७ वैशाख २०८१ शुक्रबार
अर्थ

अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय अपांग महासंघ, फाउन्ड परियोजना र आइएलएम नेपालसँगको सहकार्यमा अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया गरेको छ। महासंघले राष्ट्र निर्माणमा सबै नागरिकको समान सहभागितासहित अपांगता भएका नागरिकलाई समेत सिप र रोजगारको विकासका लागि सो कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले विकसित समाज निर्माणका लागि सबै नागरिकले समान काम र समान जिम्मेवारीसहित अगाडि बढ्नुपर्नेमा जोड दिए।

हरेक वर्ष ५ लाख नागरिकले रोजगारी खोज्ने, त्यसमा आघा जनसंख्या बिदेसिने गरेको र बाँकी आधा संख्याको दुई प्रतिशत कुनै न कुनै रूपमा अपांगता भएकाले तिनलाई रोजगारीको वातावरण सिर्जना अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

कोरोना महामारीका कारण ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुमाउन पुगेको जनाउँदै उनले रोजगार कार्यस्थलमा अपांगमैत्री कार्यस्थल पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। रेमिट्यान्सबाटै देशको अर्थतन्त्र चलिरहेको अवस्थामा स्वदेशमा अपांगता भएका व्यक्तिलाई सिप र क्षमताको आधारमा स्वरोगजार बनाउनु साझा दायित्व भएको उनको भनाइ छ।

त्यस्तै महासंघ अपाध्यक्ष अन्जन श्रेष्ठले अपांगता भएका व्यक्तिलाई सिप र तालिमको आवश्यकता रहेको औँल्याउँदै औद्योगिक प्रतिष्ठानमा अपांगमैत्री वातावरण आजको आवश्यकता भएको बताए।

त्यस्तै राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले निजी क्षेत्रले अपांगता भएका व्यक्तिलाई पनि रोगजारीको अवसर दिएकाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए। अपांगता भएका व्यक्तिले उत्पादन गरेका वस्तुको ब्रान्डसँगै गुणस्थरमा समेत ध्यान दिनु आवश्यक रहेको जनाउँदै उद्योग वाणिज्य महासंघको भिजन २०२०/३० को भिजनबाट धेरै अपांगता भएका व्यक्तिलाई लाभान्वित गर्न सकिनेमा जोड दिए।

फाउन्ड परियोजनाको सहकार्यबाट पछिल्लो समय ३ सय अपांगता भएका व्यक्तिले रोजगारी पाएका छन् भने १ सय ६० भन्दा बढीले भोकेसनल ट्रेनिङ लिइसकेका छन्। त्यस्तै ४ सय ३० जनाले परामर्श लिएका छन्। ५१ जना अपांगता भएका व्यक्तिले स्वास्थ्य परीक्षण सुविधा पाएका र ३४ जनाले रोजगारीसमेत सृजना गरेको कार्यक्रममा जनाइएको छ।  

प्रकाशित: ५ आश्विन २०७८ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App