coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकीय गन्तव्य खोल्न माग

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य शान्ति स्तुप। तस्बिरः उमेश पुन / नागरिक

पछिल्लो समय कोरोना संक्रमण घटेसँगै मानिसको चहलपहल बढ्न थालेको छ। पर्यटकीय क्षेत्रमा आन्तरिक पाहुनाको चहलपहल बढे पनि उनीहरू गन्तव्यमा घुम्न जान पाएका छैनन्। आसपासका सबै गन्तव्यमा लागेको ताला खुलेको छैन। पर्यटकीय गन्तव्यहरू नखुल्दा पाहुना आउन नसकेको व्यवसायीको गुनासो छ।  

पोखराका धार्मिक गन्तव्य विन्ध्यवासिनी, तालबाराही लगायतका मठ–मन्दिर खुलेका छैनन्। मुस्ताङको मुक्तिनाथ मन्दिर र पोखराभित्रैको शान्ति स्तुप पनि बन्द छ। महेन्द्र गुफा भने केही दिनअघि खुलेको छ। पर्यटकीय गन्तव्य नखुल्दा पाहुना आउन नपाएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका उपाध्यक्ष हरिराम अधिकारीले बताए। अधिकारीले भने, ‘अहिले संक्रमण केही घटेको छ। 

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए। ‘धार्मिक गन्तव्य खुलाए केही भारतीय पर्यटक आउँथे र व्यवसायीलाई थोरै भए पनि राहत मिल्छ,’ उनले भने। चाडपर्व सुरु भएको बेला आन्तरिक पाहुना घुमघाममा निस्कने हुँदा पर्यटकीय क्षेत्र खुलाउन जरुरी रहेको उनले बताए।  

धार्मिक क्षेत्र खुलाउन पहल भइरहेको धार्मिक गन्तव्यका पदाधिकारी बताउँछन्। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ भन्छन्, ‘हामीले विन्ध्यवासिनी मन्दिर खुलाउन स्थानीय प्रशासनमा अनुरोध गरेका छौं। प्रशासनले केही दिन पर्खिन भनेको छ। अब छिट्टै खुल्छ, दिन मात्र यकिन नभएको हो।’ तोकिएका स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेर मन्दिर खुलाउने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई अब चलायमान बनाउनुपर्ने बताए। उनले पर्यटन क्षेत्रका सबैखाले गतिविधि सञ्चालन गर्नुपर्ने र पोखरा आसपासका पर्यटकीय गन्तव्य खुला गर्नुपर्ने बताए।  

उनका अनुसार पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल अहिले खुलिसकेका छन्। ठूला होटल अघिल्लो महिना नै खुलेका थिए। मध्यमस्तरका होटलले पनि सेवा दिन थालेका छन्। केही साना होटल खुल्न सकेका छैनन्। असोज पहिलो सातादेखि पर्यटनसम्बन्धी सबैखाले गतिविधि सञ्चालन गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ। यसका लागि पर्यटनमा आवद्ध सबै व्यवसायीले सहकार्य गर्नुपर्ने उनले बताए।  

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘अब कोभिडसँग जुधेरै अघि बढ्नुपर्छ,’ उनले भने। व्यवसाय मात्र खोलेर नभई गन्तव्य पनि खुलाउनुपर्ने उनले बताए।

नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब केही सुधार हुनेमा आशावादी रहेको बताए। ‘कोरोना संक्रमण केही कम भएकोले अब पाहुना आउनेमा आशावादी हुन सकिन्छ,’ उनले भने।  

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असोज १ देखि पर्यटकीय गन्तव्य खुल्न सक्ने बताए। उनका अनुसार स्थानीय प्रशासनले यसअघि जारी गरेको आदेश भदौ ३१ गतेसम्म रहेकोले त्यसपछि गन्तव्य खुल्न सक्छ। ‘अहिले नै कुन दिनबाट खुल्छ भनेर त भन्न सकिन्न। तर अब सबैतिरका गन्तव्य खुलेकोले पोखरा आसपासका पनि छिट्टै खुल्नेछन्,’ उनले भने।  

प्रकाशित: २९ भाद्र २०७८ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App