसार सन् २०२० सेप्टेम्बरमा नेपालमा जम्मा ५८४ जना विदेशी पर्यटक आएका थिए। तर,यो सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएका छन्। यो संख्या सन् २०१९ मा ९२ हजार ६०४ थियो।

बोर्डका अनुसार यो वर्ष नेपालमा जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे मा १ हजार ४सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९सय ९१ र अगष्टमा ५ हजार ९ सय १७ जना विदेशी भित्रिएका थिए। अहिले नेपाल आउनका लागि अनुकुल वातावरण मिलेकोले आगमन बढ्न थालेको उनले बताए। विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनअराईभल भिसा पाउने र क्वारन्टिन पनि बस्न नपर्ने भएकोले आगमनमा सुधार हुने संकेत देखिएको उनले बताए। त्यसबाहेक नेपालको पर्यटन क्षेत्रमा कोरोना विरुद्ध खोप लगाएको र पाहुनाले पनि खोप लगाईसकेकोले घुमघामको माहोल बन्दै गएको उनको अनुमान छ।  

‘विदेशी पर्यटकका लागि खुकुलो पारिएको प्रावधान अगष्टमा मात्र लागु गर्न सकेको भए सेप्टेम्बरको आगमनको संख्या अझै बढी हुन्थ्यो। तर, अलि ढिलागिर प्रावधान खुकुलो बनाईयो,’ लामिछानेले भने, ‘यो बेला नेपाल आउन चाहेका विदेशीले अन्यत्रैको योजना बनाईसकेकोले केही प्रभावित हुने देखिएको छ।’  

क्वारन्टिन र अनअराईभल भिसाको खुकुलो अघिल्ले महिना नै लागु भएको भए नेपाल आउन चाहेका विदेशी अन्यत्र जाँदैनथे र त्यसको लाभ नेपालमा हुन्थ्यो। तर नेपालको क्वारन्टिन र भिसा प्रावधानले विदेशी आउन नचाहेको उनले बताए। ‘ढिलागरि खुकुलो पारिएको प्रावधानले नेपाल आउने केही विदेशीको संख्या गुमाउनुपर्नेछ। अहिलेको खुकुलो अगष्टमै गर्न पाएको भए पाहुना थपिन्थे,’ उनले भने, ‘नेपाल आउनै चाहेका विदेशी पनि अहिले त अन्यत्रतिर गए। केही ‘ब्याक प्याकर’ पर्यटक आउने सम्भावना भने रहेको उनले बताए।  

‘नेपाल आउने योजना बनाएका विदेशी पनि आउन सकेनन। उनीहरुले अहिले अन्यत्रकै लागि योजना बनाईसकेका छन्। पर्यटनमा छोटो समयको योजना हुँदैन,’ लामिछानेले भने, ‘केही समय अगाडि नै हामीले उनीहरुका लागि सहज बनाइदिएको भए त्यसले आगमनको आकार अझै बढाउँथ्यो।’ लामिछानेका अनुसार सेप्टेम्बरमा भित्रिएका पर्यटकमध्ये दक्षिण एशियाली मुलुकका ३७ सय ३४ जना रहेका छन्। त्यस्तै अन्य एशियाली मुलुकका ५८५ जना छन । यूरोपका १७ सय ३३ र अमेरिकीको संख्या २१ सय २५ रहेको छ।  

कोरोना संक्रमणको केही कमजोर भएको मौका पारेर गत फेब्रुअरी, मार्च र अप्रिलमा नेपालमा विदेशी पाहुनाको आगमनमा सुधार भएको थियो। त्यो आगमनमा संक्रमण बढेर लकडाउन भएसँगै मे महिनादेखि ओरालो लाग्न थालेकोमा अगष्टदेखि पुन सुधार भएको लामिछानेले बताए। ‘अब कोरोनाको थप संक्रमण नबढ्ने हो भने आगामि सिजनमा नेपालको पर्यटन क्षेत्रले पुन गति लिनेछ,’ उनले भने, ‘पर्यटन लयमा फर्किने संकेत त देखिएको छ। यो आकार अझै बढ्नेछ।’

पर्यटन व्यवसायी पनि पर्यटनमा केही सुधारको संकेत देखिएको बताउँछन्। उनीहरुका अनुसार ठुला आकारका होटलमा अहिले विदेशी पाहुनाको सामान्य आकारको बुकिङ पनि आउन थालेको छ। सोधपुछ पनि हुन थालेको छ। होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार आन्तरिक पाहुनाले चलायमान बनाएको पर्यटन क्षेत्रमा आगामि महिनातिर केही विदेशी आउने संकेत देखिएको छ। ‘आन्तरिकको भीडभाड बढेको छ। विदेशीको आगमन पनि अझै बढेको छैन। तर आगमनमा सुधार हुने देखिएको छ। विदेशी पाहुनाको सोधपुछ आउन थालेको छ,’ केसीले भने,‘विदेशी पाहुनाको आगमनमा सरकार केही लचक बन्ने हो भने पर्यटनमा सुधार हुनेछ।’  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि आन्तरिक पाहुना आउन थालेको भएपनि विदेशीको आगमनमा राष्ट्रिय तथ्यांकले केही सुधार देखिएको बताउँछन्। खोप लगाइसकेको र मापदण्ड केही खुकुलो बनाएकोले पनि विदेशी आउने सम्भावना रहेको उनले बताए। ‘आन्तरिकको चहलपहल राम्रो छ। विदेशीको पनि आगमनको संकेत हो,’ उनले भने। पदयात्रामा केही विदेशी आउन थालेको देखिएकोले पनि पर्यटनमा सुधार आउने सम्भावना रहेको उनले बताए।  

प्रकाशित: १८ आश्विन २०७८ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App