४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सराङकोट डाँडामा कूटनीतिक भ्रमण (तस्बिरसहित)

पोखरा नजिकैको सराङकोट क्षेत्रमार रमाउँदै कूटनीतिक पाहुना। तस्बिरः उमेश/नागरिक

संयोग नै मान्नुपर्छ, सोमबार बिहान पोखराको मौसम सफा थियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला टलक्कै टल्केका थिए। बिहानै घाम लाग्दा पोखरा झनै मनोरम देखिएको थियो। खुलेको पोखरासँग यहीबेला घुम्न आएका विभिन्न मूलूकका राजदूत र विकास साझेदारका उच्च पदस्थ पदाधिकारी प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा दंग थिए।  

विश्व पर्यटन दिवसको अवसर पारेर यतिबेला दर्जन मूलूकका नेपालस्थित राजदूत र विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा क्षेत्र घुमिरहेका छन्। आइतबार पोखरा आएका कूटनीतिक पाहुना मंगलबार राजधानी फर्किनेछन्। सोमबार बिहानैदेखि पाहुनाहरु घुमघाममा निस्केका थिए। खुलेको मौसमसँगै मनोरम प्रकृतिमा रमाएर घुम्न पाउँदा पाहुना निकै नै खुसी थिए।  

पर्यटन व्यवसायीका अनुसार कूटनीतिक नियोगका पाहुनाहरु सोमबार बिहानै कास्कीकोट क्षेत्र घुम्न पुगेका थिए। गाडीमा कास्कीकोटसम्म पुगेका उनीहरु केही दूरी हिडेर देउराली हुँदै सराङकोट आएका थिए। कास्कीकोटमा निर्माण गरिएको करिब ३ किलोमिटर दूरीको अपांगमैत्री पदमार्ग सहित थप उकालो ओरालो हिड्दा पाहुना निकै खुसी भएका थिए। पर्यटन बोर्डका पोखरास्थित प्रमुख काशीराज भण्डारीले भने, ‘कूटनीतिक निकायका पाहुनाले पोखरा क्षेत्र घुम्न पाउँदा निकै नै रमाइलो महसुस गरे।’  

कास्कीकोट क्षेत्रको पदमार्गमा पदयात्रा गर्न पाउँदा पाहुना निकै नै खुसी भएको उनले बताए। पदयात्राका क्रममा ठाउँठाउँमा स्थानीयले पाहुनालााई स्वागत गर्दा पाहुना झनै हौसिएका थिए। ‘सराङकोटबासी सहित ठाउँठाउँमा आमा समुहको स्वागतले पाहुना निकै नै खुसी भए,’ भण्डारीले भने, ‘छोटो दूरीको पदमार्गको भएपनि अनूभूति गर्न पाउँदा पाहुना हौसिएका थिए।’ लामो दूरीको पदमार्गको अनूभूति गर्न नपाएपनि छोटो दूरीको पदयात्राले उनीहरुलाई हौस्याएको उनले बताए।

यो बेला पोखरा आएका पर्यटकले लिन पाउने अनुभव आफुहरुले बटुल्न पाएको भन्दै पाहुना दंग परेको भण्डारीले बताए। ‘हामीले बटुलेजस्तो अनुभव घुम्न आउने अरु जो कोही मूलूकका पाहुनाले पनि गर्न पाउनेछन भनेर यी पाहुनाबाट सन्देश पुग्नेछ,’ उनले भने, ‘उच्च कूटनीतिक पाहुनाले बटुलेको अनुभव अरुका लागि पनि प्रेरणादायी बन्न सक्छ।’ उच्च पाहुनाले बटुलेको अनूभवले अरुलाई पनि पोखरा क्षेत्र घुमघाममा  बल पुग्ने उनले बताए। अहिले घुमेका पाहुनाले भविश्यमा अरु पाहुना र आफन्त पनि लिएर आउन सक्ने भएकोले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले सुनाए।

‘अहिले कूटनीतिक निकायका उच्च पदाधिकारीको रुपमा उनीहरु घुम्न आएका छन्। केही समयपछि उनीहरु नितान्त पाहुनाको रुपमा पनि आउन सक्छन्,’ उनले भने, ‘अहिले आएका पाहुना देशका प्रतिनिधि भएकोले उनीहरुमार्फत जाने सन्देशले सकारात्मक र आधिकारीक प्रभाव पार्छ।’ पाहुनाले ठाउँठाउँमा खिचेको फोटो र भिडियो, स्थानीयसँग गरेको साक्षात्कार आफन्त र साथीभाइबीच बाड्ने भएकोले पनि पर्यटनमा लाभ पुग्ने उनले बताए।  

‘पर्यटन कूटनीति सफल भएको हो,’ उनले भने, ‘यसले पार्ने प्रभाव तत्कालै देख्न सकिन्छ। कोरोना त्रासका कारण विदेशी पाहुना आउन डराएको बेला यो भ्रमणले सकारात्मक अर्थ राख्छ।’ पाहुना पदमार्गमा हिड्न पाउँदा पोखरा खुलेको भन्ने सन्देश दिलाउने उनले बताए । ‘खोजेजस्तो प्रकृतिमा रम्न पाएकोले पाहुना खुसी भए,’ उनले भने। 

कूटनीतिक पाहुनाले सामाजिक सञ्जालमा राख्ने फोटो र भिडियोबाट पनि पर्यटनमा लाभ पुग्ने उनको भनाई छ। ‘कोरोना महामारीपछि पोखरा खुलेको छ र घुमघामका लागि सुरक्षित रहेको भन्ने सन्देश पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिने गरि सन्देश पुगेको छ। सामाजिक सञ्जालमार्फत र आफ्ना परिवारसम्म उनीहरुले सन्देश पठाएका छन्। राजदूतले दिएको सन्देश आधिकारीक पनि हुन्छ,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि नेपालमा पर्यटन क्षेत्र खुलेको भन्ने सन्देश दिने माध्यमको रुपमा उच्च पदस्थ पाहुनाको भ्रमण बनेको बताउँछन्। कोरोना संंक्रमण पछि पर्यटक सेवा प्रदायकले सेवा दिएका छन् । गन्तव्य पनि खुलेका छन भन्ने सन्देश ती पाहुनामार्फत पुग्ने उनले बताए। ‘कोरोनाले शिथिल भएको पर्यटन क्षेत्र केही ब्यूतिने संकेत देखिएको छ। पर्यटन प्रवद्र्धन गर्ने गतिलो अवसर अहिले पाहुनाको भ्रमणले दिलाएको छ,’ सापकोटाले भने, ‘पोखरा क्षेत्रको भ्रमणले गन्तव्य सुरक्षित र सेवा दिनका लागि तयार रहेको भन्ने सन्देश पुगेको छ।’  

पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि विदेशी पाहुनाको भ्रमण शिथिल भएको पर्यटन क्षेत्र उकास्नका लागि माध्यम बन्न सक्ने बताए। ‘हामीले पनि अब यिनै पाहुनाको भ्रमणलाई देखाएर पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएका छौं। यो हाम्रा लागि गतिलो मौका हो,’ भट्टराइले भने, ‘यो तहका पाहुनालाई हामीले घुमायौं भनेर अब प्रवद्र्धन गर्न सकिन्छ।’

विदेशी कुटनीतिक निकायका पाहुनामार्फत बाहिरिने सन्देश आधिकारिक हुने उनले बताए। ‘पाहुनाले ठाउँठाउँमा फोटो भिडियो खिचेका छन्। सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गरेका छन्। त्यही फोटो र भिडियो नै हाम्रा लागि पर्यटन प्रवद्र्धनको माध्यम बन्नेछ,’ उनले भने, ‘पाहुनालाई मौसमले पनि साथ दियो। उनीहरु घुम्न पनि पाए। पोखरा क्षेत्रको मनोरम प्रकृतिमा रमाउँदै घुम्न पाउँदा पाहुनामा खुसीको सिमा थिएन।’ छोटो दूरीको हाइकिङले पनि पदयात्राको अनूभूति पाहुनाले बटुल्न पाएको उनले बताए।  

प्रकाशित: ११ आश्विन २०७८ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App