१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारी नियमन गर्दै भक्तपुर

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले पुँजीलाई सेवाको रुपमा रुपान्तरण गर्ने ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्। भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको अध्यक्षतामा नगरभित्र सञ्चालित सहकारी संस्थाहरूको बिहीबारको प्रतिनिधिमूलक बैठकमा उनले सो बताउँदै नगरपालिकाले सहकारी संस्थाहरूको नियमन र अनुगमनमा कडाइ गर्ने समेत उल्लेख गरे।  

नगरपालिकाको स्वीकृतिविना सञ्चालित सहकारी संस्थाहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनको जोड थियो। बैठकमा सहभागीहरुले सहकारी संस्थाहरूको ब्याजदर अन्तरको विषयमा निरीक्षण गर्नुपर्ने, सहकारी अनुगमनलाई तीव्रता दिनुपर्ने, सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने पनि बताएका छन्।

साथै, जनमुखी र नाफामुखी सहकारी संस्थाहरूको उद्देश्यबारे सर्वसाधारण जनतालाई सचेत बनाउनुपर्ने, प्रदेशस्तरीय सहकारीसंस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने, प्लास्टिकजन्य उत्पादनलाई निरुत्साहित गर्दै सहकारी संस्थाले कपडाको झोला बनाउने तालिमहरू सञ्चालन गर्नुपर्नेलगायतका आफ्ना विचारहरू राखे।

बैठकमा भक्तपुर सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपा सहकारी विभागले सहकारी संस्थाहरूको मासिक प्रतिवेदन संकलन, सहकारी अनुगमन र विना स्वीकृति सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरूको अनुगमनलाई जोड दिँदै आइरहेको बताए।

कोभिड महामारी दिनानुदिन बढिरहेको अवस्थामा सहकारी संस्थाहरूको साधारणसभा सञ्चालन गर्नेबारे राय सुझाव संकलनको लागि उक्त बैठक बोलाइएको उनले प्रष्ट पारे।

प्रकाशित: १७ भाद्र २०७८ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App