१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

'आफूले बुझेको व्यवसाय गर्नुपर्छ'

विकास राणा हाउजिङ र एयरलायन्स व्यवसायमा आवद्ध व्यवसायी हुन्। फिस्टेल एयरलायन्स, इम्पेरियल डेभलपर्स प्राली, शिखर इन्स्योरेन्स लगायतमा अध्यक्ष रहेका राणा पछिल्लो पटक गोमा एयरलायन्समा पनि छिरेका छन्। वायुसेवा सञ्चालक संघका पूर्व अध्यक्ष समेत रहेका राणासँग नागरिकका प्रकटकुमार शिशिरले नेपालमा हवाइ उड्डयन र हाउजिङ व्यवसाय बारे गरेको कुराकानी :  

हाउजिङ व्यवसायमा उतारचढाव देखिदै आएको छ। यो व्यवसायलाई दिगो रुपमा सुधारका लागि के गर्नुपर्छ जस्तो लाग्छ?
हाउजिङ भन्ने बित्तिकै व्यवसायीको मात्र हो भन्ने सरकारको सोच छ। यहि सोच नै सबैभन्दा पहिला परिवर्तन गर्नुपर्छ जस्तो मलाई लाग्छ। हाउजिङ मात्र होइन कुनै पनि व्यवसायको राज्यले स्वामित्व लिनुपर्छ। तब मात्र ती सबै व्यवसायको भविष्य रहन्छ। कुनै पनि निजी क्षेत्रबाट लगानी भएर व्यवसाय सुरु हुन्छ भने सरकारले वातावरण बनाउनु र सहयोग गर्नु पहिलो कर्तव्य हो। यसमा व्यवसायीको योगदान छ। अब हाम्रो भूमिका हुनुपर्छ भन्ने सरकारले सोच राख्नुपर्छ। यहाँ त राज्यले व्यवसायीलाई व्यवसायी मात्र भनेर हेर्‍यो। सरकारले सकारात्मक रुपमा हेर्न थाल्यो भने त नीति पनि सकारात्मक नै आउँछ। त्यही नीतिले दिगो बनाउँछ जुनसुकै व्यवसायलाई।

त्यसो भने अहिले  हाउजिङ व्यवसायको अवस्था कस्तो पाउनुभएको छ त?
हाउजिङ व्यवसाय त अहिले राम्रो र सुधारिदै गएको छ। विगतभन्दा अहिले यसको फड्को बढिरहेको छ। अहिले राम्रा डेभलपरहरु हाउजिङमा हात हालेर उपभोक्तालाई प्रदान गरिरहेका छन्। कम्पनीहरु पनि विश्वासीला छन। त्यसैले अहिले कारोबार पनि बढिरहेको छ। केहि कम्पनी नराम्रा पनि होलान् । त्यस्ता कम्पनीलाई  उपभोक्ताले बुझेर डिल गर्नुपर्छ। जुनसुकै क्षेत्रमा पनि राम्रो र नराम्रो हुन्छ। उपभोक्ताले राम्रो र नरामोलाई पहिचान गर्नुपर्‍यो। सस्तोदेखि महँगा अपार्टमेन्टहरु बिक्री भैरहेका छन्। हाम्रै कुरा गर्दा पनि हाम्रो अपार्टमेन्ट महँगो पर्छ। महँगो भए पनि हामीले बेच्न सकिरहेका छौं।
समग्रामा  भन्नुपर्दा,  जती यसबाट व्यवसायिक रुपमा फाइदा लिन सक्नुपर्थ्याे त्यो हुन सकेको छैन। पहिलाको समयले हामीलाई पनि निश्चित रुपमा असर त पर्‍यो। डेभलपरप्रति आत्मविश्वास भयो भने बिक्री हुन्छ भन्ने उदाहरण पछिल्लो पटकको हो। हामीलाई बेच्न गाह्रो भयो भन्ने समस्या त अहिले छैन।

नेपालमा हाउजिङ सुरु हुँदा सुरुमा नै लक्जरियस तरिकाले आयो। त्यो बेला नयाँ अवधारणा भएपनि महँगो हुँदा सेवाग्राही जति आकर्षित हुनुपर्थ्याे त्यो भएन,  त्यसको असर अहिलेसम्म छ कि छैन?
यस्तो अवधारणाले असर त निश्चित रुपमा गर्‍यो। सँगसँगै त्यसपछि आएको नकारात्मक सन्देशले पनि यसलाई ठूलै असर गरेको देखिन्छ। यस क्षेत्रमा प्रडक्ट दिनुभन्दा पहिला पैसा दिनुपर्छ। यसमा आत्मविश्वासको अभाव हुने बित्तिकै असर पुग्छ। त्यसमाथि लक्जरियस र महँगो चिज त बेच्न गाह्रो नै हुन्छ। तर मलाई के लाग्यो भने खराब समयमा पनि हामीले काम गरिरह्यौं र महँगो अपार्टमेन्ट पनि बेच्न सक्यौं। यो एउटा ठूलो उपलब्धि जस्तो लाग्छ मलाई। हामीले एउटा विश्वसनियता कमाएको रहेछौं जस्तो लाग्छ।

जग्गा व्यवसायी र हाउजिङ व्यवसायी फरक भएपनि सरकारले एउटै बास्केटमा हाल्यो। हेर्ने दृष्टिकोण त फरक पार्नुपर्ने हो नी। यसले केहि असर गरेको छ?
निश्चित रुपमा यसले पनि समस्या भएको छ। हाउजिङमा एउटा प्रोजेक्ट सुरु भएपछि सम्पन्न नभएसम्मका चरण र प्रक्रिया हुन्छन्। जग्गा भनेको त लिएर किनबेच गर्ने वा थुपार्ने मात्र हो नी। हाउजिङ भनेको त एउटा इन्डट्री नै हो। त्यसैले जग्गा र हाउजिङलाई एउटै दृष्टिकोणले हेर्दा डेभलपरहरुलाई असर त परेको छ । यी दुई  एउटैमा राख्ने कुरा होइनन्। यसलाई फरकफरक राखेर फरकफरक अवधारणाले हेरिनुपर्दछ।

केहि समयअघि एडिबीले २०१५ भित्रमा हाउजिङ व्यवसाय धेरै राम्रो हुने र ब्याजदर पनि साढे सात प्रतिशत हुने उल्लेख गरेको थियो। यसले के अब हाउजिङ व्यवसाय पछाडी फर्केर हेर्ने नपर्ने भन्ने हो?
यो त अवश्य पनि हो। पहिला त लिक्विडिटी हुने बित्तिकै बैंकले पनि आफुले लगानी गर्नुपर्ने बाध्यता हुन्छ। बैंकको बाध्यताले पनि यसको भविष्य राम्रो देखिन्छ। इएमआई गर्ने क्षमता हुने बित्तिकै यसले थप फड्को मार्छ। यसले बजार बढ्ने पनि स्वाभाविक कुरा नै हो। त्यसैमाथि ब्याजदरले पनि प्रभाव त पार्छ नै। तरलता बैंकमा हुने, लगानी गर्नुपर्ने र ब्याज सस्तो हुने भएपछि बजार त बुम हुन्छ नै। तर यस्तो प्रक्रिया स्थिर हुन्छ भन्ने त छैन। यस्तो 'हाइप' सधैलाई हुँदैन तर पनि अहिले हामीले केहि सुधार देखिरहेका छौं। अहिले यसमा चलायमान देखिन्छ।
पहिला पनि यो व्यवसाय पिकमा पुगेको थियो तर त्यतिखेर काल्पनिक रुपमा कारोबार भयो।  आज एक करोडमा लिएको जग्गा वा घर भोली नै डेढ करोडमा पुग्छ भन्ने सोच भयो। रियल भ्यालूमा कारोबार भएन। यसले पनि असर गर्‍यो। अहिले जुन चहलपहल देख्छौं हामी यसमा प्रयोगकर्ता नै बढी हुन्। अहिले हामी 'रियल ग्रोथ'मा गएका छौं। बल्ल 'जेन्युन' हो जस्तो मलाई लाग्छ।
विकास राणाले हाउजिङ बनाउँदा महँगो मात्र बनाउँछ। मध्यमवर्गका उपभोक्ताको पहुँचमा पुग्दैन भन्ने छ नी।
यसमा डेभलपरको हिसाबले सबै वर्गलाई समेट्न जरुरी हुन्छ। जस्तो मैले मेरो 'प्रोजेक्ट' लाई अहिले हाइ नै बनाए। यसमा अरुले अफोर्ड गर्ने सक्दैन। तर मध्यम वर्गको पहँुच पनि हुनुपर्छ। मैले उच्च वर्गलाई लक्षित गरे। मध्यम वर्गलाई लक्षित गर्ने कम्पनीहरु पनि छन्। सबै वर्गका लागि हुनुपर्छ। विभिन्न कम्पनी छन्। विभिन्न कम्पनीले विभिन्न वर्गलाई लक्षित गरेका छन्। सबैले मध्यम वर्गीयलाई मात्र लक्षित गर्ने खोज्यो भने सुविधासम्पन्न राम्रो खोज्नेका लागि पनि केहि हुुनुपर्‍यो । पैसा खर्च गर्छु भन्नेका लागि पनि  'जस्टिफिकेसन' हुनुपर्‍यो नी। उच्च वर्गलाई मात्र लक्षित गरेर बनाउँदा पनि आपूर्ति पुगेको छैन। यस्तो समयमा पनि। मैले ८० प्रतिशत बेचे। उच्च वर्गको मान्छे पनि धेरै नै रहेछन भन्ने पुष्टी त भयो नी। यदि भोलि उपयुक्त समय रहेछ भने त मैले लाइन लगाएर बेच्नको लागि बनाएको हो नी। भन्दा बजारमा जे कुराको माग छ त्यसको आपूर्ति हुनैपर्छ। त्यो विश्वसनीय पनि हुनुपर्छ। मैले मात्र होइन कम्फर्ट, सिइ, सिभिललगायत लाई पनि मैले त्यसरी नै हेर्छु।

अब हाउजिङको लागि कस्तो योजना छ, तपाईसँग?
अबको मेरो सोचाइन सस्तो बनाउने पनि छ। व्यक्तिगत युनिट बनाउने पनि छ। सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मेरो मान्यता हो। सहरभन्दा अलि टाढा बनाएर बेच्न सुरु गरौं कि भन्ने नयाँ योजना पनि बनाएको छु। अलि टाढा भन्ने बित्तिकै सस्तो भन्ने आउँछ तर एकान्त, जंगलको बीचमा, राम्रो वातावरणको रेसिडेन्सी क्षेत्रमा त महँगो हुनुपर्ने हो नी। त्यसैले सहरभन्दा अलि टाढा मेरो जग्गा भएको ठाउँमा यस्तै अवधारणाको घरहरु बनाउँछु भन्ने योजनामा छु। सस्तो र महँगो दुवै प्रोजेक्टमा आगामी दिनमा हात हाल्नेछु।

अपार्टमेन्टमा विदेशीले, एनआरएनले पनि किन्न पाउने व्यवस्था गरिएको थियो तर यो अघि बढेन नी?
यसमा पनि सरकारले केहि पहलकदमी कुरा अगाडि बढाएन। सरकारले सकारात्मक रुपमा सोच्ने हो भने यसलाई तत्काल खोलेर कार्यान्वयन गर्नुपर्छ। यसका लागि आवश्यक नीति नियम तत्काल बनाउनुपर्छ। जहिले भाषणमा हुन्छ र गर्छौं भन्ने तर व्यवहारमा देखाउने काम भएको छैन। अरु देशमा यस विषयमा काम गरिरहेका छन् तर हामीले गर्ने सकिरहेका छैनौं। मलेसियाले २५ लाख बराबरको किन्यो भने किन्नेलाई पिआर दिने भन्ने घोषणा गर्‍यो। कति सकारात्मक छ। हाम्रोमा त आउनेबित्तिकै झ्यापझुप कब्जा गरेर लैजाला जस्तो सोच राखिन्छ। अपार्टमेन्टमा जमिन नै हुँदैन। फ्रि होल्ड किन्न दिएर के बिग्रन्छ? यसमा धेरै नै राष्ट्रियता भएर सोचेर पनि बिग्रियो।

हेलिकप्टर सञ्चालन र फिस्टेलको अवस्था कस्तो छ?
हेलिकप्टरमा हामी पायोनियर नै हौं। फिस्टेल जुन रुपमा सञ्चालन भएको छ। त्यो बाट हामी सन्तुष्ट छौं। हामीले फिस्टेलबाट दुई कुरामा वर्ल्ड रेकर्ड पाएका पनि छौं। यसमा हामी गर्व पनि गर्छाै। साना हेलिकप्टरमा हामीले लिड नै गरेका छौं। यो कायम नै राख्ने हो। अब परिस्थिति हेरेर व्यवसाय गर्नुपर्छ। व्यवसाय भावनामा बगेर गर्नुहुँदैन। फिस्टेल पनि केहि समय बन्द गरेर फेरि सहि समयमा खोल्यौं। नेपालमा नै पहिलो चोटी 'ब्रान्ड न्यु' हेलिकप्टर किनेर सञ्चालन गरेको हामीले नै हो। अहिले धेरै कम्पनी आए। धेरै कम्पनी भएपछि अस्वस्थ प्रतिस्पर्धा भयो। यस्तोमा 'सर्टकट' हान्नेले जित्छ। व्यावसायिकलाई असर गर्छ। अहिले हामीसँग हेलिकप्टर तीनवटा छ। चाँडै एउटा थप्दैछौं। हाम्रो बजार जुन छ त्यसलाई कायम गर्ने पनि थप्नुपर्ने हुन्छ।

एयरलायन्समा पनि नयाँ कम्पनी लिनुभएको छ। अब कसरी जाँदै हुनुहुन्छ?
अहिले हामी गोमा एयरमा गएका छौं। गोमा एयरले तीन वटा क्याराभान मोडलको जहाज चलाएको रहेछ पहिला। त्यसमा एउटा दुर्घटना भएर २ वटा सञ्चालनमा छ। सञ्चालन भैरहेको कम्पनीमा म किन छिरे भने त्यो कम्पनी र व्यवस्थापनप्रति मलाई विश्वास लागेर नै हो। अनि बजारप्रति पनि विश्वास भएर हो। गोमामा छिरेपछि २ वटा क्याराभान मात्र चलाउने लक्ष्य होइन, भविष्यमा नयाँ पनि थप्दै जानेछौं। एक हप्तापछि एलइटी ४१० मोडेल ल्याउँदैछौं। यो 'ब्राण्ड न्यु' जहाज हो। ४ महिनापछि फेरि अर्काे आउँछ। अझै पनि धेरै हवाइ सेवाबाट बञ्चित छन्। हामी सकेसम्म सेवा दिन्छौं। एक वर्षभित्र ४ वटा जहाजले हामी सेवा दिन्छौं।
विकास राणा एउटा व्यवसायमा हात हाल्छ पछि छोड्छ भन्ने पनि छ नी जस्तो मनि ट्रान्सफरमा यहाँले छोड्नुभयो।
मनी ट्रान्फरमा मैले समय नै दिन सकिन। म अफिसमा नै गइन भन्दा पनि हुन्छ। यसको प्रक्रिया पनि थाहा छैन। बिजनेस गर्दा कसैलाई विश्वास गरेर गरिन्छ। खासमा यो व्यवसायन नोक्सान भएर छोडेको पनि होइन, फाइदा हुने दिन आउँदै थियो। खासमा मेरो नेचरसँग नमिलेर छोडेको हो। दिनदिनै करोड झिक्नुपर्ने तर कहाँ जान्छ आफैलाई थाहा नहुने। दिनदिनै झिक्ने लानुपर्ने। मेरो लागि 'बिग जोक' नै भयो। मैले बुझिन अनि यो मेरो बिजनेस होइन भने अनि छोरासँग सल्लाह गरेर उसले पनि रुचि दिएन अनि बन्द भयो। बिजनेस बुझेर, आफ्नो नेचरसँग मिल्ने गर्नुपर्दछ भन्ने सन्देश पनि मिल्यो।
अहिले इम्पेरियल फर्निचरमा हात हालेको छु। यसमा पुरानो आर्किटेक्चर क्लासिकल फर्निचर बेच्ने योजनाका साथ आएको छु। यसमा मलाई विश्वास छ। मैले यसमा गर्न सक्छु पनि। पुरानो र क्लासिकल फर्निचर कहिल्यै पुरानो हुँदैन यसमा मैले स्कोप देखेको छु।

प्रकाशित: ७ असार २०७१ २३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App