मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।
बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा ४ मा सीमित पाटेबाघ अहिले २१ पुगेको छ। अहिले त्यो संख्या पनि बढेको अनुमान गरिन्छ। निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार रहेको प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए।
‘पूर्वाधार तयार भएका छन्, अब निकुञ्जको ब्रान्डिङ र प्रचारप्रसार आवश्यक छ,’ पर्यटन क्षेत्रका सरोकारवालासँग उनले भने, ‘कसरी पर्यटक ल्याउने भन्नेमा सरोकारवालाबाट हामीलाई मार्गनिर्देश होस् ।’ निकुञ्ज अब पर्यटकको पर्खाइमा रहेको उनी बताउँछन्।
निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्ष्य गरी नेपालगन्ज र कोहलपुरमा आधा दर्जनभन्दा बढी तारे होटल र निकुञ्ज छेउछाउ होमस्टे सञ्चालनमा आइसकेका छन्। निकुञ्ज घुम्नलायक अवस्थाको भए पनि कोभिड–१९ महामारीका कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका रविन कडरियाले बाँके राष्ट्रिय निकुञ्जको विशेषता नै पाटेबाघ रहेको भन्दै प्रायः पर्यटकले बाघ हेर्न रुचाउने बताए। ‘बाघबाट पर्यटन क्षेत्रले प्रत्यक्ष फाइदा लिन्छ, जहाँ बाघलाई लगानी गरिएको छ, त्यहाँ छोटो समयमै प्रतिफल पाइन्छ,’ उनले भने, ‘बर्दिया निकुञ्जमा बाघको संख्या बढेसँगै पर्यटक बढेका हुन् ।’
नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले नेपाल आउने अधिकांश पर्यटक चीन र भारतका भएकाले उनीहरूलाई लक्ष्य गरी बाँके निकुञ्जमा प्रवद्र्धनका कार्यक्रम गर्न सुझाए। पर्यटकलाई दुःख र झन्झटभन्दा आनन्दको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ। पर्यटकका लागि आवश्यक सेवा, सुविधा बढाउनुपर्ने, उनीहरूको आवश्यकता, सुरक्षा लगायतमा ध्यान दिनुपर्ने सिइओ रेग्मी बताउँछन्। ‘हामीले पर्यटकीय गन्तव्य बनाइराखेका छौं, तर पर्यटक भित्र्याउँदा सोचाइ अलि फराकिलो बनाउनुपर्ने हुन्छ,’ उनले भने।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईंले बाँके निकुञ्जमा पर्यटक भित्र्याउन छेउछाउका पर्यटकीय गन्तव्यलाई पनि अगाडि ल्याउनुपर्ने बताए। ‘वरपरका प्रशिद्ध धार्मिक स्थल, र्याफ्टिङ जस्ता कुरालाई पनि जोड्न आवश्यक छ,’ उनले भने ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्सेर राणाले नेपालगन्जलाई पर्यटन गन्तव्य बनाउन आफूहरू पहिलेदेखि नै लागेको र केही सफल पनि भएको बताए। तर पर्यटन प्रवर्द्धनको सबालमा सरकारी व्यवहार र नीति खराब रहेको उनको भनाइ छ। ‘नेपालगन्जमा भारतीय पर्यटक बढी आउने सम्भावना छ, तर आउने वातावरण नै छैन,’ पर्यटन व्यवसायी समेत रहेका राणाले भने, ‘पर्यटकले सीमाबाटै सास्ती खेप्नुपर्ने स्थिति छ, सीमा पार गर्न तीन घन्टा लाग्छ, अनि कसरी आउँछन् यहाँ घुम्न ?’
अरू पर्यटन व्यवसायीले पनि सरकारप्रति गुनासो गरे। उनीहरूले पर्यटकलाई प्रहरीले दुःख दिने, राति १० बज्नेबित्तिकै होटल बन्द गर्न लगाउने, सरकारले पर्यटन व्यवसायीलाई सुविधा केही नदिने जस्ता गुनासो गरे।
पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बाँके राष्ट्रिय निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लाग्ने बताउँछन्। ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघ लगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गर्दछौं,’ श्रेष्ठले भने।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपाने पर्यापर्यटनलाई लक्ष्य गरेर निकुञ्ज प्रशासन अघि बढेको बताउँछन्। उनले भने, ‘हामीसँग पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन्, हात्ती सफारी, जिप सफारी जस्ता सेवा हामी दिइरहेका छौं, बाँके निकुञ्जलाई अब ब्रान्डको रूपमा अघि बढाउनुपर्छ ।’
राप्तीमा र्याफ्टिङ गर्न अध्ययन बाँकेस्थित राप्ती नदीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन पनि गरिएको छ। नेपाल पर्यटन बोर्ड सहितको एक टोलीले आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा पुगेर सम्भाव्यता अध्ययन गरेको हो।
अध्ययनपछि बोर्डका सिइओ रेग्मीले भारतीय पर्यटकलाई लक्ष्य गरेर बाँकेमा पर्यटनसम्बन्धी गतिविधि अघि बढाउन प्रशस्त सम्भावना रहेको बताए।
प्रारम्भिक अध्ययनबाट राप्तीमा र्याफ्टिङसहित पर्यटनसम्बन्धी अन्य गतिविधि गर्ने सम्भावना देखिएको बताए। राप्तीमा गोहीको पनि बासस्थान रहेकाले सुरक्षा संवेदनशीलतालाई हेरेर पर्यटनसम्बन्धी पूर्वाधार सञ्चालन गर्न बोर्डले सहयोग गर्ने उनको भनाइ छ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले र्याफ्टिङ सञ्चालनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट दिए पनि कार्यान्वयन गर्न नसकिएको बताए। गाउँपालिकासँग अहिले ३ वटा रबरबोट रहेको जानकारी दिँदै उनले कहाँबाट र कसरी सुरु गर्ने भन्ने टुंगो लाग्न नसकेको सुनाए।
अध्यक्ष थारुका अनुसार गाउँपालिकाले वडा नम्बर १ कुसुमबाट अगैयासम्म करिब १७/१८ किलोमिटरमा यसअघि र्याफ्टिङ परीक्षण गरिसकेको छ। ‘पर्यटन क्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा राप्तीमा र्याफ्टिङ सुरु गर्न गाउँपालिका तयार छ,’ उनले भने।
टोलीमा रहेका नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईं, नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्री, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल र होटल व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष भाष्कर काफ्लेले बाँके घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका लागि राप्तीमा र्याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गर्न पर्यटन बोर्डलाई आग्रह गरे ।
प्रकाशित: १४ भाद्र २०७८ ०१:२६ सोमबार