१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धादिङमा मध्य पहाडीको काम सुरु नै भएन

गोरखा, लमजुङ र नुवाकोटको गति पनि सुस्त

मध्यपहाडी लोकमार्ग ।

धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन। लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ। नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर नै भएको छैन।  ‘बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबान क्षेत्रमा पर्ने भएकाले अहिलेसम्म धादिङमा अन्यौल भएको हो,’ चारवटा जिल्ला हेर्ने गरी गोरखामा रहेको आयोजना कार्यालयका सुचना अधिकारी गोविन्द श्रेष्ठले भने, ‘अहिले भने काम अगाडी बढाउने तयारी छ।’

धादिङको भर्‍याङभुरुङदेखि गुम्बाडाँडासम्मको १३ किलोमिटरका लागि छिट्टै टेण्डर आह्वान हुने उनले बताए। नुवाकोटमा ६७ दशमलब १७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का भएर काम भईरहेको छ। पातिभञ्ज्याङदेखि भर्‍याङभुरुङ सम्म मध्यपहाडी पर्छ। भर्‍याङभुरुङ देखि आरुघाट सम्म धादिङ र आरुघाटबाट चेपे नदीसम्म गोरखा खण्ड पर्छ। चेपे देखि मादी रोडसम्म लमजुङमा पर्छ।

उक्त सडक खण्डका लागि तीनअर्ब ३४ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। गोरखामा ६३ दशमलव ३७ किलोमिटर सडकका लागि दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको छ। लमजुङमा ५१ दशमलव ३४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गको खण्डमा पर्छ। त्यसका लागि ७४ करोड ६८ लाख रुपैयाँमा टेण्डर भएर काम चलिरहेको छ। धादिङको भने टेण्डर नै आह्वान नभएकाले कति बिनियोजन भएको छ भन्ने यकिन भएको छैन।

यी चारवटा जिल्लाको दुईसय ३३ दशमलव ८८ किलोमिटर सडकको काम मध्यपहाडी लोकमार्गको काम पालुङटारस्थित कार्यालयले निगरानी गर्छ। २०७१ देखि काम सुरु गरिएको भएपनि अहिलेसम्म गोरखामा १० किलोमिटर, लमजुङमा १० र नुवाकोटमा ८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। अहिलेसम्म गोरखाको ४५, लमजुङको ३० र नुवाकोटको ३६ प्रतिशत कामको प्रगती भएको छ । नुवाकोटमा ८, गोरखामा ६ र लमजुङमा चारवटा प्याकेजमा काम भईरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।  सडक चौडा गर्ने, नाला निर्माण र कालोपत्रे गर्ने गरी सडक निर्माण हुन लागेको हो। २०७१–७२ देखि गोरखामा सुरु भएको आरुघाट–ओख्ले सडक खण्डको काम अझै सकिएको छैन। २०७२ मा सुरु भएको ओख्लेदेखि निबेल खण्डको काम पनि बाँकी छ।

 ‘भूकम्प, कोभिड जस्ता कारण देखाएर म्याद थपिएको छ, काम समयमै हुन सकेन’ आयोजना कार्यालयका सुचना अधिकारी श्रेष्ठले भने। पहिल्यै ठेक्का लागेर पनि काम हुन नसकेको यी बाहेकका अन्य ठेक्का छैनन्।  निबेलदेखि पालुङटारसम्मको दुईवटा प्याकेजका लागि आउँदो असार मसान्तसम्म समय बाँकी छ । नुवाकोट र लमजुङको प्याकेजको पनि समय अन्तिम चरणमा छ । कामको गती ती दुवै जिल्लामा पनि सुस्त रहेको सुचना अधिकारी श्रेष्ठले बताए।  

१२ वटा पक्कि पुल बने, चारवटा बन्दै  

नुवाकोट–धादिङ–गोरखा हुँदै लमजुङ सम्मको मध्यपहाडी लोकमार्ग खण्डमा १६ वटा साना ठुला पक्की पुल पर्छ। ती मध्ये १२ वटा नुवाकोट, तीनवटा गोरखा र एउटा लमजुङमा पर्छ। नुवाकोटमा १० वटा, गोरखाको एक र लमजुङको एउटा निर्माण पुरा भएको मध्यपहाडी लोकमार्ग कार्यालय पालुङटारका सुचना अधिकारी श्रेष्ठले बताए । नुवाकोट र गोरखामा दुई/दुईवटा पुल भने निर्माण पुरा हुन बाँकी रहेको छ। १५ देखि २५ मिटर लम्बाईका पुल निर्माण भएका छन्। 

प्रकाशित: १७ भाद्र २०७८ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App